भरतपुर महानगरपालिकाको सहयोगमा चितवन क्रिकेट संघले ग्रासरुट क्रिकेट आयोजना गर्ने
काठमाडौं । भरतपुर महानगरपालिकाको सहयोगमा चितवन क्रिकेट संघले ग्रासरुट क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
माघ २६ देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने प्रतियोगितामा १०-१० सामुदायिक र निजी स्कुलको सहभागिता रहने जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।
‘प्रतियोगिताका खेलहरु शुक्रबार र शनिबारमात्र हुने भएकाले झन्डै २ महिनासम्म सञ्चालन हुनेछ । पहिलो चरणमा नकआउट र दोस्रो चरणमा १० टोली सहभागी राउन्ड रोबिन आधारमा स्पर्धा सञ्चालन हुनेछ’, पियाले भने ।
प्रतियोगिता आयोजनाका लागि भरतपुर महानगरपालिकाले ८ लाख रुपैयाँ दिएको छ ।
यस्तै एक्स्पर्ट एजुकेसनले ८ लाख ६० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रतिस्पर्धा गर्ने सरकारी स्कुलका खेलाडीलाई उपलब्ध गराउने अध्यक्ष पियाले बताए ।
‘ग्रासरुट क्रिकेट बलियो होस् भनेर प्रतियोगिता गर्न लागिएको हो’, उनले भने ।