मौन अविधमा शेखर कोइराला निवासमा चियापान
विराटनगर । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।
शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।
त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी छन् ।
चियापानमा कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए ।
बिहीबार राष्ट्रियसभाको निर्वाचन हुँदै छ । कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ ।