संविधान कार्यान्वयनमा राजनीतिक दलका नेताहरुले अग्रसरता देखाउनुपर्छ : शेखर कोइराला (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान कार्यान्वयनका लागि राजनैतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजना गरिएको कृष्ण प्रसाद कोइराला सम्मान समर्पण कार्यक्रममा नेता कोइरालाले मुलुकको अवस्था अत्यन्त गम्भीर रहेकाले संविधान कार्यान्वयनका लागि राजनैतिक दलका नेताहरुले अग्रसरता लिनुपर्ने बताएका हुन् ।
उनले मुलुकमा भ्रष्टचार र दण्डहिनता बढ्दै गएपनि जवाफदेहीता कसैसँग नभएको बताए । उनले मुलुकको राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक सबै क्षेत्रमा विकृति र विसंगति देखिएकाले जनताले विद्रोह गर्नुपर्ने अवस्था आएको धारणा राखे ।
पिताजी कृष्ण प्रसाद कोइराला स्मृति परिषदले आयोजना गरेको सो कार्यक्रममा पिताजी कृष्ण प्रसाद कोइराला सम्मान पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको थियो ।
सम्मान ग्रहण पछि बोल्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमा अनेकौ त्रुटी रहेकाले पूनरावलोकन गर्ने बेला आईसकेको धारणा राखे । उनले प्रजातन्त्रको लाभ जनताले अनुभूति गर्न नपाए वितृष्णा उत्पन्न हुने र विद्रोह हुन सक्ने तर्फराजनैतिक दलका नेताहरु सचेत हुनुपर्ने जिकिर गरे ।
उनले जनताले हारेको र नेताले जितेको प्रजातन्त्रले मुलुकको विकास गर्न नसक्ने धारणा व्यक्त गरे ।