सुदूरपश्चिममा अन्त्यहीन मानव-वन्यजन्तु लडाइँ
कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वन (उपभोक्ता समूहको वन) भित्र आइतबार पाटे बाघ मृत फेला पर्यो । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामबिचारी ठाकुरले मृत फेला परेको बाघ दुई/तीनअघि नै पासोमा परेको र मृत्यु भएको हुनसक्ने बताए ।
पासोले घाँटी कस्सिएपछि निसासिएर बाघ मरेको हुनसक्ने बताइएको छ । बाघ मृत फेला परेको स्थान कर्णाली संरक्षित वन क्षेत्रभित्र पर्छ ।
पासोमा परेर बाघ मरेको यो पहिलो घटना भने होइन । माघ ६ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा पनि चितुवा मृत फेला परेको थियो । सोही दिन दार्चुलाको मालिकार्जुन गाउँपालिका- ५ डाँडाकोटस्थित घट्टेगाड खोला किनारमा पनि चितुवा मृत फेला परेको थियो ।
पछिल्लो दुई दिनमा एक बाघ र दुई चितुवा मृत फेला पर्नु पक्कै पनि सामान्य घटना होइन । अधिकांश वन्यजन्तु पासोमा परेका कारण मरेको संरक्षकर्मीहरुको भनाइ छ । उनीहरुका अनुसार कतै मानवबाट वन्यजन्तु मारिएका छन् भने कतै वन्यजन्तुबाट मानिस ।
गएको चैत १० गते कञ्चनपुरको पुनर्वास नगरपालिका- १० भीम बस्तीकी ३२ वर्षिया कलशा सार्कीको बाघले ज्यान लिएपछि स्थानीय त्रसित बनेका छन् ।
गएको भदौमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ७ सिमलफाँटाकी २२ वर्षीया मीरा जोशीलाई हात्तीको बथानले आक्रमण गर्यो । राति ८ बजेतिर हात्तीको बथानले आक्रमण गरेपछि जोशीको घटनास्थलमै मृत्यु भयो ।
हात्तीको आक्रमणबाट ज्यान गुमाउने मीरामात्र छैनन् । गत असार ४ गते कैलालीको टीकापुर नगरपालिका- २ की टंकदेवी सोडारीको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो । २०७८ कार्तिक २ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट एक दम्पतीको ज्यान गयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका- १२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीले ज्यान गुमाएका थिए । घरमा सुतिरहेकै वेला हात्ती आएको हल्ला सुनी घरबाट निस्किएर भाग्ने क्रममा हात्तीले कार्की दम्पतीलाई आँगनमै कुल्चेर मार्यो ।
कैलालीको गौरीगंगा नगरपालिका- ५ अण्डैयाकी २५ वर्षीया कला धामीकोे बाघको आक्रमणबाट ज्यान गयो ।
माथि उल्लेखित घटना जंगली जनावरको आक्रमणबाट ज्यान गएका केही प्रतिनिधिमात्र हुन् । कैलाली र कञ्चनपुरमा जंगली जनावरको आक्रमणबाट बर्सेनि स्थानीयले ज्यान गुमाइरहेका छन् ।
यही समस्या सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीयले पनि भोगिरहेका छन् । गत साउन ३ गते डोटीको दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेर आक्रमण गर्दा दुई जना घाइते भए । २०६८ साल यता बैतडीमा मात्रै चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिममा २०७४ सालयता दुई दर्जन बढी चितुवा मृत फेला परे । जसमध्ये आधाभन्दा बढी पासोमा परेर, र गोली लागेर मरेको पाइन्छ । पासोमा परेर घाइते भएका र बिरामी भएका बाघले समयमै उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।
कैलाली र कञ्चनपुरमा जङ्गल फडानी गर्दै बस्ती बढेपछि मानव र वन्यजन्तुबीच आक्रमण भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्याल बताउँछन् । मानवीय हस्तक्षेप बढ्न थालेपछि वन्यजन्तु गाउँ पस्न थालेको उनको बुझाइ छ ।
‘आहाराको खोजीमा पनि तिनीहरू भौतारिरहेका छन्’, उनले भने, ‘अहिले मानवबाट वन्यजन्तु र वन्यजन्तुबाट मानव दुबैलाई जोखिम बढेको छ ।’
पछिल्लो समय तस्करीका घटना पनि बढिरहेको उनको दाबी छ । बाघ र चितुवाको छाला, सालकको खपेटा, कस्तुरीको बिना तस्करी गर्न पनि वन्यजन्तु मारिने र नासिने क्रम बढेको उनी बताउँछन् ।
त्यस्तै भारतसँग सीमा जोडिएको कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रका गाउँ नजिक दिउँसै भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आइरहेका हुन्छन् । जसले मानव र वन्यजन्तुबीच द्वन्द्व बढिरहेको छ ।
वन संरक्षणकर्मीहरुका अनुसार खेतीपाती नोक्सान गर्ने जनावरको लागि थापेको पासोमा ठूला जनावर पनि परिरहेका छन् । केहीले भने तस्करीकै लागि पासो थाप्ने गरेका छन् ।
‘हिजो बाघकै लागि तस्करले पासो थापेको देखिँदैन’, डिभिजनल वन अधिकृत ठाकुर भन्छन्, ‘बँदेलको पासोमा बाघ परेको देखिन्छ । तस्करले बाघ नै मार्न चाहेको भए केही वस्तुहरू जस्तोः छाला, हड्डी लैजाने थियो ।’
उनका अनुसार यसरी तस्करी गर्न वन्यजन्तु मार्नेहरू पनि नभएका होइनन् । तर, अधिकांश भने किसानले खेत जोगाउन थापेको पासोमा परेर मरेको भेटिएका छन् ।
सबैतिर समस्या
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार आ.व. २०७८/७९ मा वन्यजन्तुको आक्रमणबाट नेपालमा ५८ जनाको मृत्यु भयो । छ हजार ४७ वटा घरपालुवा पशु मारिए र ४५३ घरगोठमा क्षति पुग्यो । सोही आर्थिक वर्षमा सडक दुर्घटना, चोरी सिकारी तथा तारजालीमा परेर क्रमशः १०८, ४१ तथा २३ वटा वन्यजन्तुको मृत्यु भयो । यसरी मारिनेमा बँदेल, चित्तल तथा बाँदरको संख्या धेरै भए पनि गैँडा तथा हात्ती जस्ता संरक्षित वन्यजन्तुसमेत मानवीय कारणले मारिएका छन् ।
हालै विभिन्न सञ्चारमाध्यममा बाँदरका कारण बैतडीमा बसाइ सर्ने र कालापहाड जाने क्रम बढेको, गाउँबस्ती खण्डहर बन्दै गएको तथा हजारौं रोपनी उर्बर जमिन बाँझो बनेको खबर सार्वजनिक भयो ।
पछिल्लो पाँच वर्षमा चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भयो भने १९ जना घाइते भएका छन् । बाँके, बर्दिया तथा कैलाली जिल्लामा बाघको आक्रमणबाट २९ जनाको ज्यान गयो ।
त्यस्तै गत जेठमा सार्वजनिक तथ्याङ्कअनुसार अघिल्लो वर्ष चितवनमा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भयो । यो आर्थिक वर्षमा चितवनमा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ, जसमा बाघ र हात्तीको आक्रमणबाट एक-एक र गैँडाको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन् । चितवनमा गत आर्थिक वर्षमा विभिन्न कारणले ३७ वटा गैंडा मरेका थिए ।
पछिल्लो समय बारा, मकवानपुर तथा झापालगायतका पूर्वी जिल्लामा जङ्गली हात्तीले आक्रमण गरी करिब आधा दर्जन मानिसको ज्यान लिएको थियो । सीमावर्ती क्षेत्रमा जङ्गली हात्तीले मानिसको ज्यान लिनेमात्र नभई घरगोठ भत्काइदिने, पशु चौपाया मारिदिने तथा बालीनाली सखाप पारिदिने घटना बर्सेनि दोहोरिने गरेका छन् ।
उल्लेखित सन्दर्भले नेपालमा मानव-वन्यजन्तु द्वन्द्व अन्तहीन रहेको दर्साउँछ ।