राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी भरतपुर महानगरद्वारा पुरस्कृत – Nepal Press

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी भरतपुर महानगरद्वारा पुरस्कृत

चितवन । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो ।

भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६औं राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ ।

भरतपुर महानगरपालिकामा भएको कार्यक्रममा विजेता खेलाडीहरुलाई मेयर रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गर्दै सम्मान गरेका थिए ।

उक्त अवसरमा भरतपुर महानगरकी मेयर दाहालले विजेता खेलाडीलाई थप प्रोत्साहनका लागि पहिलो पटक महानगरपालिकाले पुरस्कारको व्यवस्था गरेको बताइन् ।

यसअघि भरतपुर महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आएको थियो ।

मेयर दाहालले आगामी दिनमा हुने प्रदेश र संघीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रदर्शन गरी उपाधि प्राप्त गर्न अग्रीम शुभकामनासमेत दिइन् ।

भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६-६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पारेको थियो । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जितेको थियो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *