माघ ४ देखि बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – Nepal Press

माघ ४ देखि बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रुपन्देही । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ४ गते सुरु गर्ने भएको छ ।

उपमहानगरपालिकाको खेलकुद विकास समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको बताएको छ ।

यस वर्ष सामुदायिक र संस्थागतबाट २१-२१ गरी ४२ वटा टीमले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष सहभागी हुने टीमको संख्या बढेको छ । उनले सबै खेलाडीहरुको १ महिनाको दुर्घटना बीमा गरिएको जानकारी दिए । ३ दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाअन्तर्गत ५४ खेलमा ३५० विद्यार्थीले भाग लिने अध्यक्ष पियाले बताए ।

प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा स्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १७ हजार ५०० र तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए ।

प्रतियोगिता सञ्चालन गर्न ५७ सदस्यीय मूल समिति, खेल विधाका समिति र १० वटा अन्य विधागत समिति बनाइएको छ ।

यस्तै प्रतियोगिता उद्घाटनको मार्चपासतर्फ पहिलोलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई २ हजार ५०० रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिता सञ्चालन गर्न बुटवल उपमहानगरले २० लाख र संघीय सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट विनियोजन गरेको छ ।

कार्यक्रममा मेयर खेलराज पाण्डेयले विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियमसंगत र अनुशासित ढङ्गले सञ्चालन गर्न आग्रह गरे ।

उनले विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्न छिट्टै फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

प्रतियोगिता बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *