अर्जेन्टिनालाई विश्वकप जिताएका प्रशिक्षक स्कोलोनीले तत्काल पद नछाड्ने, कम्तीमा कोपा अमेरिकासम्म बस्ने – Nepal Press

अर्जेन्टिनालाई विश्वकप जिताएका प्रशिक्षक स्कोलोनीले तत्काल पद नछाड्ने, कम्तीमा कोपा अमेरिकासम्म बस्ने

काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षक छाड्ने संकेत गरेका लियोनल स्कोलोनी कम्तीमा आगामी कोपा अमेरिकासम्म जिम्मेवारीमा रहने भएका छन् ।

अर्जेन्टिनी सञ्चार माध्यमका अनुसार कम्तीमा आगामी जुन-जुलाईमा आयोजना हुने महादेशीय च्याम्पियनसिपसम्म स्कोलोनी अर्जेन्टिनाको प्रशिक्षक रहनेछन् ।

अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले भेटेपछि स्कोलोनी तत्काल नहट्ने मनस्थितिमा पुगेको स्थानीय टीवाईसीस्पोर्ट्सलाई उदृत गर्दै स्पोर्टस स्टारले जनाएको छ ।

स्कोलोनीले सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका थिए । स्कोलोनीकै प्रशिक्षणमा अर्जेन्टिनाले गत वर्ष विश्वकप उपाधि हात पारेको थियो ।

सन् २०१६ मा जर्ज साम्पोली अर्जेन्टिनाको प्रशिक्षक नियुक्त हुँदा उनले स्कोलोनीलाई असिस्टेन्ट बनाएर राष्ट्रिय टोलीमा भित्र्याएका थिए ।

सन् २०१८ मा आयोजित रुस विश्वकपमा अर्जेन्टिनाले अपेक्षित प्रदर्शन गर्न नसकेपछि साम्पोली जिम्मेवारीबाट हटेका थिए भने स्कोलोनीलाई अन्तरिम प्रशिक्षक घोषणा गरिएको थियो । त्यसयता उनी निरन्तर जिम्मेवारीमा छन् ।

४५ वर्षीय स्कोलोनीकै प्रशिक्षणमा अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रा कोरेको थियो । तर गत नोभेम्बरमा भएको विश्वकप छनोट खेलमा ब्राजिललाई हराएपछि उनले लगातार सफलता र जित हात पार्न मुस्किल हुने भन्दै पद छाड्न सक्ने संकेत देखाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *