प्रधानमन्त्री कप क्रिकेट: रोहितको अलराउन्ड प्रदर्शनमा एपीएफको दोस्रो जीत
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ)ले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा कोशीले दिएको १३६ रनको लक्ष्य एपीएफले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
एपीएफको जीतमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे । बलिङतर्फ ३ विकेट लिएका पौडेलले ब्याटिङमा ८० रन बनाए । ५३ बलमा पौडेलले ९ चौका र ३ छक्का प्रहार गरे । एपीएफका प्रज्ज्वल शाहीले २२ र सुमित महर्जनले अविजित २० रन जोडे ।
बलिङतर्फ कोशीका फिर्दोस अन्सारी, कमल खत्री, समीर कार्की र सोनु मण्डलले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४ ओभर ३ बलमा १३५ रनमा समेटिएको थियो । कोशीका फिर्दोस अन्सारीले ५५, सोनु अन्सारीले २०, कप्तान अंकित सुवेदीले १३, सोनु मण्डलले ११, आइस भट्टराईले १० रन बनाएका थिए ।
बलिङतर्फ एपीएफका कप्तान रोहित पौडेल र अविनाश बोहराले समान ३-३, अमर रौटेलाले २, भुवन कार्की र मौसम ढकालले १–१ विकेट लिएका थिए ।
यसअघि आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले हराएको थियो ।