रन्जितालाई प्रश्न- अध्यक्ष दोहोरिन नपाएपछि महाधिवेशन बहिस्कार गरेर काठमाडौं फर्किनुभएको हो ? – Nepal Press

रन्जितालाई प्रश्न- अध्यक्ष दोहोरिन नपाएपछि महाधिवेशन बहिस्कार गरेर काठमाडौं फर्किनुभएको हो ?

नाउपा संस्थापक अध्यक्ष रन्जिता भन्छिन्- मेरो लागि पद सिर्जना गर्न विधान संशोधन हुनसक्छ, निर्वाचन आयोगले रेशम चौधरी अध्यक्ष बन्न मिल्दैन भन्यो भने स्वीकार गर्छौँ

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशनले रेशम लाल चौधरीको अध्यक्षतामा २४५ जना कार्यसमिति चयन गरेको छ । बिहीबार सुरु भएको महाधिवेशन शनिवार सकिएको छ ।

नयाँ नेतृत्व चयनप्रति निवर्तमान अध्यक्ष समेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ असन्तुष्ट बनेको भन्दै सार्वजनिक चर्चा चलिरहेको छ । उनी फेरि अध्यक्ष बन्न खोजेको तर, पति रेशम चौधरीले आफू अध्यक्ष बन्ने बताएपछि उनीहरुबीच तिक्तता पैदा भएका खबरहरू पनि आइरहेका छन् ।

उद्घाटन सत्रको प्रमुख अतिथि रहेकी रन्जिता श्रेष्ठ निर्वाचन प्रक्रिया सुरु भएपछि महाधिवेशन स्थलमा गइनन् । आफ्नै श्रीमान् तथा पार्टीका संरक्षक अध्यक्ष निर्वाचित हुँदा पनि निर्वाचन प्रक्रियामै सहभागी नभएर काठमाडौँ गएपछि उनी रुष्ट भएका खबरहरू बाहिरिए । तर, रन्जिता भने आफू रुष्ट नभएको र सहमतिमै रेशम चौधरीलाई अध्यक्ष बनाइएको दाबी गर्छिन् ।

प्रस्तुत छ नाउपाकी संस्थापक अध्यक्ष तथा संघीय मन्त्री रन्जिता श्रेष्ठसँग महाधिवेशन,अध्यक्षको वैधानिकता र उनको पदीय जिम्मेवारीका विषयमा गरिएको कुराकानी नेपाल टकमा

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन कस्तो रह्यो ?

एकदमै सफल रह्यो हाम्रो महाधिवेशन । हामीले महाधिवेशन गर्ने घोषणा गरे देखि नै त्यसैको तयारीमा रहेका थियौँ । अहिले सफलता पूर्वक नै महाधिवेशन सम्पन्न भएको छ ।

कस्ता छन् चुनौती नयाँ समितिलाई?

एकदम धेरै चुनौती छन् । मैले नेतृत्व लिएर पार्टी यहाँ सम्म पुराउँदा पनि धेरै कुराको सामना गर्नु परेको थियो ।

अब जुन नयाँ नेतृत्वमा आउनु भएको छ पार्टीको जन्मदाता अब अध्यक्ष हुनुभएको छ । अब पनि धेरै चुनौती आउने छन् पार्टीमा । नयाँ कार्यसमितिमा नयाँ चुनौती आउँदा पनि सफलता पूर्वक लैजानुहुने छ भन्ने लागेको छ ।

तपाईँ पनि अध्यक्षको आकांक्षी रहेको तर, श्रीमान् आफै अध्यक्ष भएपछि तपाई रुष्ट भएर महाधिवेशनै बहिस्कार गरेर गएको हल्ला छ नि ?

त्यस्तो त हुँदै होइन । नयाँ अध्यक्षसँग रुष्ट भएको भए म पनि अध्यक्ष हुनुपर्छ भनेर सोचेको भए महाधिवेशन स्थलमै बसेर म आफ्नो पनि मनोनयन दर्ता गर्थेँ होला नि ।

हामीले पार्टीको संरक्षक, पार्टीको जन्मदाता रेशमजीलाई अबको पार्टी अध्यक्ष उहाँ नै हो भनेर सोची पनि सकेका थियौँ । कारागारभित्र हुँदा पनि उहाँको हरेक कुरालाई, निर्देशनलाई हामीले मानेर यहाँ सम्म पुगेका हौँ ।

महाधिवेशन गर्ने घोषणा गरिसकेपछि अबको पार्टी अध्यक्ष हामीले रेशम चौधरी , जो यस पार्टीको संरक्षक हुनुहुन्छ पूर्व माननीय उहाँलाई बनाउनु पर्छ भनेर सबैले सल्लाह गरिसकेका थियौँ । हिजो उहाँलाई हामीले निर्विरोध अध्यक्ष बनाएका हौँ ।

मेरो विमति भए, म रुष्ट भएर निस्किने भए वा आफू अध्यक्ष बन्न चाहेको भए मैले पनि मनोनयन दर्ता गर्थेँ होला । त्यसैले म बन्छु भनेर मात्रै बन्ने होइन नि यसमा त सबैको समान हक हो ।

रेशम जीको ठाउँमा मेरो ठाउँमा अरू कसैले म पनि अध्यक्ष भनेर आएको भए त्यस कुरालाई पनि हामीले सहर्ष स्वीकार गर्नु पर्थ्यो ।

एउटा राजनैतिक संस्कार पनि छ महाधिवेशनबाट चुनिएको अध्यक्षलाई पुरानो अध्यक्षले बँधाइ दिने शुभकामना दिने । तर तपाइकै श्रीमान् अध्यक्ष बन्दा पनि तपाई उपस्थित हुनुभएन । बन्द सत्रको रातिसम्म बसेर निर्वाचन प्रक्रिया सुरु भएपछि कार्यक्रम स्थलमै प्रवेश नगरेर काठमाडौँ जानु भएको आरोप छ नि ?

होइन होइन त्यस्तो होइन । आरोप लगाउनेहरूले लगाइरहन्छन् । हामी जनता र पार्टीको लागि काम गरिरहन्छौँ । हिजो म अध्यक्ष हुँदा पनि धेरै गरे । पार्टी कसरी बलियो बनाउने कसरी मजबुत बनाउने भन्नेमा लागेको थिए । आज पनि म यो पार्टीमा छु ।

यही पार्टी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष भएर पार्टीकै मन्त्री छु भनेपछि यो पार्टीबाट रुष्ट भएर त्यसरी निस्किने भन्ने त कुरा हुँदै हुँदैन ।

अब तपाइको जिम्मेवारी र भूमिका के रहन्छ पार्टीमा ?

मेरो जिम्मेवारी पनि रहन्छ, भूमिका पनि रहन्छ । यो पार्टीले मलाई यहाँ सम्म ल्याइपुर्‍याएको छ । यो मेरो पार्टी हो । यो हाम्रो पार्टी हो । यो पार्टीलाई अझै बलियो बनाउनको लागि विशाल बनाउनको लागि अझै महत्त्वपूर्ण भूमिका रहन्छ ।

पार्टीको पदीय जिम्मेवारी र बरीयतामा तपाइ कहाँ र के हुनुहुन्छ भनेको ?

त्यो अहिले हामीले सल्लाह गरेका छैनौँ । तर पदीय जिम्मेवारी पनि रहन्छ नै ।

विधान संशोधन गरेर गरेर तपाइलाई सह अध्यक्ष बनाउने विषय पनि चर्चामा छ नि,यो विषयमा केही छलफल भएको हो ?

त्यस्तो त केही छलफल भएको छैन । विधान संशोधन गरेर कुनै पद उहाँहरूले सिर्जना गर्नुहुन्छ भने त्यो पनि ठिकै हो ।

तपाइहरूको विधानमा एउटा महासचिव रहने व्यवस्था छ, सहमति नभएपछि महाधिवेशनबाटै २ जना महासचिव घोषणा गरियो । यसले गर्दा विधान संशोधन त अनिवार्य नै भयो । यो विधान संशोधन गर्दा तपाईँलाई व्यवस्थापन गर्ने गरी के के कुरा थप हुने भयो त ?

विधान संशोधन गर्ने कुरा पनि सुरुमा छलफल हुन्छ । अब त नयाँ केन्द्रीय समिति तयार भइसकेको छ । उहाँहरूले छलफल गरेर विधान संशोधन कसरी गर्ने विषयमा टुङ्गो लाग्ला ।

जुन सह अध्यक्ष पदको कुरा पनि निस्किरहेको छ र मलाई के लाग्छ भने म पार्टी अध्यक्ष भएर यहाँ सम्म पुगेको हुँदा पद मात्रै पाउनु कुनै ठुलो कुरा होइन । मैले अघि पनि भनिसकेको छु पार्टीलाई कसरी बलियो बनाउने र ठुलो बनाउने भन्ने विषयमा सबै भन्दा महत्त्वपूर्ण कुरा हो । पार्टीमा पदै चाहिन्छ पदको लोभ गरेर बस्नु पर्छ भन्ने मेरो मान्यता छैन । त्यही भएर म पदको लोभ गर्दिन ।

सम्भावना के छ, तपाइ सह अध्यक्ष बन्ने कि संरक्षक बन्ने ?

म संस्थापक अध्यक्ष भएको नाताले पनि पार्टी मेरो जिम्मेवारी हो । पार्टीको संरक्षक भएर पनि म बस्न सक्छु ।

विधानमा अहिले संरक्षक पद छैन । विधानमै नभएको संरक्षक पदमा बस्नुहुन्छ कि, विधानमा त्यो व्यवस्था लागू हुन्छ ?

विधानमै हुन्छ नि । विधान संशोधन गर्ने कुरा त भइनै सकेको छ । मैले भनीपनि हालेँ, विधान संशोधन गर्न पहिले कार्यसमितिको बैठक बस्नु पर्छ । विधान संशोधन भएपछि विभिन्न पदहरू तयार हुन्छन् त्यो तयार भए पनि कुन पदमा कसलाई ल्याउने भन्ने हुन्छ तर, मेरो विचार चाहिँ पद नै लिएर बस्नु पर्छ भन्ने मान्दिन ।

अर्को महत्त्वपूर्ण कुरा, राजनीतिक दल सम्बन्धी ऐनमा नैतिक पतन देखिने र फौजदारी अभियोगमा कसुर नभएकोले मात्रै दलको सदस्यता लिन पाउने व्यवस्था छ । तर, रेशम चौधरीलाई कानुनले नै टीकापुर घटनाको दोषी ठहर गरेको छ । उहाँ विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । कतै निर्वाचन आयोगले अध्यक्षमा रेशम चौधरीलाई वैधानिकता नदिने हो कि भन्ने लाग्दैन ?

त्यो भोलिको कुरा हो । आज हामीले महाधिवेशनबाट उहाँलाई अध्यक्ष बनाएका छौँ । भोलि निर्वाचन आयोगले वैधानिकता दिने नदिने त्यो जे निर्णय गर्नुहुन्छ त्यो हामीलाई स्वीकार्य नै हुन्छ ।

२१ जना संस्थापक केन्द्रीय सदस्यहरू मध्ये दुई दर्जन बढीलाई त अहिले पाखा लगाइयो नि ? सङ्कटमा साथ दिएका कार्यकर्ताहरूलाई अहिले भूलेको हो ?

त्यस्तो होइन,पार्टी स्थापनामा हामीले २१ जना संस्थापक केन्द्रीय सदस्य भनेर राखेका थियौँ । अहिले पनि उहाँहरू पार्टीसँगै आबद्ध हुनुहुन्छ । पार्टी भित्रै हुनुहुन्छ । अहिलेको यो महाधिवेशनमा उहाँहरू नआउनु भनेको महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा नै छुटिनु भएको हुन सक्छ ।

उहाँहरू त्यो बेला जति सक्रिय हुनुहुन्थ्यो अहिले पनि त्यति नै हुनुहुन्छ। पार्टी अगाडी बढाउने कुरामा उहाँहरूको सल्लाह सुझाव मसँग भइनै रहन्छ र सबै जना सकारात्मक नै हुनुहुन्छ ।

अन्तिममा, तपाइको मन्त्रालयको कार्यसम्पादन प्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ ?

चुनाव जितेर सरकारमा आएपछि मेरो मन्त्रालय जनतासँग जोडिने मन्त्रालय भयो । कोही पनि नेपाली नागरिक भूमिहीन रहेर बस्न नपर्ने भन्ने हाम्रो संविधानकै आधार छ मैले त्यही अनुसार काम गरे जस्तो लाग्छ ।

देश भरिका मालपोत नापीका हाकिमहरूसँग म जति बेला पनि यही कुरामा छलफल गरिरहेको हुन्थेँ । उहाँहरूलाई लालपुर्जा वितरणमा चासो दिन लगाएँ । त्यही भएर मेरो मन्त्रालय राम्रो भएको छ ।

तपाईँले लाजपूर्जा वितरण भइरहेको दाबी गर्दा धेरैले पाएका छैनन् । सहकारीको समस्या बढ्दो त, तपाइको मन्त्रालयबाटै पनि धेरै कात त अझै हुन सकेका छैनन् नि ?

मैले देशै भरी गएर धेरै ठाउँमा लालपुर्जा वितरण गरिरहेको छु । वितरण गर्न वाकी रहेको ठाउँहरूमा तीव्र गतिमा वितरणको काम भइरहेको छ ।

कैलालीको विभिन्न ठाउँमा अहिले धमाधम निस्सा वितरण भइरहेको छ र निस्सा वितरण पछि लालपुर्जा वितरण गर्ने गरी काममा लागिरहनु भएको छ । छिट्टै नै जति पनि ठाउँमा वाकी छ त्यहाँ वितरण गर्ने छु ,भर्खरै पनि भैरहवामा ५७१ वटा लालपुर्जा वितरण गरे । यो भन्दा अगाडी १६ वर्ष सम्म त्यहाँ केही कामै नभएको रहेछ ।

सहकारीको समस्या कोरोना पछि बढिरहेको छ । सहकारीले बदमासी गरेको भन्दै सहकारी पीडितहरू आइरहनु भएको छ । बदमासी गरेका सहकारीहरूलाई कानुनको दायरामा ल्याइरहेका छन् । भर्खरै सहकारी पीडित आन्दोलन गर्नु भएको थियो माइतीघर मण्डलामा म आफै गएर उहाँहरूको आन्दोलन स्थलमा गएर उहाँको माग सम्बोधन गरेको थिए। केही समय पछि सहकारीको सबै समस्या समाधान हुन्छ जस्तो लाग्छ ।

त्यसैले मलाई लाग्छ छोटो समयमा मैले धेरै राम्रा कामहरू गरेको छु । जनतालाई प्रत्यक्ष लाभ हुने गरी म लागिरहेको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर