बुटवलको राष्ट्रपति रनिङ शिल्डमा १५ सय विद्यार्थी सहभागी (तस्बिरहरु)
रुपन्देही। बुटवलमा बिहीबारदेखि सुरु भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा नगरभित्र रहेका विभिन्न विद्यालयका करिब १ हजार ५ सय विद्यार्थीले भाग लिएका छन् ।
नगर खेलकुद विकास समितिको आयोजनामा बिहीबार शुरु भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे।
प्रतियोगिताको उद्घाटन गर्दै उनले बुटवलबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले पर्याप्त लगानी गर्ने बताए। उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताप्रतिको आकर्षण र बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने बताए। उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताए।
उनले विद्यालयहरुलाई खेलाडी उत्पादनमा उपमहानगरपालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन उनले आग्रह गरे।
उनले बुटवल शिक्षामा अब्बल नगर रहेको र सोहीअनुसार खेल क्षेत्रमा पनि राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमै ख्याति कमाउन सक्ने गरी विकास गर्ने योजना अगाडि बढाएको बताउँदै रनिङ शिल्डमा राष्ट्रिय स्तरमा उपाधि हासिल गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेर प्रोत्साहन गर्ने प्रतिवद्धता जनाए ।
उपप्रमुख सावित्रादेवी अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोहीअनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताइन्। उनले रनिङ शिल्डलाई अवसरको रुपमा लिदै खेलाडी उत्पादनमा विशेष चासो दिन विद्यालयहरुलाई आग्रह गरिन्।
नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले ३ दिनसम्म चल्ने प्रतियोगितामा १७ विधाका ५४ खेलमा १ हजार ४२२ विद्यार्थीले भाग लिने बताए। प्रतियोगितामा १८ वर्षभन्दा मुनिका विद्यार्थीले भाग लिएको र सबै खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १७ हजार पाँच सय र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको संयोजक पियाले बताए।
प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेल हुनेछन्। प्रतियोगिता सञ्चालनका लागि ५७ सदस्यीय मुल समिति, खेल विधाका समिति र १० वटा अन्य विधाका समितिहरु बनाइएको सचिव प्रेम बस्नेतले बताए।
प्रदेश खेलकुद विकास परिषदका जयप्रकाश भट्टराईले अब खेलकुद प्रतियोगितालाई हरेक स्थानीय सरकारले प्राथमिकताका साथ व्यवस्थित बनाउनुपर्ने बताए । प्रतियोगिता सञ्चालनका लागि बुटवल उपमहानगरले २० लाख र संघ सरकारको सशर्त अनुदानबापतको १ लाख गरी २१ लाख बजेट रहेको छ।
गत वर्षको रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले जितेको थियो । प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय दोश्रो र न्यु होराइजन माध्यमिक विद्यालय तेश्रो भएका थिए।