फेरि बढ्यो ध्रुवे हात्तीको आतंक : धपाउन सेनासहितको टोली परिचालन
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपास २२-२४ जनाको ज्यान लिइसकेको ध्रुवे हात्ती पुन: बस्ती पसेपछि धपाउन निकुञ्जका कर्मचारी र आर्मी परिचालन गरिएको छ ।
तीन दिनयता निकुञ्ज पश्चिम क्षेत्रका मेघौली र माडीमा ध्रुवे हात्तीले वितण्डा मच्चाउन थालेपछि कसराबाट एउटा गाडीसहित ध्रुवे हात्तीको पछाडि नेपाली सेना र कर्मचारी गरी १० जना तैनाथ गरिएको छ । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे हात्ती बस्ती आसपास आउने र भौतिक संरचना क्षति गराउने क्रम बढेपछि हात्ती धपाउनकै लागि तीन दिनयता कर्मचारी र सेना खटाइएको हो ।
‘हामीले लखेट्नेभन्दा अरु केही गर्ने कुरा आउँदैन। बस्ती जोगाउने र धनजनको क्षति हुन नदिन हात्ती जता छ त्यतैतिर तयारी अवस्थामा बस्नुपर्ने स्थिति छ’, सूचना अधिकारी तिवारी भन्छन् ।
उनले तीन दिनदेखि मेघौली क्षेत्रमा गाडीसहित निकुञ्जका कर्मचारी खटाइएको जानकारी दिए । ध्रुवे हात्तीले नेपाल र भारतका विभिन्न क्षेत्रमा करिब दुई दर्जन हाराहारी मानवीय क्षति गराइसकेको छ ।
मंगलबार राति पनि ध्रुवे हात्तीले माडी क्षेत्रमा बिजुलीको उपकरणमा क्षति पुर्याउँदा मंगलबार रातिदेखि पूर्वी माडीको बगहीमा विद्युत् अवरूद्ध भएको थियो । मंगलबार माडीको बगइमा ध्रुवेले बिजुलीको पोलमाथि ट्रान्सफर्मरसँगै रहेको उपकरणमा क्षति पुर्याएको थियो । त्यसपछि गाउँका पानीका धारासमेत फुटाएको स्थानीयले जानकारी दिएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पालिएका घरपालुवा पोथी हात्तीहरूको संसर्गका लागि जंगली भाले हात्ती आउने गर्छन् । हात्ती प्रजनन केन्द्र सौराहामा रहेका पोथी हात्तीलाई यिनै जंगली हात्तीबाट गर्भाधान गराइन्छन् । निकुञ्जभित्र अहिले रोनाल्डो, गोविन्दे र ध्रुवे मुख्य भाले हात्ती हुन् ।
सूचना अधिकारी तिवारीका अनुसार ध्रुवेसँगसँगै गोविन्दे पनि निकुञ्जको पश्चिम क्षेत्रमा रहेको छ । अहिले कसरा आसपास, माडी र मेघौलीमा यी भाले हात्ती रहेको हुँदा यस क्षेत्रका बस्तीमा जोखिम बढी रहेको उनले बताए ।
यो समयमा हुस्सु लाग्ने कारणले पनि परसम्म हात्तीको आवतजावत झट्ट देखिँदैन । कम भिजिविलीटी हुने कारणले बस्ती पसेर बढी क्षति गराउने गर्दछन् । त्यसैले यस क्षेत्रमा निकुञ्जको हात्ती धपाउन गस्ती टोली नै खटाइएको उनले बताए ।
गोविन्देसँगै रोनाल्डो पनि यही जंगल आसपास भएपनि ध्रुवेले जस्तो बस्तीमा उनीहरुले क्षति पुर्याइहाल्ने गर्दैनन् । त्यसैले ती दुईबाट जोखिम कम आँकलन गरिन्छ । ध्रुवेले भने घर भत्काइदिने, बाली खाइदिने र मानिसलाई समेत आक्रमण गर्ने गरेको कारण बस्ती जोगाउन सुरक्षाकर्मी नै खटाउनुपर्ने अवस्था आएको उनले बताए ।
ध्रुवे हात्तीले भत्काएका घरहरू ।
सबै तस्बिरहरू : चितवन राष्ट्रिय निकुञ्ज ।