मधेसमा तमसुक दर्ता गराउन साहूको लस्कर- वडाद्वारा खुलेआम तीन गुणाबढीका कारोबार स्वीकार (भिडिओ)
वडाध्यक्ष भन्छन्- ऋणी नै नआएपछि हामीले के गर्ने ?
जनकपुरधाम । अहिले मधेस प्रदेशका स्थानीय तहमा लेनदेनका तमसुक र लिखत दर्ता गर्न वडाध्यक्ष र कर्मचारीलाई भ्याइनभ्याइ छ । साहु र ऋणीले वडा कार्यालय भरिभराउ छन् । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गरेको थियो । मुलुकी देवानी संहिता ऐनको दफा ३६ को उपदफा (२) ले ५० हजारभन्दा बढी लेनदेनको कागजात वडा कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।
१२ साउन २०८० मा उक्त ऐन संशोधन प्रमाणीकरण भएकाले लेनदेनसम्बन्धी तमसुक र लिखत स्थानीय तहबाट प्रमाणीकरण गर्न ६ महिनाको समय दियो । सो समय अगामी माघ ११ मा सकिँदैछ । तमसुक दर्ता नभए पैसा डुब्ने चिन्ताले दर्ताको समय सीमा सकिने बेला वडा कार्यालयमा साहूको बिहानैदेखि भिडभाड छ ।
धनुषाको कमला नगरपालिका-३ का वडाध्यक्ष राम भगत भन्छन्, ‘कार्यालय खोल्नु अगाडिदेखि नै भीड लागेको हुन्छ । म आएदेखि काम गरिरहेको छु । एक मिनेट फुर्सद छैन ।’
१०/१५ दिनयता तमसुक दर्ता गराउनेको भिडले अरु काम ठप्पप्राय: भएको उनले सुनाए ।
वडाध्यक्ष भगतका अनुसार अनुसार वडामा लेनदेनसम्बन्धी करिब १ हजार तमसुक दर्ता भइसकेको छ । म्यादसम्म अझै ४/५ सय दर्ता हुने अनुमान छ । प्रति तमसुक दर्ताका लागि २ सय राजस्व तोकिएको छ ।
सिरहा औरही गाउँपालिका-५ का वडाध्यक्ष रामपृत यादवले पनि व्यस्तताले कुर्सीबाट उठ्न पनि नपाएको अनुभव सुनाए ।
उनले भने, ‘पहिलेदेखि नै कपाली तमसुक दर्ता गर्नुपर्ने प्रावधान छ । तर, ०७५ यता ऋण लिने र दिनेहरू ब्याकडेटमा कपाली बनायो । पुरानो कागज पनि दर्ता गर्नुपर्ने कुरा थाहा पाएपछि अब बल्ल वडामा आउन थालेका छन् । त्यसैले भिडभाड बढी भएको छ ।’
ऋणी नआएपनि तमसुक दर्ता
गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँजबुझ आयोग गठन भएको थियो । आयोगको म्याद सकिसकेको छ । आयोगले मुलुकी ऐनको संशोधित व्यवस्था सबै स्थानीय तहलाई जानकारी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको थियो । संघीय मामिला मन्त्रालयले पनि सबै स्थानीय तहलाई कपाली तमसुकबारे भएको कानूनी व्यवस्था र तमसुक प्रमाणित गर्दा विचार गर्नुपर्ने कुराहरुसहित पत्र लेख्यो ।
जुन पत्रमा भनिएको छ, ‘तमसुक लिखत प्रमाणीकरणको लागि स्थानीय तह वा वडा समितिको कार्यालयमा निवेदन दर्ता भएपछि साहु वा असामीमध्ये कुनै एक पक्ष उपस्थित नभए पनि लेनदेन कारोबारको यथार्थता बुझेर प्रमाणित गरिदिनुपर्ने भएकाले लिखतका दुवै पक्षका साक्षीहरूलाई बुझ्नु नै उचित हुने भएकाले ती साक्षी बुझ्नु नै उपयुक्त हुन्छ ।’
सोही आधारमा अहिले वडा कार्यालयहरूले ऋणी उपस्थित नभएपनि साहूले दिएको निवेदनको आधारमा तमसुक दर्ता गर्ने गरिएको छ ।
वडाध्यक्ष यादव भन्छन्, ‘साहु र ऋणी दुवै आएपछि एकछिनमै कपाली तमसुक दर्ता हुन्छ । तर धेरै ऋणी आउने गरेका छैनन् । नआएको अवस्थामा हामीले पत्र पठाएर सात दिनको समय दिन्छौं । तैपनि नआए कानूनबमोजिम साहुले दिएको निवेदनको आधारमा कपाली तमसुक प्रमाणीकरण गर्छौं ।’
गाउँघरमा कुनै ऋणीले ५० हजार ऋण लिएका छन् भने त्यसको त्रिबलसम्म कपाली बनाइएको छ । ऋणीबेगर साहूकै निवेदनको भरमा कसरी वास्तविक कारोबारको विश्वास गर्नू ? भन्ने जिज्ञासामा वडाध्यक्ष यादवले भने, ‘ऋणी आएर जति भन्छन्, उनको कुरा कैफियतमा लेखिदिन्छौं । आउँदैनन् भने हामी कसरी थाहा पाउने कि वास्तविक ऋण कति हो । त्यसैले ऋणी उपस्थित नभएको अवस्थामा कपाली कागजमा उल्लेख भएकै रकम सदर हुनेगरी दर्ता गर्छौं ।’
यदि ऋणीले तमसुक (लिखत) मा बढी रकम उल्लेख गरेको, तर आफूले कम रकम लिएको भनेको छ भने सोही कुरा लेखेर प्रमाणित गराउनु पर्ने आयोगको मार्गदर्शनमा उल्लेख छ ।
कमला नगरपालिका-३ का वडाध्यक्ष राम भगतले पनि ऋणी नआएपछि साहूले दिएकै निवेदन र तमसुक प्रमाणित गरिदिएको बताए ।
‘वास्तवमा कपाली कागज सबै साहूले दिएको ऋणको तीनगुणाको कागज बनाएका छन् । तर, ऋणी नआएपछि हामीले के गर्ने ? तपाईँसँग केही सुझाव छ भने दिनुस्’, उनले थपे, ‘१० प्रतिशत ऋणीले मात्र यथार्थ कुरा भन्छन् । उनीहरूको कुरा हामीले कैफियत जनाउने गरेका छौं ।’
ऋण असुल्दा अहिले दर्ता भएको कपाली कागजलाई साहूले आधार बनाउने हुँदा आउँदा दिनमा अझ समस्या निम्तिन सक्ने भगतको भनाइ छ । अहिले पनि कपाली कागज लिएको ऋणभन्दा बढीको बनाएको विषयमा केही ऋणी र साहुबीच विवाद भएको बताए ।
उनका अनुसार साहू रामचन्द्र मरिकले कपाली दर्ताका लागि वडामा निवेदन दिएका छन् । ऋणि सन्तोष सुनरैत छन् । उनी पनि आएर कपालीमा सनाखत गरदिन तयार भए । तर, ऋणी भन्छन्-चारगुणाको कपाली छ, लिएको रकम विवरणमा लेखिदिनुहोस् । तर, साहूले तमसुककै अनुसार दर्ता गर्ने भनेपछि त्यो फाइल थाती छ ।
कपालीमा अंक बढाएको साहू नै स्वीकार्छन्
औरही गाउँपालिका-५ स्थित वडा कार्यालयमा कपाली तमसुक दर्ता गराउन पुगेकी अमलादेवी ठाकुरले ५० हजार ऋणमा एक लाख ५० हजारको कागज बनाएको स्वीकारिन् ।
दर्ता ५० हजारको कपाली गराउने कि एक लाख ५० हजारको भन्ने जिज्ञासामा उनले भनिन्, ‘कपालीमा जे छ, त्यही दर्ता हुन्छ । तर, रूपैयाँ लिने बेलामा ऋणीसँग मात्र ५० हजारको ब्याज जोडर लिन्छु ।’
यदि ऋणीले समयमा दिन नसक्ने अनि अदालत गए मूलधन र व्याज पनि असुल्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘उसले (ऋणी) बेइमान भयो भने केही छैन । अनी हामी बेइमान भयो भने के हुन्छ ?’
मिटरव्याजी मात्र होईन अब त वडाकाले पनि कमाउने मौका पाए ।