मापदण्डविनै जिल्ला अधिवेशन गरेपछि एमाले हाइकमाण्डको परिपत्र- विधान अक्षरस पालना गर्नू – Nepal Press

मापदण्डविनै जिल्ला अधिवेशन गरेपछि एमाले हाइकमाण्डको परिपत्र- विधान अक्षरस पालना गर्नू

काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन सुव्यवस्थित गर्नको लागि प्रदृेश र जिल्ला कमिटीलाई परिपत्र पठाएको छ । महासचिव शंकर पोखरेलले परिपत्र पठाउँदै जिल्ला अधिवेशनसँगै पार्टी पालिका/इलाका, वडा/शाखा र टोल अधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

परिपत्रमा भनिएको छ, ‘एकातिर पार्टी वैचारिक, राजनीतिक र सङ्गठनात्मक रुपमा पार्टी अध्यक्षको नेतृत्वमा एकताबद्ध रुपमा क्रियाशील भइरहेको छ, अर्कातिर स्थानीयस्तरमा उत्पन्न मतभेदले पार्टीको सङ्गठनात्मक जीवनलाई प्रभावित गरिरहको पनि देखिन्छ । गएका दुईवटा चुनावको परिणामसमेत आन्तरिक कारणले प्रभावित भएको अनुभूति पार्टीपङ्क्तिलाई भएकै छ । भविष्यमा त्यस्तो स्थिति आउन नदिनका लागि आसन्न अधिवेशनहरुलाई सुव्यवस्थितरुपमा सम्पन्न गर्न जोडदिनु पर्दछ ।’

मुलुक प्रादेशिक संरचनामा गएपछि गठन गरिएका प्रदेश कमिटीहरुका अधिवेशन तोकिएकै समयमा सम्पन्न भएको उल्लेख गर्दै ०८१ साल जेठ मसान्तसम्म जिल्ला अधिवेशनहरु सम्पन्न गर्नेगरी तयारीमा जुट्न भनेका छन् ।

विगतमा अधिवेशनको आयोजना गरिरहँदा प्रतिनिधि छनौट, बन्दसत्रको व्यवस्थापन र नेतृत्व चयनजस्ता विषयमा एकरुपता कायम हुन नसकेको र कतिपय ठाँउमा विवादसमेत सिर्जना स्मरण गर्दै पार्टी विधान, नियमावली र पार्टी केन्द्रीय कमिटीबाट जारी भएका निर्देशन अनुसार चल्न निर्देशन दिएको छ।

‘पार्टीको जिल्ला अधिवेशन आयोजनाका सन्दर्भमा पार्टी विधान तथा नियमावलीको अक्षर र भावनालाई सर्वोपरी ध्यानमा राखी तयारीमा जुट्ने । पार्टी विधानको धारा ३४ देखि ३८ सम्म र नियमावलीको धारा ११ ले जिल्ला अधिवेशनका सम्बन्धमा गरेको स्पष्ट मार्गदर्शनलाई ध्यान दिने । जिल्ला अधिवेशनको उम्मेदवारको योग्यताबारे विधानको धारा ६३ को १०, ११ र १२ तथा समावेशीताका विषयमा धारा ६२ मा उल्लेख गरिएको छ । जिल्ला र मातहत कमिटीका अधिवेशनहरु गर्दा सोहीअनुसार गर्ने÷गराउने’ परिपत्रमा भनिएको छ ।

अधिवेशन आयोजना गर्ने जिल्ला कमिटीहरुले केन्द्रीय सङ्गठन विभागबाट पछिल्लोपटक प्रमाणिकरण गरिएको नवीकृत पार्टी सदस्यहरुको सूचिलाई नै आधार मानेर अधिवेशनको प्रक्रिया अघि बढाउने भनेको छ ।

उम्मेदवारको मापदण्ड तोक्यो

पार्टी विधानको धारा ६३ (१०) मा जिल्ला र सो मातहतका कमिटी, निकाय वा विभागको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेद्वार हुने मापदण्ड तोक्ने अधिकार सम्बन्धित तहको अधिवेशनलाई प्रदान गरेको महासचिव पोखरेलले जारी गरेको मापदण्डमा उल्लेख छ ।

कतिपय ठाउँमा मापदण्ड नै नतोकी अधिवेशन गर्ने गरिएको पाइएकोले अधिवेशन आयोजना गर्दा उम्मेद्वारका लागि तीन बुँदे मापदण्ड तोकेको छ ।

१) जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन कम्तिमा पार्टी सदस्य भएको ५ वर्ष पुगेको र एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सो सरहको भूमिका निर्वाह गरेको हुनुपर्ने ।

२) जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको कम्तिमा ३ वर्षको समयावधि पुरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने ।

३) प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उमेद्वार बन्न नमिल्ने बारे यसअघिको केन्द्रीय कमिटीको निर्देशनलाई कार्यान्वयन गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर