पार्टी पंक्तिलाई ओलीको निर्देशन- हामी मिसन ८४ नकुर्न सक्छौं, निर्णायक आन्दोलनको मनस्थितिमा रहनू (भिडिओ) – Nepal Press

पार्टी पंक्तिलाई ओलीको निर्देशन- हामी मिसन ८४ नकुर्न सक्छौं, निर्णायक आन्दोलनको मनस्थितिमा रहनू (भिडिओ)

'सरकार तरकारी बारीको बुख्याचा जस्तो छ'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । एमालेनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने बताए ।

ओलीले भने, ‘हामी मिसन ८४ मा छौं । हाम्रा विरोधीहरू एक्लै लड्छौं भन्ने आँट नै गर्दैनन्, हामीमात्रै हौं एक्लै लड्छौं भन्ने । हामी लड्यौं तर उनीहरूले स-साना अंक जोडेर सरकार बनाएका छन् । त्यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ । केही गर्ने होइन । अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि । सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने । बुख्याचामात्रै हाइन निकम्मा पनि छ ।’

उनले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको आरोप लगाए । हाम्रा विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रिन तयार रहने पार्टी पंक्तिलाई निर्देशित गरे ।

उनले भने, ‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ। देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ । उस्तै परे हामीले गठबन्धन भत्काएर, यो लोभीपापीहरू नभत्किन सक्छन् । यीनिहरूको घाँटी एकैठाउँमा जोडिएको छ । त्यसैले हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ । त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ ।’

एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको ओलीको भनाइ छ । उनले आफूहरू एक्लै लड्दा पनि ८० सीट ल्याएको उल्लेख गर्दै गठबन्धनका दलहरू एक्ला-एक्लै लडे बेहाल हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर