सुदूरपश्चिममा प्राविधिक विश्वविद्यालय खोल्ने तयारी, काठमाडौँमा छलफल – Nepal Press

सुदूरपश्चिममा प्राविधिक विश्वविद्यालय खोल्ने तयारी, काठमाडौँमा छलफल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ । सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरिसकेको सरकारले अहिले विभिन्न चरणमा छलफल सुरु गरेको हो ।

सुदूरपश्चिममा शिक्षासम्बन्धी विज्ञ, राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवालासँगको अन्तरक्रिया गरिसकेको प्रदेश सरकारले अहिले यस विषयमा काठमाडौँमा थप छलफल र अन्तरक्रिया गरिरहेको छ ।

सरकारले प्राविधिक विश्वविद्यालय स्थापनासम्बन्धी मस्यौदा निर्माणमा सल्लाह सुझाव प्रदान गर्न, विश्वविद्यालयको स्थान यकिन तथा जग्गा प्राप्तिसम्बन्धी कार्यमा मन्त्रालयलाई राय सुझाव दिन र विश्वविद्यालय स्थापना तथा सञ्चालनका लागि आवश्यक पर्ने अन्य व्यवस्थापकीय कार्यमा मन्त्रालयलाई सहयोग गर्ने सेवा सुविधा पाउने गरी डा. लवदेव अवस्थी संयोजक रहने गरेर तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

सो कार्यदलको सदस्यमा संविधान सभा सदस्य एवं अधिवक्ता हरिराम श्रीपाइली र सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह रहेका छन् ।

आइतबार काठमाडौँमा भएको छलफलमा सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विगतमा प्रदेश सरकारले सुदूरपश्चिममा नयाँ र फरक ढङ्गले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने तयारी रहेको बताएका थिए ।

प्रदेश सरकारले पुस ६ गते प्रदेश प्राविधिक विश्वविद्यालय स्थापना गर्ने निर्णय गर्दै कार्य दल गठन गरिसकेको छ । अहिले उक्त कार्यदलले तयार पारेको प्रस्तावित मस्यौदामा छलफल भइरहेको छ ।

मुख्यमन्त्री शाहले सङ्घ र स्थानीय तहको अपनत्व रहने गरी स्थापना गर्ने सोच अनुसार आफूहरू तयारीमा रहेको जानकारी दिएका थिए । उनले उच्च स्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको बताए । ‘प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति निर्माण गरी गरिबी निवारण र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिलाई लक्षित गरिनेछ’, मुख्यमन्त्री शाहले भने ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्य दिलचन्द्र प्रसाद बडू, भानुभक्त जोशी, ईश्वरी न्यौपाने, बद्री पाण्डेय, दयाल बहादुर शाही, राष्ट्रिय सभा सदस्य गरिमा शाही, हरिराम चौधरी, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, प्रदेश सदस्य खगराज भट्ट, पूर्व सांसदहरू डा रण बहादुर रावल लगायत जनक शाह, जनकराज गिरि, डा लक्ष्मीराज पाठक, जनार्दन नेपाल,रामहरि लामिछानेले प्राविधिक विश्वविद्यालय निकै आवश्यक भएको बताएका थिए ।

विश्वविद्यालयको मस्यौदा तयार भई छलफलमा आइसकेकाले यसको दिगो सञ्चालन चुनौती समाधानका उपायका बारेमा गम्भीरता पूर्वक छलफल गर्नु पर्नेमा सहभागीहरूले आग्रह गरेका थिए ।

काठमाडौँको छलफलमा सामाजिक विकास मन्त्री झपट साउद, प्रदेश सरकारका प्रमुख सचिव डा हरि लम्साल, विश्वविद्यालय ऐनको ड्राफ्ट मस्यौदा संयोजक डा लवदेव अवस्थी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश सिंह सहितको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *