रुसी जहाज दुर्घटनामा परेर ६५ युक्रेनी युद्धबन्दीको मृत्युः आक्रमण आफूले गरेको युक्रेनी दाबी
काठमाडौं । रुसको सैन्य जहाज दुर्घटना हुँदा ६५ जना युक्रेनी युद्धबन्दीको मृत्यु भएको छ । आईएल- ७६ जहाजले युक्रेनी युद्धबन्दीलाई बोकेर यात्रा गरिरहँदा दुर्घटना भएको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार युक्रेनी सीमा क्षेत्रको बेलगोरोध क्षेत्रमा दुर्घटना भएको हो । रुसी रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार ६५ युक्रेनी युद्धबन्दीसहित ६ चालक दलका सदस्य र तीन अन्य सहयोगीको पनि मृत्यु भएको छ ।
युक्रेनी युद्धबन्दीलाई फिर्ता गर्ने प्रक्रियामा गएको यात्राको जहाज दुर्घटना भएको बताइएको छ । दुर्घटना रुसी समयअनुसार बुधबार बिहान ११ बजे भएको हो ।
आरटीका अनुसार युक्रेनी दैनिक अखबार युक्राइन्सकाया प्राभ्दाले भने युक्रेनी सैन्य स्रोतलाई साभार गरेर जहाज युक्रेनले झारेको दाबी गरेको छ । युक्रेनी दाबीमा भने जहाजमा एस-३०० मिसाइल प्रतिरक्षा प्रणालीका सामान बोकेको दाबी गरिएको छ ।