बाबुले नै छाेरीमाथि कुकृत्य गरेकाे आराेप, जाहेरी दिने दाजुकाे `हत्या´ – Nepal Press

बाबुले नै छाेरीमाथि कुकृत्य गरेकाे आराेप, जाहेरी दिने दाजुकाे `हत्या´

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एक पुरूषविरुद्ध गत कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता भयो ।सो जाहेरी बुवाले बहिनीकाे बलात्कार गरेकाे भन्दै छोराले दिएका थिए ।

जाहेरी दिने २१ वर्षीय भरत बुढाकाे साेमबार हत्या गरियाे । प्रहरीका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीका भरतकाे शरीरमा घरेलु धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियाे । घटनाबारे प्रहरीले बेलुका १ बजे स्थानीयबाट खबर पाएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा उक्त हत्या बलात्कार घटनासँग जोडिएको देखिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए ।

खड्काका अनुसार मृतकका काकाले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका छन् । मृतक बुढाकी बहिनीले भारतमा रहेका आफ्नै बुबाले दाइको हत्या गरेको बयान दिएकी छन् । आफूलाई बुबाले नै बलात्कार गरेको र सोही विषयमा बुबा र दाइबीच विवाद हुने गरेको उनकाे बयान छ ।

निरीक्षक खड्का भने, ‘हत्यामा मृतकका बुबाकै हात रहेको भनेर जाहेरी दर्ता भएको छ । उनको खोजी कार्य भइरहेको छ । साथै गहिरो रुपमा थप अनुसन्धान पनि भइरहेको छ । जाहेरी दर्ता भएपछि केही समय अगाडि मात्रै शवको पोस्टमार्टम भएको छ । मृतक युवककी बहिनीले दाइको हत्या बुबाले नै गरेको भने पनि ठोस प्रमाण पाउन सकेको छैनौं ।’

यस्तो छ घटना विवरण

गत असोज २७ गते मृतककी बहिनी १९ वर्षीया किशाेरी मामाघरमा थिइन् । कामको सिलसिलामा भारतमा मजदुरी गर्दै आएका बुबा गाउँ आएको खबर पाइन् । उनलाई  बुबाले घरमा बोलाए ।

धेरै समयपछि घर आएका बुबालाई भेट्न उनी मामा घरदेखि घर गइन् । लामो अन्तरालपछि बुबासँग भेटिएकोमा उनी खुसी थिइन् । त्यो दिन बुबालाई त भेटिन् । तर, सोही रात उनले कहिले पनि कल्पना नगरेको घटना घट्यो । उक्त दिन खुशी बोकेर मामा घरबाट आएकी उनलाई बुबालाई भेटेको रातले तड्पायो ।

त्यसरात आफ्नै बुवाबाट बलात्कृत भएकाे बयान किशाेरीले दिएकी छन् ।  घटनाबारे उनले कान्छीआमालाई सुनाइन् । कान्छीआमाले  उनलाई याे कुरा गुपचुप राख्न सल्लाह दिइन् । यस्ता कुरा बाहिर भन्यो भने आफ्नै इज्जत जान्छ भन्दै चुप लगाइन् । तर किशाेरीकाे मन मानेन ।

घटना घटेको केही सातापछि मनमा आँट बटुलेर दाइलाई सुनाइन् । दाइले यस विषयमा बुवालाई साेधे । त्यसपछि बाबुछाेराकाे झगडा हुन थालेकाे किशाेरीकाे बयान छ ।

त्यसपछि किशोरीका दाइले एक गैरसरकारी संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते बुबाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराए ।

जाहेरीमा बताइएअनुसार किशोरीका दाइलाई उजुरी नहाल्न उनका बुबाले धम्कीसमेत दिएका थिए । छोराले उजुरी दिएपछि बुवा कान्छी श्रीमती लिएर भारत गए ।

किशोरीले प्रहरीमा दर्ता गराएको जाहेरीमा भारतमा काम गर्ने आफ्ना बुबाले घरमा भेट्न बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ । ती किशोरीका दाइ र उनी जेठी पट्टिका सन्तान हुन् भने कान्छीबाट कुनै पनि सन्तान छैनन् ।

बहिनीलाई न्याय दिन लड्दै गरेका दाजुको मंगलबार राति विभत्स हत्या भयो । घरको बाख्राको खोरनजिक स्याउलाले ढाकिएको अवस्थामा ती किशोरीले आफ्ना दाइको शव फेला पारेकी थिइन् । पिसाब फेर्न निस्किएकी उनले दाइको हत्या भएको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।

प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । किशाेरी अहिले सेफहाउसमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *