अष्ट्रेलियाबाट फर्किएर कुशलले भने- शनिबारमात्रै क्रिकेट हुँदो रहेछ, मलाई मन परेन
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलियामा क्लबस्तरीय भिक्टोरियन प्रिमियर लिग खेलेर स्वदेश फर्किएका छन् । करिब एक महिना भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिनसुलाबाट भिक्टोरियन प्रिमियर लिग खेलेका कुशल सोमबार नेपाल फर्किएका छन् ।
स्वदेश फर्किएका कुशलले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको कोशी प्रदेशविरुद्धको खेल खेलेका थिए ।
नेपाल पुलिस क्लबमा आवद्ध कुशलले कोशीविरुद्ध ब्याटिङ, बलिङ दुबै गरेका थिए । ब्याटिङतर्फ १२ रन बनाएका कुशलले बलिङतर्फ एक विकेट लिए । ६ ओभर बलिङ गरेका कुशलले १ मेडनसहित ४१ रन खर्चेर १ विकेट लिन सफल भए ।
खेलपछि पत्रकारसँग कुरा गर्दै कुशलले अष्ट्रेलियामा क्रिकेट खेल्ने कल्चर मन नपरेको बताएका छन् ।
‘साँच्चिकै भन्दा मलाई त्यहाँको कल्चर मन परेन, तिनीहरुको खेल्ने कल्चर । म यहाँ दिनभरि खेलिरहेको बानी त्यहाँ चाहिँ शनिबार मात्र खेल हुने । अरु दिन ट्रेनिङ पनि एक दुई दिन हुने । अनि त्यो मिस भइराखेको थियो’, उनले भने, ‘सोची राखेको थिएँ त्यस्तो क्रिकेट खेलेर पनि तिनीहरु त्यस्तो राम्रो गरिराखेको छ क्रिकेट ।’
प्रीमियर लिगको अनुभव राम्रो भएको कुशलले बताए । आफ्नो प्रदर्शन सोचेको जस्तो नभएको उनले सुनाए । ‘अनुभव राम्रै रह्यो । प्रीमियर लिगमा राम्रै खेलाडीहरु पनि थिए । विग व्यास लिग खेलिसकेका खेलाडीहरु पनि थिए । जस्तो सोचेको त्यस्तो चाहिँ भएन मेरो आफ्नो प्रदर्शन चाहिँ । समग्रमा चाहिँ राम्रो अनुभव भयो’, उनले भने ।