रासायनिक मल खरिद गर्न १५ अर्ब १८ करोडको स्रोत सहमति, सभामुख घिमिरेको टोलीलाई १४ लाख भ्रमण खर्च
काठमाडौं । सरकारले रासायनिक मल खरिद गर्न १५ अर्ब १८ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । रासायनिक मल खरिद गर्न चालू आर्थिक वर्ष ३० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।
पुसमा स्रोत सहमति दिएको रकमसँगै सरकारले विभिन्न शीर्षकमा एक महिनामै २९ अर्ब ९८ लाख ९३ हजार बराबर बहुवर्षीय ठेक्काका लागि स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको छ । त्यसमध्ये सबैभन्दा बढी बजेट मल खरिद गर्न स्रोत सहमति प्रदान भएको हो ।
यस्तै सरकारले मेरो कित्ता लागू हुन बाँकी ७६ वटा नापी कार्यालयलाई पनि ३ करोड ९८ लाख ९३ हजार रुपैयाँको सहमति प्रदान गरेको छ । अर्थ मन्त्रालयका अनुसार पुसमा मात्रै विभिन्न शीर्षकमा २९ अर्ब ९८ करोड रुपैयाँ स्रोत सहमति दिएको हो ।
सरकारले विभिन्न व्यक्तिलाई १ करोड १७ लाख आर्थिक सहायता दिएको छ । यसमध्ये बालकुमारी घटनामा ज्यान गुमाएका सुजन राउतको परिवारलाई १० लाख रुपैयाँ दिइएको छ ।
यस्तै सभामुख देवराज घिमिरेसहित २ जनाको टोलीलाई आयरल्याण्ड भ्रमण गर्दा भएको खर्च १४ लाख २ हजार रुपैयाँ निकासा भएको छ ।
वीर अस्पतालका बिरामी तथा कुरुवालाई खाना र अक्सिजनबापतको ४ करोड ५० लाख रुपैयाँ रकमान्तर निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ । पुसमा १ अर्ब ३८ करोड ३५ लाख ४१ हजार रुपैयाँ विभिन्न निकायलाई थप निकासा गरिएको अर्थले जनाएको छ ।