राष्ट्रियसभामा दलीय हैसियत उलटफेर- माओवादी पहिलो, एमाले तेस्रो
काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ । पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार आज २० मध्ये १९ सीटमा निर्वाचित भएका छन् ।
यो निर्वाचनको नतिजासँगै फागुन २० पछि राष्ट्रियसभामा दलीय हैसियत उलटफेर भएको छ । अहिले पहिलो दल रहेको नेकपा एमाले तेस्रोमा खुम्चिने भएको छ ।
प्रतिनिधिसभामा ३२ सीटसहित तेस्राे स्थानकाे माओवादी केन्द्र राष्ट्रियसभामा भने पहिलो दलको हैसियतमा आएको छ ।
अहिले दोस्रो स्थानमा रहेको माओवादी पहिलो स्थानमा उक्लिँदा कांग्रेस दोस्रो स्थानमा आएको छ । माधव नेपाल नेतृत्वको नेकपा एस भने ८ सांसदसहित चौथो स्थानमा छ ।
आज भएको निर्वाचनमा कांग्रेसले १०, माओवादीले ५, नेकपा एसले २ र एमाले तथा जसपाले एक-एक सीट जितेका छन् ।
कोशीमा एमाले-राप्रपा गठबन्धन एक सीट जित्न सफल भएको छ । गठबन्धनबाट फ्लोर क्रस भएपछि एमालेकी रुक्मिणी कोइरालाले अनपेक्षित जीत हात पारिन् । उनले सत्ता गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरिन् ।
कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, जीतजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रियसभामा चुनिएर आएका छन् ।
कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने चर्चा पनि छ ।
माओवादीबाट श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णु विश्वकर्मा र रेणु चन्द राष्ट्रियसभामा आएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा र सावित्री मल्ल, जसपाबाट पूजा चौधरी निर्वाचित भएर राष्ट्रियसभामा आएका छन् ।
अहिले राष्ट्रियसभामा १८ सांसद रहेको एमालेका ९ सांसद बिदा हुँदा १ सीटमात्रै सुरक्षित गर्न सफल भयो । कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसदको पदावधि सकिँदैछ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सीटमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।
एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राई बिदा हुँदैछन् ।
राष्ट्रियसभामा अहिले माओवादीका १६ सांसद छन् । तीन सांसद बिदा हुँदा ५ सांसद निर्वाचित भएर आएपछि १८ सीट बनाएर माओवादी पहिलो दल बनेको हो । १० सांसद रहेको कांग्रेसकाे चार बिदा हुँदा १० थपिएर १६ जना पुगेकाे छ ।
नेकपा एससँग अहिले आठ सांसद छन् । तर, दुई जना बिदा भए पनि गठबन्धनको बलमा दुई जना जित्न सफल भए ।
यस्तै जसपाका तीन सांसद छन् । एक रिक्त हुने स्थितिमा उसले एक जना यथावत राख्न सक्यो । अहिले राष्ट्रियसभामा जनमोर्चाको एक सांसद छन् । राष्ट्रपतिबाट मनोनीत भएर आउँदा २ जना पुग्नेछन् ।
एमालेका पूर्वनेता वामदेव गौतम राष्ट्रियसभामा अहिले स्वतन्त्रको हैसियतमा छन् । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गरेका थिए । स्वतन्त्र रहेका गौतमले एमालेलाई साथ दिए सांसद संख्या ११ पुग्नेछ ।
फागुन २० बाट कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव, माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाबाट प्रमिलाकुमारी यादव र नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटा बिदा हुँदैछन् ।