आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने
काठमाडौं । नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस कलेजले शिक्षा मन्त्रालयसँगको सहकार्यमा माघ २२ र २३ गते युवा वैज्ञानिक सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्निोलोजी (नास्ट), नेशनल इनोभेसन सेन्टर (एनआईसी), युनेस्को नेपाल, रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी (आरडीएस) र साइन्स टिचर्स नेपाललगायतको सहकार्यमा सम्मेलन हुने भएको हो ।
उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि १२ का विद्यार्थीहरुले शोधकर्ताको रुपमा भाग लिनसक्ने आयोजकले जनाएको छ ।
युवा शोधकर्ताहरुका लागि विभिन्न ६ वटा विधा छुट्याइएको छ । जसमा इन्जिनियरिङ र रोबोटिक्स, जीवन विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान र गणितका साथै कम्प्युटर विज्ञान र इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ ।
सम्मेलनमा विशेषगरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको छ ।
सम्मेलनमा सहभागी युवाहरुलाई विभिन्न उपाधि, प्रमाणपत्रका साथै ६ वटै विधाका विजेतालाई पदकसमेत प्रदान गरिने छ ।
प्रत्येक विधाका विजेताले १३औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिन आवेदन दिन पाउनेछन् । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्र्रियस्तरका अन्य खोज अनुसन्धानमूलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ ।