५ करोड खातामा जम्मा भयो ६० खर्ब निक्षेप, जीडीपीभन्दा १११ प्रतिशत बढी
काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा १११ प्रतिशत बढी निक्षेप बैंक तथा वित्तीय संस्थामा जम्मा भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ६० खर्ब १९ अर्ब निक्षेप पुगेको छ । यो निक्षेप ५४ वटा बैंक तथा वित्तीय संस्थामा खोलिएको ५ करोड ३३ लाख ३ हजार ३७८ वटा खातामार्फत जम्मा भएको रकम हो ।
नेपालको कुल गार्हस्थ उत्पादन ५३ खर्बभन्दा बढी छ । बैंक तथा वित्तीय संस्थामा खोलिएको खाता नेपालको जनसंख्याभन्दा करिब दोब्बर हो । २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स गरी ५४ वटा बैंक तथा वित्तीय संस्था छन् ।
मंसिर मसान्तसम्म ४९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा प्रवाह जीडीपीको ८३ प्रतिशत हो । ५४ वटा बैंक तथा वित्तीय संस्थाको १८ लाख ५८ हजार ३५५ वटा खातामार्फत सो ऋण प्रवाह भएको हो ।