अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा, शुद्धोधन गाउँपालिकाले दियो बिदा
रूपन्देही । भारतको राम मन्दिरमा प्राणप्रतिष्ठा पूजाको दिन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले बिदा दिएको छ । अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले सोमबार स्थानीय बिदा दिएको हो ।
गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको बताए । गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्ष मण्डलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ । भारतमा हुने कार्यक्रममा यहाँको पालिकामा बिदा दिएको भन्दै आलोचना पनि भइरहेको छ ।