प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: एपीएफमाथि आर्मीको ४ विकेटको जीत
रुपन्देही । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जीत निकालेको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार एपीएफलाई हराउँदै आर्मीले प्रतियोगितामा तेस्रो जीत निकालेको छ । आर्मीले जीतका लागि एपीएफले दिएको १२२ रनको लक्ष्य २४औं ओभरमा ६ विकेटको नोक्सानीका पूरा गरेको हो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट ३४ रन जोड्दै टीमलाई जीत दिलाए । उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोड्ने क्रममा समान २-२ चौका र १-१ छक्का प्रहार गरे ।
बलिङमा एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले समान १-१ विकेट लिए ।
यसअघि कप्तान रोहितकुमार पौडेलले संघर्षपूर्ण अर्धशतकको मद्दतमा नेपाल एपीएफ क्लबले १२१ रनको सामान्य योगफल बनाएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ३२ ओभर ४ बलमा अलआउट भएको थियो । खराब मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा एपीएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमशः ओपनर प्रज्वल शाही र पुरन विक (३) लाई गुमाउँदा टीम संकटमा परेको थियो ।
दोस्रो ओभरमा ब्याटिङका लागि आएका कप्तान रोहित ३३औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्किए । उनले १०३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने क्रममा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए । लगातार विकेट झर्दा पनि रोहितले सम्हालिएर रन बटुलेका थिए ।
एपीएफका लागि भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
आर्मीका लागि प्लेयर अफ द म्याच हुन सफल सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले समान १-१ विकेटको सफलता प्राप्त गरे ।
यससँगै आर्मीले ५ खेलमा ३ जीत र २ हारका साथ ६ अंक जोडेको छ । एपीएफले ५ खेलमा २ जीत र ३ हार व्यहोर्दै सातौं स्थानमा छ ।