भारतको मन्दिरमा प्राणप्रतिष्ठा, नेपालमा थरिथरि तमासा – Nepal Press

भारतको मन्दिरमा प्राणप्रतिष्ठा, नेपालमा थरिथरि तमासा

मोदीको धर्मराजनीतिमा कसरी प्रयोग भइरहेका छन् नेपालका स्थानीय सरकार?

काठमाडौं । भारत सरकारले अयोध्यामा निर्माण गरेको राम मन्दिरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा भोलि प्राणप्रतिष्ठा गरिँदैछ । भारतको आन्तरिक सरोकारको यो कार्यक्रमप्रति नेपालका केही स्थानीय तहहरुले असामान्य र आपत्तिजनक उत्साह देखाएका छन् ।
अध्योध्याको राम मन्दिर भारतमा लामो समयदेखि हिन्दू मुस्लिम द्वन्द्वको एउटा जडका रुपमा रहँदै आएको थियो । यो ठाउँमा पहिले बाबरी मस्जिद थियो । तर, त्रेतायुगमा भगवान राम जन्मेको ठाउँमा भन्दै हिन्दूवादी कार्यकर्ताहरुले सन् १९९२ मा मस्जिद ध्वस्त पारेका थिए । त्यसपछि उत्पन्न भएको धार्मिक दंगामा हजारौंको ज्यान गयो ।

सन् २०१९ मा भारतीय सर्वोच्च अदालतले उक्त निर्माणस्थल हिन्दूको भएको विवादास्पद फैसला सुनायो । त्यही फैसलाको आडमा भारतको हिन्दूवादी भारतीय जनता पार्टीको सरकारले भव्य राम मन्दिर निर्माण गरेको हो । निर्माण कार्य अहिले पनि जारी छ ।

तर, तेस्रोपटक भारतको प्रधानमन्त्री बन्ने योजनामा रहेका मोदीले यो मन्दिरलाई भोट आफ्नो चुनावी अभियानको एउटा एजेन्डा बनाउन चाहेका छन् । उनी राम मन्दिर बनाउने आफ्नो पुरानो प्रतिवद्धता पूरा गरेको भन्दै जनतामा जान चाहन्छन् । त्यसैले निर्माणाधीन अवस्थामै प्राणप्रतिष्ठा गराउन हतारिएका हुन्, जसरी नेपालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले निर्माण पूरा नभइ धरहरा उद्घाटन गरेका थिए ।

भारतका विपक्षी दलहरुले यो मन्दिर निर्माणलाई मोदीको ‘राजनीतिक परियोजना’ को संज्ञा दिँदै कार्यक्रम बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । तर भारतको सरकारले यो कार्यक्रमलाई अत्यधिक महत्व दिएको छ र त्यहाँका गोदी मिडिया भनेर चिनिने मुस्लिमविरोधी सञ्चारमाध्यमहरुको साथ उसलाई छ । मोदीले यो मन्दिरबाट राजनीतिक लाभ लिएर २०२४ को चुनावमा ‘ल्यान्डस्लाइड भिक्ट्री’ हासिल गर्न सक्ने भविष्यवाणी विश्वभरका सञ्चारमाध्यमले गरिरहेका छन् ।

यता मुस्लिम समुदाय भने क्रोधित र भयग्रस्त अवस्थामा छन् । उनीहरुको लागि बाबरी मस्जिदको भग्नावशेष एउटा चहर्याइरहेको घाउजस्तो थियो । अब त्यही ठाउँमा मन्दिर बन्दा उनीहरुले घाउमा नुन छर्किएको महसुस गरिरहेका छन् । त्यसैले यो मन्दिर निर्माणले भारतमा हिन्दू–मुस्लिम द्वन्द्वको नयाँ श्रृंखला आरम्भ गर्न सक्ने आँकलन पनि गरिँदैछ ।

भारतीय संस्थापनको धर्मराजनीतिको हिस्सा बनिरहेको मन्दिर निर्माणको विषयमा नेपाल अहिलेसम्म निरपेक्ष छ । नेपालले सरोकार देखाइरहनुपर्ने विषय पनि होइन यो । तर, भारतमा पानी पर्दा नेपालमा छाता ओढ्ने प्रवृत्ति देखाउँदै केही स्थानीय तहले आपत्तिजनकरुपमा भोलि सार्वजनिक विदा दिएका छन् । साथै, जनतालाई उत्सव मनाउन अपिल समेत गरेका छन् ।

मधेस प्रदेशमा विभिन्न तरिकाले उत्सव मनाउन प्रदेश सरकार र स्थानीय सरकार नै भिडेका छन् । कतै हनुमान आराधाना, हनुमान चालिसा पाठ, राम धुनजस्ता धार्मिक अनुष्ठानको तयारी भइरहेका छन् । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सोमबार कुनै पनि पशुपन्छी जीवजन्तु आदिको बध, मदिरा माछामासुको विक्री वितरण नगर्न उर्दी जारी गरेको छ । कसैले त्यस्तो गरेको पाइएमा ‘नियमानुसार’ कारवाही गर्ने चेतावनी महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले दिएका छन् । रौतहटको सदरमुकाम गौर, बाराको सदरमुकाम कलैयासहित कयौं नगरपालिकाले यस्तै खालको सूचना जारी गरेका छन् ।

सप्तारीको राजविराज नगरपालिकाले भारतको आयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठाको अवसरमा भन्दै सोमबार सार्वजनिक विदा घोषणा गरेको छ । कार्यवाहक नगरप्रमुख इसरत परविनले एक सूचना जारी गर्दै नगरपालिका मातहतका सबै निकाय बन्द हुने बताएका छन् । सो दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा, बिक्री वितरण बन्द हुने पनि उनको सूचनामा उल्लेख छ । यति मात्र होइन, नगरप्रमुखले पालिकाभित्रका सबैले घर–घर मठमन्दिरमा दीप प्रज्ववलन गर्नसमेत उर्दी गरेका छन् ।

कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाले पनि भारतको राममन्दिरमा प्राण प्रतिष्ठा हुने अवसरमा सार्वजनिक विदा घोषणा गरेको छ । गाउँपालिकाको कार्यलय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा विदा दिइएको अध्यक्षले कमलेशशरण चौधरीले सूचना जारी गर्दै बताएका छन् । गाउँपालिकाले सो दिन पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको विक्री वितरण नगर्न भनेको छ ।

विभिन्न हिन्दूवादी संघ–संस्थाले धनगढी र नेपालगञ्जमा शोभायात्रा गर्ने तयारी गरेका छन् भने केही नगरमा कलशयात्रा गर्ने भनिएको छ ।

बिराटनगरमा हिजाे मोटरसाइकल र्‍याली गरिएको छ । यस्तै, पशुपतिनाथ मन्दिर परिसरमा रहेको शंकराचार्य मठनजिके विश्व हिन्दू परिषदले शंखनाद प्रतियोगितासमेत गर्दैछ । त्रिपुरेश्वरको राम मन्दिरमा पनि दीप प्रज्ववलन गर्ने कार्यक्रम छ ।

हालैमात्र ‘हनुमान’ नामको भारतीय चलचित्र नेपालमा ल्याएका वितरकले यो चलचित्र हेर्ने दर्शकले काटेको टिकटबाट ५ प्रतिशत रकम आयोध्या मन्दिर निर्माणको सहयोगार्थ पठाउने निर्णय सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया

3 thoughts on “भारतको मन्दिरमा प्राणप्रतिष्ठा, नेपालमा थरिथरि तमासा

  1. तिमीहरू देशको नक्सा अनुसार जग्गा लिन पहल गर्छौ भारतिय समर्थक अतिवादी हो तिम्रो देशमा त होइन यो कार्यक्रम र भारत मै पनि ४ ओटै महन मठाधिशहरूले सम्म बहिष्कार गरेको मा नेपाल जस्तो स्वतन्त्र राज्यका निकायले गर्नु कारबाही भागिदार हुनुपर्छ ।

  2. तिमीहरू देशको नक्सा अनुसार जग्गा लिन पहल गर्छौ भारतिय समर्थक अतिवादी हो तिम्रो देशमा त होइन यो कार्यक्रम र भारत मै पनि ४ ओटै महन्त मठाधिशहरूले सम्म बहिष्कार गरेको मा नेपाल जस्तो स्वतन्त्र राज्यका निकायले गर्नु कारबाही भागिदार हुनुपर्छ ।

  3. यो महान अवसरलाई विश्वका हिन्दुहरुले उल्लासमय पर्वको रूपमा स्वागत गर्छौं । स्प्रस्ट छ उओ समाचार लेख्ने व्यक्ती हिन्दु विरोधी र परिचालित हो! पत्रकारको भेषमा क्रिश्चियन दलाल!

Leave a Reply

Your email address will not be published. Required fields are marked *