यात्रुमाथि चालककाे `मनाेपाेली´, भनेकै हाेटलमा खानुपर्छ केही नबाेली – Nepal Press

यात्रुमाथि चालककाे `मनाेपाेली´, भनेकै हाेटलमा खानुपर्छ केही नबाेली

डोटी । आइतबार करिब साढे ९ बजे डोटीको सिलगढीबाट धनगढीका लागि हिँडेको बा ५ ख ८३४८ नं. को माइक्रो बस (हाईस) झण्डै एक घण्टा दिपायलमा रोकियो ।

११ बजे दिपायलबाट गुड्न लाग्दा यात्रुहरुले ‘अब यतै खाना खाएर जाउँ’ भन्ने प्रस्ताव राखे । चालकले कुलपाते र राजपुरबाट पनि यात्रुहरु राख्नुपर्ने भन्दै दिपायलमा खाना खाने प्रस्ताव अस्वीकार गरे ।

‘हामीले दिपायलबाट ११ बजे हिँडिसक्नु पर्छ, नत्र यसपछि आउने गाडीले झगडा गर्छ’, चालक राजुले भने, ‘फेरि कुलपाते र राजपुरबाट पनि यात्रु राख्नु पर्छ । हामी बाटोमै खाउला नि खाना ।’

यात्रुहरुले सहमति जनाए, हाइस अगाडि बढ्यो । बाटोमा यात्रुहरुले खाना कता खाने भनेर सोध्दै गए, चालक कुनै जवाफ नदिइ गाडी गुडाइरहे । दिउँसो १.३० बजे स्याउले भन्दा करिब ३ किलोमिटर पर तडीबाटा भन्ने ठाउँमा रहेको एउटा मात्र होटेल (महेश्वरी होटेल) भएको ठाउँमा गाडी रोकियो ।

सो हाइस पुग्नु अघि नै त्यहाँ धनगढीदेखि बझाङ्ग जाँदै गरेको एक बस रोकिएको थियो । भिडभाड थियो । खाना खान बसेका यात्रुहरु भात पाए दाल नपाउने, दाल पाए तरकारी नपाउने अवस्था थियो । एक बस र एक हाइसका यात्रुहरु खाइरहेकै बेला एक अर्को बस आइपुग्यो । यात्रुहरुले पहिल्लै पैसा तिरेर (कुपन लिएर) खाना खान बस्नु पर्ने होटलमा कतिपय यात्रुहरु थप खाना नपाएरै उठ्न बाध्य भए ।

‘यिनीहरुले जहिले पनि यस्तै गर्छन्, एउटा मात्रै होटल भएको ठाउँमा रोक्छन्’, दिपायल सिलगढी नगरपालिका–१ का सुवास खड्का भन्छन्, ‘भोक लागेको हुन्छ खाना खानै पर्ने तर भरी पेट कहिल्यै खान पाइँदैन ।’

उनले होटल र गाडीवालाको मिलेमोतो रहेको बताए । दुई तीन होटल भएको ठाउँमा रोकेको भए यात्रुहरुले छानेर खान पाउने उनको भनाइ थियो ।

सार्वजनिक यातायातमा चढ्नु सजाय भोगेजस्तै भएको बताउँछन् आदर्श गाउँपालिका–२ का भोजराज ओझा । ‘यिनिहरु (गाडीवाला) ले भनेअनुसार दुई जनाको सिटमा तीन जना बस्नुपर्ने, यिनीहरुले भनेको ठाउँमा खाना खानु पर्ने, केही सामान किन्नु परे यिनीहरुले भनेको ठाउँबाट मात्रै किन्नु पर्ने’, भोजराज भन्छन् ‘विरोध गर्यो भने उल्टो थर्काउँछन् ।’ एक जना, दुई जनाले मात्रै विरोध गर्दा कुट्ला जस्तो गर्ने गरेको उनको भनाइ छ । उनी थप्छन्, ‘सबै यात्रुहरुले एक स्वरमा विरोध गरे त सुधार हुन्थ्यो कि !’

सार्वजनिक यातायातहरुले यात्रुहरुप्रति निरंकुश व्यवहार गर्ने गरेको बताउँछिन् अछाम साँफेबगर नगरपालिकाकी गायत्री भट्ट । ‘यो त अटोक्य्राट भयो, यात्रुहरुले यिनिहरुको आदेशानुसार मात्रै चल्नुपर्ने हो र ?’ उनी भन्छिन्, ‘यिनीहरुको मन लागेको समयमा, मन लागेको ठाउँमा हामीलाई आधा पेट खाना खुवाउँछन्, अनि आफु हामीले खाएको भातमा पनि होटेलवालासंग कमिसन माग्छन् ।’

उनले सहजपुरमा फलफूल किन्नका लागि आग्रह गर्दा समेत गाडी नरोकेको तर खानीडाँडामा आधा घण्टा गाडी रोकेको आरोप लगाईन् ।

दिपायल सिलगढी नगरपालिका–९ का धर्म साउँदको भोगाई पनि उस्तै छ । दिउँसो १/२ बजेसम्म पनि यात्रुहरुलाई भोकभोकै राख्ने गरेको उनी बताउँछन् । ‘जति ढिलो भएपनि खाना खाएको कमिसन आउने ठाउँमै पुर्याउँछन्’, साउँदले भने, ‘यात्रुहरु भरी पेट खाउन कि आधा पेट खाउन केही भएन, गाडी स्टाफहरु मिठो मसिनो खान्छन् र कमिसन समेत लैजान्छ ।’

पहाडी रुटमा चल्ने सार्वजनिक यातायातमा खपी नसक्नु दुःख हुने गरेको बताउँछन् बाजुरा बुढीगंगा नगरपालिकाका मोहन जैशी । उनले भने, ‘सीट क्षमताभन्दा बढी यात्रु हाल्नु र ट्राफिक प्रहरीलाई कमिसन खुवाउनु यिनीहरुका लागि सामान्य जस्तै भइसक्यो ।’

खाना त राम्रो ठाउँमा खुवाई दिएको भएपनि चित्त बुझाउनु हुने उनको भनाइ छ । यति धैरे विरोध हुँदा पनि सम्वन्धित निकाय कानमा तेल हालेर सुतेको जैशीको आरोप छ ।

पत्रकार नारद नेपालीको पनि यस्तै धारणा छ । ‘गाडी धनीका गोजीका जस्ता ट्राफिक प्रहरीले जति भने पनि टेर्दैनन्’, नारद भन्छन्, ‘यात्रुलाई दालको नाममा के को हो भन्ने पहिचानै हुन नसक्ने झोल खुवाउँछन् ।’

पहाडबाट तराई यात्राका क्रममा गाडी स्टाफ, ट्राफिक र होटेल व्यवसायीहरुले गर्ने हर्कतको विषयमा सम्बन्धित निकायले गम्भीर हुनु जरुरी रहेको उनको भनाइ छ ।

 

 


प्रतिक्रिया

One thought on “यात्रुमाथि चालककाे `मनाेपाेली´, भनेकै हाेटलमा खानुपर्छ केही नबाेली

  1. चोर हरु सबै त्यस्तै हुन। ड्राइभर हरु त होटेल का ज्वाइँ हरु नै हुन भन्ने बुझ्नु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *