कांग्रेस सभापति देउवाका भान्जासहित आयल निगमको कार्यकारी निर्देशकमा १३ जनाको आवेदन स्वीकृत – Nepal Press

कांग्रेस सभापति देउवाका भान्जासहित आयल निगमको कार्यकारी निर्देशकमा १३ जनाको आवेदन स्वीकृत

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकामध्ये १३ जनाको नाम स्वीकृत भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस सात गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको समय सीमामा विभिन्न क्षेत्रमा क्रियाशील १३ जनाको नाम स्वीकृत भएको हो ।

मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका-३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका-८, काठमाडौंका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका-१४, चितवनका इन्जियिनर डा. डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका-८, काठमाडौंका इन्जिनियर सहदेव चन्द, विराटनगर महानगरपालिका-१३, मोरङका पङ्कजकुमार दास र धनुषाधाम नगरपालिका-२ का रामदेव यादवले दिएको आवेदन स्वीकृत भएको छ ।

यस्तै, राजविराज नगरपालिका-१३, सप्तरीका सञ्जीवकुमार देव, टोखा नगरपालिका-६, काठमाडौंका दिलीपशेखर श्रेष्ठ, विराटनगर महानगरपालिका-३, मोरङका माधव रेग्मी, भीमसेन थापा नगरपालिका-१, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर नगरपालिका-८, दाङका वसन्तकुमार पाण्डे, बाग्लुङ नगरपालिका-९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका-२४ का शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् ।

निवेदन दिएकामध्ये सहदेव चन्द कांग्रेस सभापति शेरबहादुर देउवाका आफ्नै भान्जा रहेको बुझिएको छ । कम्प्युटर इन्जिनियर चन्द अहिले नेपाल राष्ट्र बैंकमा निर्देशक पदमा कार्यरत रहेका छन् ।

गोरखाका भट्ट उद्योग मन्त्रालय मातहतकै विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक रहेका छन् । डा. भट्ट २०७५ सालदेखि अहिलेसम्म दरखास्त आह्वान गरिएका तीन वटै सूचनामा निवेदन दिने उम्मेदवारसमेत रहेका छन् ।

त्यस्तै, उम्मेदवार पाण्डे हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकको रूपमा कार्यरत छन् । पाण्डे २०७८ चैतमा हेटौडा सिमेन्टको महाप्रबन्धक नियुक्त भएका थिए । श्रेष्ठ सहसचिवबाट अवकाश प्राप्त सिभिल इन्जिनियर हुन् ।

उनी सहरी विकास मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागको उप महानिर्देशकबाट अवकाश पाएका थिए । यस्तै पुडासैनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत रहँदा सहसचिवबाटै अनिवार्य अवकाश पाएका थिए ।

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक २०७५ साल यता खुला प्रतिस्पर्धाबाट छनौट गर्दै आएको छ ।

मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्माको नेतृत्वमा गठित छनौट समितिले निवेदन दिएका उम्मेदवारलाई अन्तर्वार्ता र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नेछ ।

तीन जनामध्ये उपयुक्त र योग्य एक जनालाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ ।

निगमको कार्यकारी निर्देशकले मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब सुविधा लिने गरेका छन् भने अन्य धेरै सेवा–सुविधा हुने गरेका कारण पनि यो पद आकर्षक मानिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर