राडीपाखी बुन्दै कर्णालीको पुस्तौंपुस्ता, नयाँ पिढीलाई छैन वास्ता
सुर्खेत । कर्णाली प्रदेशका अधिकांश जिल्ला भौगोलिक रुपमा विकट छन् । यहाँ ठाउँअनुसार फरक रहनसहन र पेशा पाइन्छन् । कर्णालीका केही जिल्लामा परम्परागत सीप प्रयोग गरेर राडीपाखी बुन्ने पुर्ख्यौली पेशा अगाँल्दै आएका छन् । त्यसको लागि उनीहरुले पुस्तौंदेखि भेंडाबाख्रापालन गर्दै आएका छन् । कतिले पुर्ख्यौली पेसालाई व्यवसायिक बनाएका छन् । भेंडाको ऊनबाट बन्ने राडीपाखीको व्यवसाय पनि चलाउनेहरु कम छैनन् । जसबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
कालीकोटको खाडाचक्र नगरपालिका-९ का मानबहादुर विष्टले राडीपाखी व्यवसाय गर्दै आएको ३५ वर्ष भइसक्यो । अहिले ८० वर्ष पुग्दा पनि उनले राडीपाखी बुन्न छोडेका छैनन् । घरमा भेडाबाख्रा हुने भएकाले २५ वर्षको उमेरमै ऊन कात्ने र राडीपाखी बुन्न थालेको उनले सुनाए । उनका बुवाले पनि यही पेसा व्यवसाय गरेका थिए । बुवाले बुनेको हेर्दाहेर्दै राडी बुन्न सिकेको उनको भनाइ छ ।
‘त्यही सीपले मलाई अहिले पनि खाली हात बस्न मन लाग्दैन’, उनले भने, ‘उमेरले ८० पुगें । तर पनि राडीपाखी नबुनी बस्नै नसक्दिनँ ।’
बाबुबाट सिकेको सीप उनले आफ्नो छोरालाई पनि सिकाएका छन् । जसले आफूहरुलाई सहयोग मिलेको मानबहादुर सुनाउँछन् । अहिले बाबुछोरा मिलेर राडीपाखीको व्यवसाय गर्दै आएका छन् ।
‘घरको आम्दानीको मुख्य आधार नै यही हो’, मानबहादुर भन्छन्, ‘अहिलेसम्म कति राडीपाखी बुने यकिन छैन । कति बेचें बेचें र कति नासोको रुपमा दिएँ दिएँ ।’
मानबहादुर आफैंमात्र बुन्दैनन्, गाउँका अन्यलाई पनि सीप हस्तान्तरण गर्दै आएका छन् । त्यसैले उनलाई गाउँमा राडीपाखीका प्रशिक्षक मानिन्छ । गाउँमा कसैले राडीपाखी बुन्न चाहे सिकाउन लागि मानबहादुरलाई नै बोलाइन्छ ।
एउटा राडीपाखी बुन्न ४-५ दिन लाग्ने उनको भनाइ छ । उनका अनुसार एउटा राडीको मूल्य ७ हजार र पाखीको मूल्य ८ हजार रुपैयाँ पर्छ । महिनामा ५-६ वटा राडीपाखी बुन्न सकिने मानबहादुर बताउँछन् ।
‘महिनामा ३० हजार रुपैयाँ जति आम्दानी हुन्छ’, उनले भने, ‘बुवाबाट सिकेको सीपले अझै पनि काम गर्दै आएको छु । यहीबाट आएको आम्दानीले घर खर्च चल्छ ।’
पुर्ख्यौली पेसा सँगसँगै आम्दानीको स्रोत भएकाले अहिलेसम्म यो पेशा नछोडेको उनले बताए । घरमा कोही पाहुना आएमा राडी बिछ्याएर स्वागत गर्ने र सुत्ने बेला ओढ्न पाखी दिने कालीकोटको प्रचलन नै रहेको मानबहादुरको भनाइ छ ।
‘पुराना मान्छेलाई यही मन पर्छ । राडीपाखीले घरको शोभा बढाउँछ’, उनले भने ।
कालीकोटको तिलागुफा नगरपालिका-७ चिल्खायाका ६० वर्षीय शेरबहादुर रोकाया पनि पुर्ख्यौली राडीपाखी व्यवसायबाटै जीवन निर्वाह गरिरहेका छन् । अहिले व्यवसायको सिलसिलामा उनी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका छन् ।
उनले महिनामा ८-९ वटा राडीपाखी बिक्री हुने गरेको बताए । जसबाट ७० हजार रुपैयाँ आम्दानी हुने गरेको र यसैबाट घर खर्च चलाउने गरेको उनी बताउँछन् । ‘राडीपाखी व्यवसायबाटै सुर्खेतमा घरघडेरी जोडेको छु’, उनले भने ।
शेरबहादुरसँगै उनका छोरा कपडा व्यवसायमा लागेका छन् । उनी गाउँ-गाउँ पुगेर कपडाको व्यापार गर्छन् । पसलमा बसेर व्यापार गर्नुभन्दा गाउँ-गाउँ पुगेर गरेको व्यापारमा राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘कोठा भाडा पनि तिर्न नपर्ने, बेचेको कपडाबाट आएको फाइदा चोखै आफ्नो हुन्छ’, शरेबहादुर भन्छन् ।
सानैदेखि राडीपाखीको व्यवसाय गर्दै आएका शेरबहादुरले ऊन भने खरिद गर्ने गरेका छन् । उनले कालीकोटबाट ऊन खरिद गर्ने गरेको बताए । उनका अनुसार एक केजी ऊनको ५०० रुपैयाँ पर्छ । राडीपाखी सँगसँगै उनले जडिबुटी र चियापत्तीको व्यापार गर्दै आएका छन् ।
पछिल्लो समय स्थानीय एवं मौलिक उत्पादनलाई महत्व दिन थालेपछि कर्णालीका राडीपाखी व्यवसायीहरुलाई राहत भएको छ । मेला महोत्सवमा पनि यसले स्थान पाउँदै आएको छ । तर, आधुनिक लत्ताकपडाको बढ्दो प्रयोगले ऊनबाट बनेका सामग्रीको बजार खुम्भिएको उनीहरुको गुनासो छ ।
भेंडाको ऊनबाट राडीपाखी बुन्ने कार्य कठिन छ । समय पनि उत्तिकै लाग्छ । पुरानो पुस्ताले गाउँमै बुनिएको राडीपाखी प्रयोग गर्दै आए पनि नयाँ पुस्ता यसको प्रयोगमा आकर्षित छैनन् । नयाँ पिढीले यस सीप र व्यवसायमा चासाे नदिँदा पुर्ख्याैली सीप, पेसा र व्यवसाय नै लाेप पाे हुने हाे कि भन्ने चिन्ता रहेकाे उनीहरु बताउँछन् ।
‘आधुनिक उत्पादनले मौलिक एवं परम्परागत राडीपाखी व्यवसाय सङ्कटमा पर्छ कि भन्ने डर छ । यसले हामीमात्रै होइन, भेंडाबाख्रापालन गर्ने स्थानीयवासी पनि प्रभावित हुन्छन् कि भन्ने चिन्ता छ’, मानबहादुर भन्छन्, ‘त्यसमाथि नयाँ पिढीले यसमा वास्ता गरेकाे छैन । पुर्ख्याैली सीप र पेसा, व्यवसाय हराउँदै पाे जाने हाे कि ?’
कर्णालीमा राडीपाखी बुन्न महिलाभन्दा बढी पुरुष सक्रिय छन् । उनीहरुले स्थानीय, प्रदेश र संघ गरी तीन वटै सरकारले परम्परागत सीप, पेशा र व्यवसायको संरक्षण, प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।