बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरेको रिलायन्स कस्तो कम्पनी हो ? – Nepal Press

बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरेको रिलायन्स कस्तो कम्पनी हो ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गते बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्री खुला गरेको छ । यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर बोलकबोल खुला गरेको हो । बोलकबोलको प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ ।

बुक बिल्डिङबाट शेयर जारी गरेको रिलायन्स कस्तो कम्पनी हो भन्नेमा चासो देखिएको छ । यसको रजिष्टर्ड कार्यालय काठमाडौंमा भए पनि उद्योग भने इटहरी र सुनसरीमा छ । रिलायन्स धागो उत्पादन गर्ने उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७०–७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, यूकेलगायतका मुलुकहरुमा निर्यात गर्दै आएको छ ।

कम्पनीको उत्पादनलाई विविधीकरण गरी नयाँ उत्पादन कटन यार्न ६ हजार ३०० मेट्रिक टन र सेन्थेटिक यार्न ६ हजार ३०० मेट्रिक टनको थप क्षमता वृद्धि गरेको छ । उत्पादन वार्षिक क्षमता १६ हजार ५६० मेट्रिक टन थप गरी प्रतिदिन १३६ मेट्रिक टन भएको छ । वार्षिक १ हजार ६५० थप भइ उद्योगको उत्पादन प्रतिदिन १८२ मेट्रिक टन पुग्ने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी विद्युत शक्तिलाई समेत २३ हजार केभीए पु¥याएको छ । रिलायन्सका अध्यक्ष पवन गोल्यान हुन् ।
कम्पनीको चुक्ता पूँजी एक अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ ।

संस्थागत र सर्वसाधारण लगानीकर्तामा शेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोड रुपैयाँ हुनेछ । यो कम्पनीमा ३ हजार ८२८ जना कर्मचारी कार्यरत छन् । रिलायन्सको ९ अर्ब ४५ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको सम्पत्ति, प्लान्ट तथा उपकरण रहेको छ ।

यो कम्पनीले १ अर्ब ७६ करोड नाफा गरेको उसको विवरणपत्रमा उल्लेख छ । यसको प्रतिशेयर आम्दानी पछिल्लो तीन आर्थिक वर्षमा ५० रुपैयाँभन्दा माथि छ । तर, चालू वर्ष भने ०.९६ रुपैयाँ हुने प्रक्षेपण कम्पनीको छ ।

यसले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला भएको हो ।

संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । संस्थागत लगानीकर्ताले बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १४ गते तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर