माओवादी विधान अधिवेशन : १३ सय प्रतिनिधि भेला हुने, प्रवेश शुल्क एक हजार – Nepal Press

माओवादी विधान अधिवेशन : १३ सय प्रतिनिधि भेला हुने, प्रवेश शुल्क एक हजार

काठमाडौं । नेकपा माओवादी केन्द्र फागुन १ देखि ३ गते काठमाडौंमा हुने विधान अधिवेशनको तयारीमा जुटेको छ । स्थायी कमिटीको बैठकमा छलफल गरेर विधान मस्यौदा कार्यदलले तयार गरेको मस्यौदा विधानसहित तल्लो तहसम्म परिपत्र गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा मस्यौदा विधानमाथि माघ २१ गतेसम्म व्यापक छलफल गरी लिखित सुझाव केन्द्रीय कार्यालयमा माघ २४ गते भित्र अनिवार्य रुपमा पठाउनु निर्देशन भएको छ ।

विधान अधिवेशनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य, केन्द्रीय आयोगका सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला संयोजक, महानगरका अध्यक्ष, केन्द्रीय विभागका सचिव, केन्द्रीय ज.व.स.÷मोर्चाका प्रमुख विधान अधिवेशनका प्रतिनिधिहरु हुनेछन् ।

अधिवेशनमा प्रवेश शुल्क प्रतिव्यक्ति एक हजार लाग्ने सर्कुलरमा उल्लेख छ । प्रतिनिधिहरुले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।

प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाका अनुसार अधिवेशनमा करिब १३ सय उपस्थित हुन्छन् ।

प्रवेश शुल्कका विषयमा उनले नेपाल प्रेससँग भने, ‘प्रवेश शुल्क उठाउने नयाँ अभ्यास होइन । पहिला पनि एक हजार आसपास नै लिइन्थ्यो ।’

माओवादीमा प्रत्येक नेता कार्यकर्ताले आफ्नो आम्दानी हेरेर नियमित लेवी तिर्नुपर्ने व्यवस्था छ । पार्टीको प्रमुख आम्दानीको स्रोत यही नै हो । सांसदहरुको एकमुष्ट मासिक १२ हजार काटिन्छ । केन्द्रीय सदस्यले भने आम्दानीको आधारमा तिर्छन् । कार्यकर्ताले न्यूनतम एक सय बुझाउनुपर्छ ।

प्रवक्ता रायमाझीले पार्टीमा आएका पैसा पार्टी सञ्चालनको क्रममा खर्च हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर