सामाजिक सुरक्षामा एमालेको ट्रेडमार्क – समाजवादको यात्रामा बलियो ल्याण्डमार्क
सामाजिक सुरक्षाको इतिहास हेर्ने हो भने हामी प्राचीन रोम र ग्रिक साम्राज्यमा जानुपर्ने हुन्छ । त्यतिबेला घाइते सैनिक र गरिबहरूलाई नागरिकस्तरबाट सहयोग गरिन्थ्यो । त्यसो त पूर्वीय सभ्यताले पनि आफ्नै किसिमको सामाजिक सुरक्षाको व्यवस्था गरेको छ जुन मुख्य रुपमा परिवारमा आश्रित छ । औपचारिक सामाजिक सुरक्षाको आवश्यकता र विकास औद्योगिक क्रान्तिसँगै १८औं शताब्दीमा सुरु भयो । आद्योगीकरणसँगै शहरीकरणमात्र बढेन कामको प्रकृति र सामाजिक बनोटमा पनि परिवर्तन आउन थाल्यो । यिनै परिवर्तनले निम्त्याएका चुनौतीलाई चिर्न सामाजिक आन्दोलनहरू हुन थाल्यो । यिनै आन्दोलनका कारण सरकारहरूले सामाजिक सुरक्षाका विभिन्न उपायहरू अपनाउन थाले । चोटपटक लाग्दा क्षतिपूर्ति दिने, केही निश्चित समूहका लागि पेन्सनको व्यवस्था जस्ता उपायलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
१९औं शताब्दीको अन्त र २०औं शताब्दीको सुरुतिर जर्मन चान्सलर ओटो भोन बिस्मार्कले स्वास्थ्य बीमा, दुर्घटना बीमा, वृद्ध निवृत्तिभरणलगायत केही प्रारम्भिक सामाजिक सुरक्षाका कार्यक्रम थालेका थिए । यो मोडेल नै अरु देशहरूका लागि आफ्नो समाजिक सुरक्षा प्रणाली विकास गर्ने आधार बन्यो । दोस्रो विश्वयुद्धपछि धेरै देशले आफ्नो सामाजिक सुरक्षा प्रणाली विस्तार गरे । सन् १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सामाजिक सुरक्षाको अधिकारलाई मौलिक मानव अधिकारको रूपमा घोषणा गर्यो । त्यसलगत्तै धेरै पश्चिमी देशहरूमा स्वास्थ्य सेवा, बेरोजगारी भत्ता र वृद्धावस्था निवृत्तिभरणसहित सामाजिक सुरक्षाको क्षेत्रमा आक्रामक तरिकाले विकास भएको पाइन्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा एमालेको अल्पमतको सरकारले पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम ल्याएको थियो । त्यसबेला मासिक १०० रुपैयाँका दरले वृद्ध भत्ता कार्यक्रम घोषणा गरिएको थियो । त्यसबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको विरोधका वाबजुद शुरु गरिएको सो कार्यक्रम केही परिमार्जनका साथ हालसम्म चली नै रहेको छ । तर, औपचारिक रुपमा सामाजिक सुरक्षा ऐन ल्याएर सामाजिक सुरक्षाका क्षेत्रमा नेपालमा नयाँ क्रान्ति भने २०७४ सालमा केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेकै सरकार हुँदा भएको हो ।
सामाजिक सुरक्षा कोषको आधिकारिक तथ्यांकअनुसार २०८० पुस ३ गतेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार गरेर जम्मा ९ लाख ९३ हजार ८२२ जना योगदानकर्ता सूचीकृत भएका छन् । सोही अवधिमा ४६ अर्ब ३१ करोड रकम संकलन भएको र ६ अर्ब ७४ करोड दाबी भुक्तानी भएको देखिन्छ ।
सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली २०६७ जारी भई सोबमोजिम २०६७ साल चैत ७ गते भएको हो । त्यसबेला यस कोषले सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएको थियो । तर, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ जारी भएपछि भने सो ऐनबमोजिम सामाजिक सुरक्षा कोषले कार्य गर्दै आएको छ । ऐनको प्रस्तावनामा उल्लेखित श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषको उद्देश्य हुन् । सामाजिक सुरक्षा कोषको आधिकारिक तथ्यांकअनुसार २०८० पुस ३ गतेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार गरेर जम्मा ९ लाख ९३ हजार ८२२ जना योगदानकर्ता सूचीकृत भएका छन् । सोही अवधिमा ४६ अर्ब ३१ करोड रकम संकलन भएको र ६ अर्ब ७४ करोड दाबी भुक्तानी भएको देखिन्छ ।
सामाजिक सुरक्षा कोषमा हुने योगदान योगदानकर्ता श्रमिकबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरी समग्रमा ३१ प्रतिशत हुने गरेको छ । यसरी जम्मा हुने रकमको २.६७ प्रतिशत भने सामाजिक सुरक्षा योजनाका लागि छुट्याइएको हुन्छ । २.६७ प्रतिशतको खण्डीकरण यस प्रकार रहेको छः
क) १ प्रतिशतबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षासम्बन्धी योजना सञ्चालन गरिन्छ ।
ख) १.४० प्रतिशतबाट दुर्घटना तथा अशक्तता सुरक्षा योजना सञ्चालन गरिन्छ ।
ग) ०.२७ प्रतिशतबाट आश्रित परिवार सुरक्षा योजना सञ्चालन गरिन्छ ।
बाँकी २८.३३ प्रतिशत रकममध्ये भने २० प्रतिशत वृद्धावस्था निवृत्तिभरण र ८.३३ प्रतिशत रकम अवकाश कोषका लागि भनेर दुई भागमा राखिएको हुन्छ । २०७८ असार ३० गतेसम्म सूचीकरण भई योगदान प्रारम्भ गर्ने योगदानकर्ताले निवृत्तिभरण र अवकाश दुवै कोषमा जम्मा भएको सबै रकम निकाल्न पाउँछन् भने २०७८ साउन १ गते वा सोपछि सूचीकरण भई योगदान गर्ने योगदानकर्ताले अवकाश कोषमा जम्मा भएको रकम रोजगारी छोडेपछि निकाल्न पाउँछन् । यसका लागि ६० वर्ष कुर्नुपर्दैन । तर, अहिले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले काम गर्ने उमेर ६० वर्ष कायम गरेको हुनाले सो उमेरसम्म काम गर्ने र काम गर्ने उमेर सकिएपछि पेन्सनको रुपमा लिन सकिने व्यवस्था गरेको हो । त्यसैले आफूले जम्मा गरेको रकम पाउन पनि ६० वर्ष कुर्नुपर्छ भन्ने कुरा वास्तविकताभन्दा बढी भ्रम हो । तर पनि केही सामाजिक सुरक्षा प्रणालीविरोधी तत्वहरूले आफ्नो पैसा निकाल्न किन ६० वर्ष पुग्नुपर्ने भनी भ्रम सिर्जना गर्ने गरेका छन् ।
सामाजिक सुरक्षा कोषबाट २०१९ सालमा स्थापना भएको कर्मचारी सञ्चय कोषमा जसरी सापटी लिन पाइँदैन भन्ने कतिपयमा भ्रम पनि रहेको पाइन्छ । वास्तविकता के हो भने कोषमा कम्तीमा ३६ महिना योगदान गरेका योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी गरी ४ क्षेत्रमा सामाजिक सुरक्षा कोषबाट सापटी लिन पाउने व्यवस्था रहेको छ ।
तसर्थ, कोषमा योगदानकर्ताको ११ प्रतिशत रकममात्र जम्मा हुने र त्यसको पनि १ प्रतिशतमात्र सामाजिक सुरक्षा योजनामा जम्मा हुने गर्छ । त्यसैले योगदानकर्ताले ३१ प्रतिशत कोषमा जम्मा गरेर के खाने भन्ने पनि भ्रममात्र हो । २० प्रतिशत त योगदानकर्ताको तलबबाट काटिने रकम नभएर रोजगारदाताले जम्मा गर्नुपर्ने रकम हो । केही कम्पनीहरूले भने कस्ट टु द कम्पनीलाई व्याख्या नगरी तलब नै यति हो र त्यसको ३१ प्रतिशत काटिन्छ भन्ने गरेकोले पनि केही भ्रम सृजना भएको हुनुपर्छ ।
सामाजिक सुरक्षा योजना न्यूनतम आवश्यकता पूर्तिका लागि भएकाले यसलाई उच्चस्तरको सुविधाका रुपमा बुझ्नुहुँदैन । स्वास्थ्य सेवाका लागि सरकारी अस्पताल जानेलाई मात्र सुविधा छ अरुलाई छैन भन्ने किसिमले पनि सोच्ने गरिएको पाइन्छ । यसका दुई पाटा छन् । पहिलो, सरकारी अस्पतालबाहेक अरु अस्पतालहरूले पनि सामाजिक सुरक्षा कोषसँग सेवा प्रदान गर्ने सम्झौता गर्ने गरेका छन् । दोस्रो, समयसँगै अस्पतालहरूको दायरा बढाउँदै लैजाने सामाजिक सुरक्षा कोषको योजना रहेको छ ।
शिशु अवस्थामै रहेको सामाजिक सुरक्षाले एकै पटक सबै सेवा दिएन भनेर सोच्नु पनि अलि चाँडो हुन्छ । भर्खरैमात्र कोषले बुवाआमा दुबै योगदानकर्ता रहेको हकमा नाबालिक छोराछोरीलाई पनि योजनामा जोड्नेबारे छलफल शुरु गरेको छ । हो, योगदानकर्ताहरूको चाहना आफूमा आश्रित बुवाआमाको पनि योजनाले जोडोस् भन्ने रहेको हाम्रो एक अनुसन्धानले देखाएको छ । समयसँगै कोषले धान्नसक्ने अवस्था हुँदा त्यो पनि भविष्यमा हुनसक्ने छ । यति चाँडै छोराछोरीहरूलाई जोड्ने सकारात्मक बहस छेडिएको देख्दा बुवाआमाहरूलाई जोड्ने बहस पनि चाँडै सुरु हुनेछ भन्ने आशा अझ बढेको छ ।
सामाजिक सुरक्षा कोषबाट २०१९ सालमा स्थापना भएको कर्मचारी सञ्चय कोषमा जसरी सापटी लिन पाइँदैन भन्ने कतिपयमा भ्रम पनि रहेको पाइन्छ । वास्तविकता के हो भने कोषमा कम्तीमा ३६ महिना योगदान गरेका योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी गरी ४ क्षेत्रमा सामाजिक सुरक्षा कोषबाट सापटी लिन पाउने व्यवस्था रहेको छ । धितोले खामेसम्म एकै धितोबाट एकभन्दा बढी सापटी पनि लिन सकिने व्यवस्था रहेको छ ।
हाल पाँच लाख बढी वैदेशिक रोजगारीमा रहेकाहरु कोषमा आवद्ध रहेको सामाजिक सुरक्षा कोषको तथ्यांकले देखाउँछ । तर, यो तथ्यांकले सही अवस्थाको आंकलन भने गर्दैन । यो किन हो भने सरकारले वैदेशिक रोजगारीमा जान सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य गरेको छ ।
हाल सरकारले हतारमा वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि कोषमा सूचीकृत गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि कोषमा जोड्नु सकारात्मक पक्ष भए पनि विनाकुनै गृहकार्य हतारमा गरिएको यस्ता निर्णयले सरकारमाथि नै जनताको अविश्वास बढ्ने हो कि भन्ने देखिन्छ । हाल पाँच लाख बढी वैदेशिक रोजगारीमा रहेकाहरु कोषमा आवद्ध रहेको सामाजिक सुरक्षा कोषको तथ्यांकले देखाउँछ । तर, यो तथ्यांकले सही अवस्थाको आंकलन भने गर्दैन । यो किन हो भने सरकारले वैदेशिक रोजगारीमा जान सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अनिवार्य गरेको छ । त्यसकारण आवद्धता देखिएको छ । तर, वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको योगदान नियमित बनाउने विषयमा सरकारको कुनै स्पष्ट नीति देखिँदैन ।
कोषमा आवद्ध भएकाहरुको वास्तविक ज्याला कति हो त्यसको निर्धारण कसरी गर्ने ? अनि योगदानकर्ता र रोजगारदाताले कुन माध्यमबाट योगदानवापतको रकम कोषमा दाखिला गर्ने ? रोजगारदाताले नेपालको कानूनका आधारमा किन २० प्रतिशत रकम श्रमिकका लागि छुट्याउने ? योगदान गरेबापत हाल पाउनुपर्ने सुविधा योगदानकर्ताले विदेशमा कसरी उपयोग गर्ने ? गन्तव्य देशहरुसँग पारस्परिक सम्झौता नगरी वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य गर्नु सरकारको हतारको निर्णय हो । त्यसैले उल्लेखित यस्ता जटिल प्रश्नहरुको अध्ययन नगरी सरकारले जुन किसिमले अनिवार्य नियम लागू गरेको छ, यो केवल राजनीतिक स्टन्टको लागि मात्र रहेको निष्कर्ष निस्कन्छ ।
अन्तरदेशीय सामाजिक सुरक्षालाई लागू गर्न सम्बन्धित देशसँग पारस्परिक सम्झौता नभई सम्भव छैन । जस्तो कि युरोपियन युनियनभित्र अन्तरदेशीय सामाजिक सुरक्षा रेगुलेशन नं ८८३/२००४ अन्तर्गत हुने गर्छ । ब्रि एक्जिटपछि भने बेलायतले ईयूसँग ट्रेड एण्ड कोअपरेशन अग्रिमेन्ट गरेको छ । यसले सामाजिक सुरक्षा योजनालाई ब्रि एक्जिटअघिकै जसरी लागू गर्न सहज पुर्याएको छ । नेपालमा विनातयारी गरिएको यस किसिमको निर्णयले सामाजिक सुरक्षा कार्यक्रमप्रति नै विश्वास घट्ने सम्भावना रहन्छ ।
योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनले राज्यलाई भार पनि कम गर्ने र जनताले राज्यको अभिभावकत्व पनि महसुस गर्ने सुनिश्चित छ । नवउदारवादी कांग्रेसी र छद्म कम्युनिष्टहरुले सामाजिक सुरक्षा योजना कार्यक्रमको विरोध गरेको पाइन्छ । वृद्ध भत्ताले देश टाँट पल्टिन लाग्यो भन्नेसम्मको टिप्पणी गरेको पाइन्छ । सामाजिक सुरक्षा कोषलाई बलियो बनाउँदै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई दिगो बनाउन सके सूचीकृत नागरिकहरुलाई राज्यमा भार नपर्ने गरी उनीहरुकै योगदानका आधारमा वृद्ध अवस्थामा पेन्सन सुनिश्चित रहन्छ । सामाजिक सुरक्षा कोषका बारेमा रहेका कतिपय भ्रमहरु यसकै जन्मदाताहरुले चिर्न नसकेको पनि हुनसक्छ । सामाजिक सुरक्षा कोषले पनि आवश्यक जनचेतनाका कार्यक्रम नल्याएकाले पनि भ्रम रहेको हुनसक्छ । आउँदा दिनमा यी दुई पक्षले जनचेतनाका साथै सामाजिक सुरक्षा कोषलाई अझ परिस्कृत गराउँदै लगून् भन्ने सदीक्षा व्यक्त गर्दछु । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्यको आधार तय गर्न बलियो सामाजिक सुरक्षा प्रणाली एक महत्वपूर्ण कडी हो ।
(लेखक नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख हुन् ।)
सामाजिक सुरक्षा काेष भनेर सुनाैला अक्षरले लेखेकाे शब्द भित्र गैर सरकारी क्षेत्रमा कार्यरत मजदुरहरूकाे पसिनाकाे शाेषण गरेर सरकारले के के न गर्याे भनेर हाैवा पिट्ने कुटनितिक चाल हाे ! यदी याे राम्राे हाे भने सरकारी कर्मचारीलाई पनि याे दायरामा ल्याउनु पर्दैन? तेसैले जनतालाई गुमराहमा राखेर कुटिल राजनिति नगरूम् जनतालाई नै मूल्याङ्न गर्न अा उँछ अलि अलि महाशय !