प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन – Nepal Press

प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुंग्याउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल प्रहरी (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन, २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुङ्गाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहालले संघीय कानून नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिदा प्रदेशलाई काम गर्न अप्ठ्यारो परेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

‘सङ्घीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुनसकेको छैन । त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ । यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्’, प्रधानमन्त्रीले भने, ‘यसलाई नै बहाना बनाएर संघीयताविरोधीले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन् । त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंग्याउनुस् ।’

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, संघीय मन्त्री, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारी उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर