न्यूरोड क्षेत्रको बाटोमा पार्किङ निषेध गर्ने तयारी, काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था गरिने
माघ ९ गतेदेखि पार्किङमा रोक लगाइने छ- नगर प्रहरी वरिष्ठ उपरीक्षक पाण्डे
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ ।
यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइनेछ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ ।
तयारीका विषयमा जानकारी गराउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’ उहाँकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिनेछ ।
यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकिएको छ ।