धरान उपमहानगरको त्यो बैठक- जसले एक वडाध्यक्षलाई भाइरल बनायो
भाइरल वडाध्यक्ष मनोज भट्टराई भन्छन्- रजनीगन्धा खाएको हुँ, चुक्ली लाएको होइन
विराटनगर । धरान उपमहानगरपालिका-१७ का वडाध्यक्ष मनोज भट्टराई यतिबेला मेयर हर्क साम्पाङलाई नै बिर्साउने गरी सामाजिक सञ्जालमा छाएका छन् । उपमहानगरपालिकाको एउटा बैठकमा देखाएको हाउभाउको भिडिओ पोस्ट गर्दै उनलाई व्यापकरूपमा ट्रोल गरिएको छ ।
भाइरल भिडिओमा वडाध्यक्ष भट्टराईको हाउभाउ निकै रोचक देखिन्छ । मेयर हर्क साम्पाङविरुद्ध उपमेयर आइन्द्रविक्रम बेघा भिडिरहँदा उनी छेउमा बसेर रमाइरहेको प्रतीत हुन्छ । भट्टराई विवादमा सामेल छैनन्, तर हाउभाउले नै उनलाई भाइरल बनाएको हो । भिडिओ सेयर गर्नेहरूलाई उनलाई एउटा पात्र नभएर प्रवृत्तिको संज्ञा दिएका छन् ।
अरुबेला वडा अध्यक्ष र मेयर साम्पाङका बीचमा विवाद भइराख्ने भए पनि मेयर र उपमेयरबीच यसरी झगडा भएको देखिएको थिएन । वडाध्यक्षहरूले मेयरको आलोचना गर्दा उपमेयर बेघा कहिले मुसुमुसु हाँस्थे त कहिले विवाद मिलाउन सहजीकरण गर्थे ।
आइतबारको बैठकमा भने आइन्द्र आफ्नो शान्त स्वभावविपरीत मेयर साम्पाङसँग निरन्तर जङ्गिए । आफूमाथि लागेको आरोप पुष्टि गर्न माग गर्दै बेघाले कार्यपालिका बैठक सञ्चालन हुन नदिने अडानसमेत लिए । साम्पाङ भने रक्षात्मक देखिन्थे ।
बेघाको आक्रोशको कारण थियो मेयर साम्पाङले गत जनवरी २ मा आफ्नो फेसबुक पेजमा सेयर गरेको एउटा भिडिओ । राजु दर्नाल नामक युट्यूवरले उपमेयर बेघामाथि लाञ्छना लगाएर गरेर एउटा भिडिओ बनाएका छन् । दर्नालले बनाएको भिडिओको थम्वनेलमा नै ‘उपमेयर पहिलेदेखि नै विषालु’ भनेर लेखिएको छ । विदेशमा बस्न ती युट्यूवरले भिडिओमा उपमेयरले मेयरलाई असहयोग गरिरहेको बताएका छन् ।
यस्तो भिडिओ मेयरले नै आफ्नो फेसबुकमा सेयर गरेपछि उपमेयरको ब्लड प्रेसर बढ्नु स्वाभाविक पनि थियो । मेयर सम्पाङका कडा विरोधी वडाध्यक्ष भट्टराईले पहिलोपटक मेयरविरुद्ध उपमेयर पड्केपछि आफ्नो खुशी लुकाउन सकेनन् ।
धरान कार्यपालिका बैठकको दृष्य एकपटक पुनःस्मरणका लागि :
मेयर सम्पाङलाई अध्यक्षको आसन ग्रहण गराउँदै प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठक सुरू गर्छिन् । उनले एजेन्डासहित बैठक अघि बढाउन साम्पाङलाई अनुरोध गरेपछि उपमेयर बेघाले बोल्न समय माग्छन् ।
‘म एक दुईवटा विषयवस्तुबारे ध्यानाकर्षण गराउन चाहन्छु,’ उपमेयरले भनेपछि पानीको बोतलको बिर्को उघार्दै मेयरले अनुमति दिन्छन् ।
बेघाले सुरूमा ‘फोटो काण्ड’ को कुरा निकाल्छन् । साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएकोमा आपत्ति प्रकट गर्छन् ।
उनको भनाइ यस्तो थियोः
‘तपाईंले नगरप्रमुख भएको १८ महिनापछि घोषणा नै गरेर राष्ट्रपति र प्रधानमन्त्रीज्यूको फोटो हटाउनुभएको छ । आज कार्यपालिकाको बैठक हलमा चाहीँ टाँसिएको रहेछ, खुशी लाग्यो । मैले आफ्नो कार्यकक्षबाट हटाएको छैन, राखिरहेको छु । मैले चैँ किन राखेको भने यो संविधानले परिकल्पना गरेको अविभावकहरूको सम्मानस्वरूप राखेको हो । फोटो हटेदेखि म उहाँको कार्यकक्षमा छिरेको छैन । सामाजिक सञ्जालमा थुप्रैवटा के-के राखेको देखेको थिएँ । यो गलत भएको छ । यति कुरा गर्दा मलाई गालीको वर्षा हुन्छ भन्ने थाहा छ । तर, जुनसुकै गाली खान पनि तयार छु । यो मट्याङ्ग्रा-गुलेली हानेर ल्याएको व्यवस्था होइन ।’
त्यसपछि उनी आफ्नो दोस्रो मुद्दामा जान्छन् ।
‘तपाईंले माघ १७ गते एउटा पोस्ट गर्नुभएको छ । नगर उपप्रमुखले तपाईंलाई कुन-कुन कुरामा असहयोग गर्यो ? त्यो अहिले पुष्टि गर्नुस । आजै, अहिल्यै । नत्र म यहाँबाट उठ्दिन । यो कार्यपालिकामा अवरोध गरिस् भनेर जवाफ दिनुस् । तपाईंजस्तो जिम्मेवार व्यक्तिले सिरानीमा सँगै सुतेको मान्छेलाई मुड्की हान्ने हान्ने हो ? कहिले माथि प्रधानमन्त्रीलाई तानेर मुड्की हान्नु हुन्छ । कहिले प्रदेश सरकारमा जानुहुन्छ र मन्त्रीलाई मुड्की हान्नुहुन्छ । छेउमा बसेको कार्यपालिका सदस्यलाई मुड्की हान्नुहुन्छ । सँगै सुतेको उपमेयरलाई खुट्टा बोकाउनुहुन्छ । भुँडीमा प्याच्च घोचिदिनुहुन्छ । यो तरिकाले कसरी धरान नगर अगाडि बढ्छ ? हाम्रो सुझाव-सल्लाह मान्नुहुन्न । अहिले तपाईंको सबैभन्दा नजिकको मान्छे म हो । तर, तपाईंले मसित छलफल-संवाद कति गर्नुहुन्छ ? सिरानीभरि सीसा राखेर सुत्न सकिन्छ ? निद्रा पुग्छ ? जवाफ दिनुस् । नत्र म यत्तिकै बोलिराख्छु । निकालेर बाहिर लगे हुन्छ । मैले तपाईंको कुन कार्यपालिका वैठकमा सहयोग गरेँ ? जे पायो त्यही बोल्न पाइन्छ ? चल्दैन यो बैठक, म कराइराख्छु । यो बैठक चल्दैन ।’
उपमेयर लगातार भुत्भुताइरहँदा मुसुमुसु हाँस्दै सुनिरन्छन् मेयर साम्पाङ । सामाजिक सञ्जालमा उत्तेजना र आक्रोश देखाउने उनी कार्यपालिका बैठकमा भने प्राय संसमित नै देखिने गर्छन् ।
उपमेयरको गालीको रफ्तार म भएपछि उनले मुख खोले, ‘अब तपाईंको उत्तर दिने होला नि त मैले ।’
उपमेयर- हो, आजै अहिल्यै । नत्र म कराइराख्छु ।
मेयर : मलाई त कसैले असहयोग गरेको छैन । सबैले सहयोगै गर्या छ । असहयोग, असहमति विरोध अलोचना भरहन्छ । त्यसलाई अस्वभाविक मान्दिनँ । मैले कसैको भुँडीमा घोच्या पनि छैन ।
उपमेयरमेयरः मैले तपाईंलाई असहयोग कहाँ गरेँ भन्नुपर्यो । फोसबुक पोस्टमा के राखेको हो ? त्यसमा ७ सयभन्दा बढी लायक छैन ।
उपमेयर बेघाले टेबलबाट मोबाइल उठाउँछन् । र, मेयरलाई देखाउँछन् ।
उपमेयरः यो के सेयर गर्या ? जवाफ दिनुस । आजै अहिल्यै ?
मेयरः के गर्या छु र ? यो सेयर गर्दा के भो त ?
उपमेयर : के हुनु ? यही भो । म कराइराख्छु ।
मेयरले फोटोको प्रसंगमा जवाफ दिन खोज्छन् । आफ्नो कार्यकक्षमा कसको फोटो राख्ने भन्ने आफ्नो स्वविवेकको कुरा भएको उनको भनाइ थियो । तर, उपमेयरले चाहीँ असहयोगको विषयमा जवाफ दिन जोड गरिरहन्छन् ।
त्यसपछि साम्पाङ भन्छन्, ‘तपाईंले मेरो कार्यकक्षबाट फोटो हटाइएको विषयमा किन क्षमायाचना गर्नुभो ? तपाईंसित त्यो अधिकार छ ? तपाईं प्रमुख कि म ? मेयरकै विरुद्धमा विज्ञप्ति निकाल्नु असहयोग होइन ?
(मेयरले फोटो हटाएको विषयमा समाचारहरू आएपछि उपमेयर बेघाले विज्ञप्ति नै निकालेर आफ्नो तर्फबाट क्षमायाचना गरेका थिए)
मेयरको यो आरोपछि भने उपमेयर प्रतिरक्षात्मक बन्छन् । उनी भन्छन्, ‘मैले फोटो हटाउनुस् भनेको छैन । तर, क्षमायाचना गर्ने मेरो अधिकार हो । म पनि निर्वाचित उपमेयर हो ।
मेयर : तपाईंले लेटरहेडको दुरूपयोग गर्नुभो । मेयर ठूलो कि उपमेयर ?
उपमेयर : म पनि ठूलो हो । मैले तपाईंको कुरा मान्नुपर्छ भन्ने जरुरी छैन । कानूनबाहिर तपाई.को आदेश मान्दिनँ ।
मेयरः तपाईंले मान्नुपर्छ । म नेता हो, तपाईं उपनेता । नगरप्रमुखले शीर निहुर्यायो भनेर तपाईंले मेरो ऊ गर्नुभो ।
उपमेयर : के ऊ गरेँ ?
मेयरः मलाई असहयोग गर्नुभो ।
उपमेयरः तपाईं घरि धरानलाई स्वायत्त राज्य बनाउँछु भन्ने, घरि फोटो हटाउने । त्यो गर्न मिल्छ ? अनि त्यो मेरो विरुद्ध बनाएको भिडिओ किन सेयर गर्नुभो ?
मेयर : के भो त ? मन लाग्यो सेयर गरेँ ।
उपमेयर : त्यसो भए पुष्टि गर्नुस्
मेयरः जसले बनाएको हो उसैलाई भन्नुस । मैले बनाएको होइन ।
वडाध्यक्ष भट्टराईको रोचक ‘बडील्याङ्वेज’
कुरा गरौं वडाध्यक्ष भट्टराईको । कालोसेतो बुट्टा भएको गलबन्दी घाँटीमा बेरेर उनी उपमेयरको आडैमा बसेका थिए । बैठकको सुरूमा उनी झ्याउ मानिरहेका देखिन्छन् । टाउको समातेर उँघ्छन् पनि । केही नलगाएर कोटको गोजीबाट केही निकाल्छन्, टेबुलमुनि दुई हातले माडेर मुखमा फ्वाक्क पार्छन् । बल्ल अलि चंगा महसुस गर्छन् ।
मेयरविरुद्ध उपमेयरको आक्रोश चर्को बन्दै जाँदा वडाध्यक्ष भट्टराईको अनुहारमा चमक छाउँछ । उपमेयरले आफ्नो मोबाइल उठाएर मेयरले सेयर गरेको भिडियो निकाल्न खोजेपछि भट्टराई पनि कुर्सीबाट जुरुक्क उठेछन् । घाँटी तनक्क पारेर हेर्छन्, अनि औंलाले मोबाइलमा केही औंल्याउँछन् । त्यसपछि गजक्क परेर अर्कोतिर मुन्टो बटार्छन् । अनि, अगाडि कसैलाई आँखा सन्काएर केही इसारा गर्छन् । उनको भाव हेर्दा ‘भिडे … भिडे…’ भन्दै खुशी भएकोजस्तो महसुस हुन्छ ।
दुवैजनाबीच भनाभन भएपछि धरान १६ का वडाध्यक्ष प्रवीण राईले मेयर-उपमेयरलाई विवाद मिलाएर आउन सुझाव दिए । भिडिओमा चाम्लिङले ‘यहाँ व्यक्तिगत विवाद नगर्नुस्, बाहिर मिलाएर आउनुस्’ भनेपछि भट्टराईले ‘हुन्दिनु, बाझुन् न’ भनेकोजस्तो हाउभाउ देखाएका छन् । उठेर ‘ठीक भो’ भन्दै औला देखाउँछन् । यही बडील्याङ्वेजले उनलाई ट्रोलको शिकार बनाइरहेको छ ।
सुरूबाटै साम्पाङसँग टकराव
माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भट्टराई धरान उपमहानगरका प्रवक्तासमेत हुन् । तर, निर्वाचन जितेसँगै मेयर साम्पाङ र भट्टराईबीचमा सम्बन्ध राम्रो भएन ।
भट्टराईले खोलाजन्य पदार्थ दहतर बहत्तरको ठेक्का लगाउने विषय कार्यपालिका बैठकमा लगेका थिए । तर, साम्पाङले प्राकृतिक श्रोत-साधनको दोहन भएको भन्दै खोला ठेक्का नलगाउने अडानमा लिएपछि भट्टराईसँग विवाद सुरू भयो । उनी भने आयस्रोत भएकाले खोला ठेक्का लगाउनु पर्छ भन्ने पक्षमा थिए । साम्पाङ समर्थकहरूले भट्टराई आफैं ठेकेदार भएकाले ढुङ्गागिट्टी बालुवामा चलखेल गर्न नपाएकाले विरोध गरेको आरोप लगाए ।
यो विषयको विवाद बढ्दै गएपछि हर्क साम्पाङ समर्थकहरूले खोला ठेक्का लगाउन नहुने भन्दै कार्यपालिका बैठक भएको दिन उपमहानगरपालिका अगाडि धर्ना दिन थाले । खोला ठेक्काको विषय विवादमा आइरहँदा धरान १७ मा रहेको सप्तरङ्गी पार्कका विषयमा पनि विवाद सुरू भयो । २० वर्षअगाडि बनेको सप्तरङ्गी पार्कलाई मेयर साम्पाङले बहुजातीय पार्क बनाउन निर्णय गरेका थिए । भट्टराईले भने सप्तरङ्गी पार्क नै नाम राख्नुपर्ने अडान राखे ।
सप्तरङ्गी पार्कलाई बहुजातीय पार्क बनाउनु नहुने विषयमा कार्यपालिका सदस्य अनुप देवानले कार्यपालिका बैठक राख्ने क्रममा साम्पाङले उनलाई बोल्न दिएनन् । उनले नगर प्रहरी लगाएर देवानलाई बाहिर निकालेपछि कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरे । यो क्रम लामो समयसम्म चल्यो । अहिले पनि भट्टराईलाई ठेक्का पट्टा नपाएपछि मेयरको विरोध गरेको आरोप लगाउने गरिएको छ ।
भट्टराई भन्छन्ः रजनिगन्धा खाएको हुँ, चुक्ली गरेको छैन
वडाध्यक्ष भट्टराई अहिले काठमाडौं पुगेका छन् । भिडिओ भाइरल भएपछि युट्यूवरलाई लाइन लगाएर अन्तर्वार्ता दिन भनेर उनी काठमाडौं गएका भने होइनन् । खासमा उनले यो विषयमा कसैसँग बोल्न चाहेका पनि छैनन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गरिदिन माग राख्दै धरानबाट गएको राजनीतिक दलको टोलीमा उनी काठमाडौं उक्लेका हुन् ।
उनी आफ्नो विषयमा भइरहेका ट्रोल र आलोचनाबाट कत्ति पनि परेशान छैनन् । राजनीतिक गर्नेलाई यस्ता आरोप लाग्नु स्वाभाविक भएको उनी बताउँछन् । आफूले व्यक्तिको भन्दा पनि विषयको विरोध गरेको उनको भनाइ छ ।
‘कुनै पनि काम संस्थागत गरिनुपर्छ भन्ने हो । उपमहानगर संस्था भएकाले संस्था प्रमुखले गर्ने काम पनि संस्थागत होस भनेर मैले कुरा राख्ने गरेको छु,’ भट्टराईले भने ।
आइतबार भएको कार्यपालिकाको बैठकमा आफूले १६ नम्बरका अध्यक्षलाई ‘मेयर/उपमेयरबीच भएको कुराकानी चल्न दिनुस्’ भनेर हातले इशारा गरेको उनले दाबी गरे ।
भट्टराईले भने, ‘मैले ठीक छ, उहाँहरू (मेयर-उपमेयरको ) कुरा सकिन दिनुस् भनेको हो । यसैलाई भाइरल बनाइयो । मलाइ खास फरक परेको छैन ।’
उनले यो विषयमा थप बोल्न चाहेनन् । एउटा युट्यूव च्यानललाई हिजो दिएको अन्तर्वार्तामा भट्टराईले बैठकका क्रममा आफूले रजनिगन्धा खाएको स्वीकारोक्ति गरेका छन् ।
उनले भनेका छन्, ‘मैले पान खाएँ भनिरहेका छन् । त्यो होइन । रजनीगन्धा खाएको हुँ । बैठकमा खानु हुँदैनथ्यो होला । यसमा गल्ती स्वीकारेको छु । तर, मैले उपमेयरलाई चुक्ली लगाएको भन्ने गलत हो । मैले केही बोलेको सुनिएको छ र ?’
भट्टराई थप्छन्, ‘म अलिक होचो भएकाले यस्सो घाँटी तन्काएर हेरेकोमात्रै थिएँ । आँखा चम्काएको र विभिन्न हाउभाउ चाहीँ अरुले एडिट गरेर बनाएका हुन् ।’
उनले मेयर सम्पाङलाई स्वतन्त्र भन्न नमिल्ने पनि बताएका छन् । साम्पाङको नेतृत्वमा एउटा राजनीतिक पार्टी पहिल्यै दर्ता रहेको उनको दाबी छ ।
‘उहाँ स्वतन्त्र मेयर होइन । पार्टी दर्ता छ, त्यसको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । २०७६ सालभन्दा अगाडि नै पार्टी दर्ता गर्नुभएको थियो । यसअघिको स्थानीय चुनाव पनि त्यही पार्टीबाट लड्नुभएको हो । चार सय जति भोट आएको थियो होला’ उनले भने ।
वडाध्यक्ष भट्टराईको कोठामा उमेयर पुगेको र ओछ्यानमै बसेर कुराकानी गरेको एउटा तस्बिर पनि भाइरल छ । यो तस्बिरलाई देखाएर कतिपयले यही बेला उपमेयर र वडाध्यक्षबीच मेयरलाई ठेगान लगाउने कुराकानी भएको दाबी गरेका छन् । तस्बिरमा भट्टराई स्यान्डो गन्जिमा देखिन्छन् ।
भट्टराईका अनुसार यो नौ महिना पुरानो तस्बिर हो ।
उनले भने, ‘म बिरामी भएर १५ दिन थला परेको थिएँ । उपमेयर, वडासदस्य, हेडमास्टरज्यूलगायत सामूहिकरूपमा भेट्न आउनुभएको थियो । म बल्लतल्ल ओछ्यानमा बसेर कुरा गरेको थिएँ ।’
वडाध्यक्ष भट्टराई र उपमेयर बेघा दुवै माओवादीबाट निर्वाचित हुन् ।