नेकपा ब्यूँताउनुपर्छ भन्नेलाई शंकर पोखरलेको जवाफ- अब फेरि नेताका टाउका जोड्ने गल्ती गर्दैनौं
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताका टाउको जोडेर बनाएको नेकपा नटिकेपछि फेरि त्यही गल्ती नदोहोर्याउने बताएका छन् ।
पार्टी कार्यालय च्यालयमा आयोजित कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनालको अवसरवाद सिकार हुँदा नेकपा नटिकेको आरोप लगाए ।
त्यसबारे उनको भनाइः
अब हामीले राजनीतिक ध्रुविकरणको यात्रा तय गर्नुपर्छ। एक समय हामीले एउटा प्रयोग गर्यौं नेतृत्वलाई जोडेर पार्टीलाई बलियो बनाउन नेकपा बनायौं । तर, सफल हुन सकेन। यद्यपी, हाम्रो प्रयास मुलुकमा बलियो कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने र समाजवाद निर्माणको आधार तयार गर्ने उद्देश्य अन्तर्गत हामीले एकता गरेका थियौं ।
तर, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जस्ता व्यक्तिहरु राजनीतिक अवसरवाद सिकार हुँदा नेकपा निर्माणको हाम्रो सदासयता दुर्घटनामा पर्यो । अहिले पनि कतिपयले भन्ने गर्नुहुन्छ त्यो दुर्घटनाबाट आन्दोनलाई जोगाउने हो भने फेरि एकताको बाटो अबलम्बन गर्नुपर्छ भन्ने गर्नुहुन्छ ।
तर, अब हामीले फेरि वामपन्थी एकता भनेर नेताका टाउको जोड्ने प्रयत्न गर्यौं भने कुनै सान्दर्भिकता हुँदैन । त्यसले कुनै राष्ट्रिय सामर्थको शक्ति निर्माण गर्न सक्दैन । त्यस अर्थमा अब नेताका टाउका होइन कार्यकर्ताको मन जोड्नुपर्छ । त्यही अभियानमा अहिले तपाईंहरु एमालेमा जोडिनुभएको छ ।