असंलग्न सम्मेलन : सार्कका बहुसंख्यक प्रतिनिधि विदेशमन्त्री, नेपालबाट प्रधानमन्त्री – Nepal Press

असंलग्न सम्मेलन : सार्कका बहुसंख्यक प्रतिनिधि विदेशमन्त्री, नेपालबाट प्रधानमन्त्री

असंलग्न राष्ट्रहरूको कुन सम्मेलन कहाँ ? (सूचीसहित)

काठमाडौं । पूर्वी अफ्रिकी भूपरिवेष्ठित देश युगाण्डामा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन आजबाट हुँदैछ । शिखर सम्मेलनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का बहुसंख्यक प्रतिनिधिहरू विदेशमन्त्री छन् । नेपालको प्रतिनिधित्व भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा भएको छ । भोलिसम्म चल्ने शिखर सम्मेलनमा १२० देश सहभागी छन् । पर्यवेक्षकको रूपमा रुस तथा ब्राजिललगायतका १८ देश छन् । पर्यवेक्षक संस्थाको रूपमा संयुक्त राष्ट्रसंघसहित १० विश्वका विभिन्न संस्थाको सहभागिता छ ।

दक्षिण एसियाका कुन देशबाट कसको प्रतिनिधित्व ?

नेपालबाट प्रधानमन्त्री प्रचण्ड पुगेको असंलग्न राष्ट्रहरूको सम्मेलनमा सार्क क्षेत्रको सबैभन्दा शक्तिशाली तथा असंलग्न राष्ट्रहरूको संस्थापकमध्येको एक भारतबाट विदेशमन्त्री एस. जयशंकरको प्रतिनिधित्व छ । उनी बिहीबार युगाण्डा पुगेका छन् । भारतीय प्रधानमन्त्री मोदीले १७ तथा १८ औँ सम्मेलनमा पनि आफ्नो उपस्थिति देखाएका थिएनन् । पाकिस्तानबाट पनि विदेशमन्त्रीस्तरकै उपस्थिति छ । पाकिस्तानका कामचलाउ विदेशमन्त्री जलिल अब्बास जिलानी मंगलबार युगाण्डा गएका थिए । हाल पाकिस्तान र इरानले एक-अर्काको भूमिमा आफूले व्याख्या गरेका आतंककारी क्षेत्रमा हमला गरेपछि पाकिस्तानी विदेशमन्त्रीले आफ्नो हप्ता दिने युगाण्डा भ्रमण छोट्याएर पाकिस्तान आउने भएका छन् ।

यस्तै भुटानको पनि शीर्ष प्रतिनिधित्व छैन । भुटानको विदेश मन्त्रालयको सूचनाअनुसार विदेश मन्त्रालयकी सचिव पेमा छोदेङको नेतृत्वमा भूटानी प्रतिनिधिमण्डल युगाण्डा पुगेको छ । बंगलादेशबाट पनि प्रधानमन्त्री तहको प्रतनिधित्व छैन । बंगलादेशका विदेशमन्त्री डा. हसन् महमदको नेतृत्वको प्रतिनिधिमण्डल रहेको छ । यस्तै माल्दिभ्सबाट भएको प्रनितिधित्वमा उपराष्ट्रपति जोडिएका छन् । माल्दिभ्सका उपराष्ट्रपति हुसेन महोमद लतिफले सहभागीता जनाउने भएका छन् । उनी बुधबार गएका हुन् । श्रीलंकाबाट भने राष्ट्रपति रनिल बिक्रमासिंगे नेतृत्वको श्रीलंकाली प्रतिनिधित्व युगाण्डामा छ । उनी बिहीबार युगाण्डा पुगेका छन् ।

दक्षिण एसियासका ८ देशको साझा संगठन सार्कका सबै देश असंलग्न राष्ट्रहरूको समूहमा जोडिएका छन् । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तान जोडिएर बनेको सार्कमा अफगानिस्तानबाहेक सबै देशका प्रतिनिधि युगाण्डा पुगेका छन् ।

कुन देशबाट को ?

नेपाल- प्रधानमन्त्री (प्रचण्ड)

भारत- विदेशमन्त्री (एस. जयशंकर)

पाकिस्तान- विदेशमन्त्री (जलिल अब्बास जिलानी)

भुटान- विदेश सचिव (पेमा छोदेङ)

बंगलादेश- विदेशमन्त्री (डाक्टर हसन् महमद)

माल्दिभ्स- उपराष्ट्रपति (हुसेन महोमद लतिफ)

श्रीलंका- राष्ट्रपति (रनिल विक्रमासिंगे)

असंलग्न राष्ट्रहरूको सम्मेलनको इतिहास

विश्वका देशहरू दुई महाशक्तिको गुटबन्दीमा विभक्त हुँदा ती दुवै गुटका कट्टर समर्थक नभएको देखाउन विश्वका दक्षिणी गोलार्द्धका देशहरूले गोलबन्ध भएको स्थापना गरेको अभियानको असंलग्न राष्ट्रहरूको सम्मेलन । यसको पहिलो औपचारिक सम्मेलन सन् १९६१ मा तत्कालीन युगोस्लाभियाको राजधानी बेलग्रेडमा भएको थियो । यसका संस्थापक देशहरूको संख्या २५ छ जसमा नेपाल पनि एक हो । दक्षिण एसियाबाट सहभागी चार देशका प्रतिनिधिमण्डल प्रमुखहरूमा नेपालका राजा महेन्द्र, भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु, श्रीलंकाकि प्रधानमन्त्री सिरिमाभो बन्दरानाइके तथा अफगानिस्तानका प्रधानमन्त्री महोमद दाउद खान सहभागी भएका थिए ।

सन् १९६१ सेप्टेम्बर १ देखी ६ सम्म भएको पहिलो शिखर सम्मेलनताका दक्षिण एसियामा बंगलादेश स्वतन्त्र देश नभएर पूर्वी पाकिस्तानको नाममा एक प्रान्तको रुपमा थियो । भुटान संयुक्त राष्ट्रसंघको सदस्य नै भएको थिए । असंलग्न देशहरूको सम्मेलनको एक दशक पछि मात्रै भुटान सन् १९७१ सेप्टेम्बर २१ म संयुक्त राष्ट्रसंघको १२८ औँ सदस्य देशको रूपमा सहभागी भएको थियो । माल्दिभ्स पनि संयुक्त राष्ट्रसंघमा जोडिको थिएन । त्यो बेलायती उपनिवेश नै थियो । माल्दिभ्स सन् १९६५ सेप्टेम्बर २१ म मात्रै संयुक्त राष्ट्रसंघमा जोडिएको थियो । संयुक्त राष्ट्रसंघको सदस्यता पाएर पनि पाकिस्तान भने पहिलो शिखर सम्मेलनमा गयल थियो ।

तत्कालीन विश्वका दुई महाशक्तिहरू अमेरिका र सोभियत युनियन थिए । यी दुई ध्रुमा विभक्त भएका थिए वा हुन बाध्य थिए । यी दुई ध्रुवभन्दा भिन्न तरिकाले आफ्नो परराष्ट्रनीति संचालन गर्ने उद्देश्य राखेका देशहरूले असंलग्न राष्ट्रको अभियान चलाएका थिए । यो अभियानमा सबैभन्दा अगाडि देखिने चिनिने नामहरूमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु, तत्कालीन युगोस्लाभियाका प्रधानमन्त्री जोसेफ ब्रोज टिटो, इन्डोनेसियाका राष्ट्रपति सुकार्नो र घानाका राष्ट्रपति क्वामा कुर्मा आदि थिए । पहिलो पुस्ताका नेताहरूमा यीनिहरूको नाम आएपनि दोस्रो पुस्ताका नामहरूमा नेपालका ऋषिकेश शाहको पनि नाम देखिने गरि आएको थियो । सन् १९६१ अक्टोबर २४ को टाइम म्यागाजिनले असंलग्न राष्ट्रहरूको सम्मेलनको सबैकाम दोस्रो पुस्ताका नेतृत्वहरू जस्तै बर्मा (हालको म्यानमार)का उ थान्तदेखि नेपालका ऋषिकेश शाह निर्णायक भएको लेखेको थियो । ऋषिकेश शाहको अंग्रेजी भाषामा प्रकाशन भएको पुस्तक ‘लुकिङ ब्याक एट माई ओन करिअर’ मा यसको चर्चा गरिएको छ ।

असंलग्न राष्ट्रहरूको पहिलो शिखर सम्मेलनले एसिया, अफ्रिका लगायतका धेरै क्षेत्रका देशहरूलाई औपनिवेशिक जालोबाट उन्मन ठूलो हौसला भएको बताइन्छ । असंलग्न राष्ट्रहरूको प्रथम सम्मेलनले धेरै देशहरूको स्वतन्त्रताको आन्दोलनमा देखिने सुनिने टेवा पुगेको बताइन्छ । असंलग्न राष्ट्रहरूको सम्मेलन भएको तीन दशमा कयौँ देशहरूले लगालग पाएको स्वतन्त्रताको एक खाले जस यो सम्मेलन र अभियानलाई जाने गरेको छ । पहिलो असंलग्न राष्ट्रहरूको सम्मेलन सन् १९६१ म भएपनि यसको प्रारम्भिक आधार भने सन् १९५५ मा इन्डोनेसिायमा भएको एसियाली तथा अफ्रिकि देशहरूको वाङदुङ
सम्मेलनलाई लिने गरेको छ । त्यो सम्मेलनले पारित गरेका १० सिद्धान्त जसलाई वाङदुङ सिद्धान्त पनि भनिने गरिन्छ, त्यसले असंलग्न राष्ट्रहरूको आन्दोलनलाई टेवा पुर्‍याएको बताइन्छ । वाङदुङ सिद्धान्तका १० बुँदा यस्ता थिएः

१. आधारभूत मानव अधिकार तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको सम्मान गर्ने ।

२. सबै देशहरूको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सम्मान गर्ने ।

३. सवै वर्ण तथा साना ठूला सबै देशहरूको समानताको सम्मान गर्ने ।

४. अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ।

५. संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित भएर सबै देशहरूले एक वा संयुक्त रुपमा आफ्नो प्रतिरक्षा गर्ने अधिकारको सम्मान गर्ने ।

६. कुनै महाशक्तिको विशेष स्वार्थहरूलाई पूरा गर्न खास सैन्य सन्धिहरू नगर्ने ।

७. कुनै पनि देशको राजनीतिक स्वतन्त्रता तथा भौगोलिक अखण्डताको विरुद्धमा कुनै कदम, धम्की वा हस्तक्षेप नगर्ने ।

८. सबै अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण तवरले समाधान गर्ने ।

९. आपसी सहकार्यको प्रवर्द्धन गर्ने ।

१०. न्याय तथा अन्तराष्ट्रिय उत्तरदायित्वको सम्मान गर्ने ।

नेपाल समेत सहभागी भएको वाङदुङ सम्मेलन तथा वाङदुङ सिद्धान्तको प्रतिफलस्वरुप भएको अर्को विशाल अभियान थियो असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन । सन् १९६१ मा पहलो सम्मेलन अहिले १९ औँ सम्मेलनमा आइपुगेको छ । जसमा नेपालको प्रतितिधित्व निरन्तर छ ।

असंलग्न राष्ट्रका १९ शिखर सम्मेलनः कुन सम्मेलन कहाँ भयो ?

शुक्रबार असंलग्न राष्ट्रहरूको १९ औँ शिखर सम्मेलन भएको छ । दक्षिण एसियामा यसका दुई सम्मेलन भएका थियो । यो सम्मेलन गर्नेहरूमा श्रीलंका र भारत थिए । श्रीलंकाले सन् १९७६ को सम्मेलनको आयोजना गरेको थियो भने भारतले सन् १९८३ मा आयोजना गरेको थियो ।

यी हुन् असंलग्न राष्ट्रहरूका १९ सम्मेलनका १९ आयोजक देश

  • पहिलो – सन् १९६१ सेप्टेम्बर १ देखि ६ सम्म – बेलग्रेड (युगोस्लाभिया)
  • दोस्रो- सन् १९६४ अक्टोबर ५ देखि १० सम्म – कायरो (संयुक्त अरब गणतन्त्र)
  • तेस्रो- सन् १९७० सेप्टेम्बर ८ देखि १० सम्म- लुसाका (जाम्बिया)
  • चौथो- सन् १९७४ सेप्टेम्बर ५ देखि ९ सम्म- अल्जियर्स (अल्जेरिया)
  • पाँचौँ – सन् १९७६ अगस्ट १६ देखि १९ सम्म- कोलम्बो (श्रीलंका)
  • छैटौँ – १९७९ सेप्टेम्बर ३ देखि ६ सम्म- हवाना (क्युवा)
  • सातौँ – सन् १९८३ मार्च ७ देखि १२ सम्म- नयाँ दिल्ली (भारत)
  • आठौँ – सन् १९८६ सेप्टेम्बर १ देखि ६ सम्म- हरारे (जिम्बाबे)
  • नवौँ – सन् १९८९ सेप्टेम्बर ४ देखि ७ सम्म- बेलग्रेड (युगोस्लाभिया)
  • दशौँ – सन् १९९२ सेप्टेम्बर १ देखि ६ सम्म- जकार्ता (इन्डोनेसिया)
  • एघारौँ – सन् १९९५ अक्टोबर १८ देखि २० सम्म- कार्तागेना (कोलम्बिया)
  • बाह्रौँ – सन् १९९८ सेप्टेम्बर २ देखि ३ सम्म- दुर्बन (दक्षिण अफ्रिका)
  • तेह्रौँ – सन् २००३ फेबु्रअरी २० देखि २५ सम्म- क्वालालम्पुर (मलेसिया)
  • चौधौँ – २००६ सेप्टेम्बर १५ देखि १६ सम्म- हवाना (क्युवा)
  • पन्ध्रौँ – सन् २००९ जुलाई ११ देखि १६ सम्म- सार्म एल शेख (इजिप्ट)
  • सोह्रौँ – सन् २०१२ अगस्ट २६ देखि ३१ सम्म- तेहरान (इरान)
  • सत्रौँ – सन् २०१६ सेप्टेम्बर १३ देखि १८ सम्म- पोर्लामार (भेनेजवेला)
  • अठारौँ – सन् २०१९ अक्टोबर २५ देखि २६ सम्म- बाकु (अजरबैजान)
  • उन्नाइसौँ- सन् २०२४ जनवरी १९ देखि २० सम्म- कम्पाला (युगाण्डा)

प्रतिक्रिया

2 thoughts on “असंलग्न सम्मेलन : सार्कका बहुसंख्यक प्रतिनिधि विदेशमन्त्री, नेपालबाट प्रधानमन्त्री

  1. २०२४ जनवरी हुनुपर्नेमा २०२५ जनवरी भएछ १९ औ सम्मेलन

  2. लुटन प्रधानमन्त्री भएकासँग अरू के आश गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर