किन मेस्सी, हालान्ड र एमबाप्पे तीनै जनाले ‘हापे’ फिफा वर्ष खेलाडी अवार्ड सेरेमोनी ? – Nepal Press

किन मेस्सी, हालान्ड र एमबाप्पे तीनै जनाले ‘हापे’ फिफा वर्ष खेलाडी अवार्ड सेरेमोनी ?

काठमाडौं । सम्भवतः पहिलो पटक फिफा पुरुष वर्ष खेलाडी अवार्ड कार्यक्रममा तीनै जना प्रत्यासी उपस्थित भएनन् । लन्डनमा सोमबार राति आयोजित अवार्ड विजेता घोषणा र वितरण समारोहमा लियोनल मेस्सी, एर्लिङ हालान्ड र केलियन एमबाप्पे तीनै जना देखिएनन् ।

अवार्ड विजेताका रुपमा लियोनल मेस्सीको नाम घोषणा गरिएको थियो । मेस्सीको तर्फबाट अवार्ड थिएरी हेनरीले लिएका थिए । उनीहरु किन उपस्थित भएनन् भन्ने विषयमा औपचारिक रुपमा केही बाहिर आएको छैन । नर्वेका हालान्ड इङ्ल्यान्डमै व्यवसायिक फुटबल खेलिरहे पनि अवार्ड वितरण समारोहमा पुगेनन् ।

केही समययता चोटका कारण मैदान बाहिर रहेका हालान्ड हाल इटालीमा खिचिएका तस्वीरहरु हालै इन्स्टाग्राममा राखेका थिए । अवार्ड वितरणमा उनले आफ्ना बुबालाई पठाएका थिए ।

यता फ्रान्समा रहेका एमबाप्पे पनि पुगेनन् । त्यसो त सफलताका हिसाबले अन्य दुईको तुलनामा उनको सम्भावना कम थियो ।

हाल अमेरिकामा रहेका मेस्सीले भने इन्टर मियामीको नियमित प्रशिक्षण छाड्न नमानेको अनुमान गरिएको छ । मेस्सी नजिक रहेका स्पेनिस पत्रकार गुइलेम बालागले लामो दूरीको यात्राले इन्टर मियामीको एक साताको प्रशिक्षण छुट्ने भएकाले मेस्सी कार्यक्रममा सहभागी हुन नआएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इन्टर मियामीबाट उनले प्रशिक्षण सुरु गरेका छन् र लन्डन आउँदा ३/४ दिन अवरुद्ध हुन्थ्यो । उनी गत सिजन केही शारीरिक समस्यामा थिए । त्यसैले प्रि-सिजन उनी राम्रो हुन चाहन्छन् ।‘

भोटका आधारमा अवार्ड विजेताको टुंगो लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सी र हालान्डले पाएको भोट समान भएपछि राष्ट्रिय टोलीका कप्तानहरुले गरेको भोटका आधारमा निर्णय लिइएको हो ।

मेस्सी बढी योग्य थिए कि हालान्ड ?

गत अक्टोबर ३० तारिखमा सन् २०२३ का लागि बालोन डीअर जितेका मेस्सी फिफा वर्ष खेलाडीका लागि पनि दावेदार देखिएका थिए । तर, उनले पाएको उक्त अवार्ड विवादमुक्त रहेन ।

म्यानचेस्टर सिटीका लागि व्यक्तिगत सफलतासँगै घरेलु लिग, च्याम्पियन्स लिग जितेका हालान्डमाथि अन्याय भएको भन्दै आलोचना पनि भएको थियो ।

सन् २०२२ को डिसेम्बर १९ देखि सन् २०२३ को अगष्ट २० तारिखसम्म प्राप्त सफलतालाई आधार मानेर फिफा वर्ष खेलाडी अवार्ड विजेता छनोट गर्न लगाइएको थियो ।

मेस्सीले गत वर्ष जितेको विश्वकप यो अवधिमा थिएन । तर, हालान्डले यही अवधिमा यी सफलता प्राप्त गरेका थिए । फ्रान्सेली क्लब पीएसजी छाडेर अमेरिका पुगेका मेस्सीले यो अवधिमा लिग्स कप जितेका थिए । लिग्स कप मेजर लिग सकर-एमएलस र मेक्सिकन क्लबहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो ।

फिफा वर्ष खेलाडी अवार्डका लागि हालान्ड पहिलो पटक अन्तिम तीन जनाको मनोनयनमा परेका थिए । एमबाप्पेले भने लगातार दोस्रो पटक यो अवसर पाएका थिए । गत वर्ष उनी दोस्रो भएका थिए । त्यस वर्ष एमबाप्पे विश्वकपको सर्वाधिक गोलकर्ता बनेका थिए भने फ्रान्स फाइनलमा पुगेको थियो ।

यस पटक फिफा वर्ष खेलाडी छनोट गर्न सुरुमा प्यानल बनाएर खेलाडीको प्रारम्भिक सर्ट लिस्ट गरिएको थियो । प्यानलमा पूर्व खेलाडी र प्रशिक्षकलाई राखिएको थियो ।

पुरुषतर्फको प्यानलमा चेक गणतन्त्रका गोलकिपर पिटर चेक, कोस्टारिकाका पूर्वस्ट्राइकर डिडियर ड्रोग्वा, अस्ट्रेलियाका ब्रेट इमर्टन, इङ्ल्यान्डका रियो फर्डिनान्ड, घानाका आसामोह ज्ञान, ब्राजिलका काका, अर्जेन्टिनाका मारियो केम्पेस, अमेरिकाका एलेक्सी लालास, नाइजेरियाका जोन ओबी मिकेल, दक्षिण कोरियाका पार्क जी सङ र न्युजिल्यान्डका इभान भिसेलिच थिए ।

सबै राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक र कप्तानसहित फेसबुक डटकममा दर्ता रहेका समर्थक र खेल पत्रकारले विजेताको टुंगो लगाउन भोट गरेका थिए ।

समर्थकलाई भोटिङ गर्न गत सेप्टेम्बर १४ देखि अक्टोबर ६ तारिखसम्मको समय दिइएको थियो । उक्त अवधिमा १० लाखभन्दा बढी भोट प्राप्त भएको फिफाले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर