आफ्नै सेवा सुविधा कटौती गर्ने गौरादहका जनप्रतिनिधिको निर्णय, उपमेयर जलवर्षाले राखिन् प्रस्ताव
झापा । झापाको गौरादह नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा कटौती गर्ने भएको छ । नगरपालिकाको तेह्रौँ नगर सभामा उपमेयर जलवर्षा राजवंशी चौधरीले प्रशासनिक खर्च कटौती गर्ने प्रस्ताव पेश गरेकी थिइन् ।
नगरपालिकाका जनप्रतिनिधिले मासिक एक पटकको मात्रै बैठक भत्ता प्राप्त गर्ने गरी उनले सभामा प्रस्ताव लगेकी छिन् ।
यसअघि मासिक २ वटा बैठक भत्ता जनप्रतिनिधिले बुझ्दै आएका थिए । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले नागरिकको सुझावलाई ध्यान दिँदै सुविधा कटौती गर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार वडा स्तरमा भएका जनतासँगको अन्तक्रियाका क्रममा आएका सुझावलाई ध्यान दिँदै अब जतिवटा बैठक बसे पनि एउटा मात्रै बैठकको भत्ता पाइने छ । सुवेदीका अनुसार नगर सभामा चालु खर्चलाई घटाउँदै पुजिँगत खर्चमा जोड दिइने बताए ।
गौरादह नगरपालिकाका ५० जना जनप्रतिनिधिले अब मासिक एउटा भत्ताको मात्रै रकम पाउने छन् । नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जनताको सेवामा क्रियाशील जनप्रतिनिधिले जनताको सेवा सुविधामा मात्रै ध्यान दिनुपर्ने बताए । उनले सभाले अन्य धेरै प्रशासनिक खर्च कटौती गरी भौतिक निर्माणमा केन्द्रित गर्ने निर्णय गर्ने विश्वास व्यक्त गरे ।
नगरपालिकामा प्रमुख, उपप्रमुख सहित बहुमत कार्यपालिका सदस्य नेकपा एमालेबाट निर्वाचित छन् । नगर सभाको तेस्रो बैठक माघ ९ गते बस्दै छ ।