ताइवान चुनाव: राष्ट्रपतिमा अमेरिकी पक्षधरको जीत, संसदमा चीन पक्षको अग्रता
काठमाडौं । शनिबार भएको ताइवानको राष्ट्रपति निर्वाचनमा अमेरिकी पक्षधरको जीत हुँदा संसदीय चुनावमा चीन पक्षधरले अग्रता पाएको छ ।
ताइवान टापुको अखबार ताइपेइ टाइम्सका अनुसार राष्ट्रपतिको चुनावमा अमेरिकी पक्षधर सत्ताधारी दल डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)का उम्मेदवार विलियम लाइ ४०.०५ प्रतिशत मत ल्याएर विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी तथा चीन पक्षधर पार्टी कोमिन्टाङ (केएमटी)का उम्मेदवार होउ योउ यिले ३३.४९ प्रतिशत मत ल्याएर दोस्रो बनेका छन् ।
लाइले ५५ लाख ८६ हजार १९ मत पाउँदा यिको मत ४६ लाख ७१ हजार २१ आएको थियो । तेस्रो शक्तिको रुपमा प्रवेश गरेका ताइवान पिपल्स पार्टी (टीपीपी)का उम्मेदवार को वन चेले २६.४६ प्रतिशत अर्थात ३६ लाख ९० हजार ४६६ मत ल्याएका छन् ।
अमेरिकी पक्षधरले ताइवानलाई स्वतन्त्र देश बनाउनुपर्ने अभियान चलाएका छन् भने प्रमुख प्रतिपक्षी दल केएमटीका उम्मेदवारले चीनसँग नजिक हुने कुरा गरेका छन् । तेस्रो दलको चुनावी मुद्दा भूराजनीनि नभएर आर्थिक भएको बताइएको छ ।
राष्ट्रपतीय निर्वाचनमा लगालग तीन पटक जितेको डीपीपी संसदीय चुनावमा भने केएमटीसँग पछि परेको छ । चुनावी गणितअनुसार ११३ सीटको संसदमा डीपीपीको ५१ आउँदा केएमटीले ५२ सीट जितेको छ । कसैको बहुमत नपुगेपछि गठबन्धनबाट संसदलाई चलाउने बाध्यता देखिएको छ ।