डा. रामेश कोइरालाको ‘असंवेदनशील’ ट्विट, सांसदले प्रश्न उठाएपछि शल्यक्रिया छाड्ने घुर्की
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले केही दिनअघि लेखेको ‘असंवेदनशील’ ट्विटले उनी आफैं घायल बनेका छन् ।
उक्त ट्विटलाई समेत आधार बनाएर राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिललाई लिखित पत्र पठाएर तीन प्रश्न सोधेकी थिइन् । सुमनाका प्रश्नबाट आवेशमा आउँदै डा. कोइरालाले आफू अब बिरामीको शल्यक्रिया नै नगर्ने घुर्की दिएका छन् ।
डा. कोइरालाको पछिल्लो ट्विट छ, ‘मेरोबारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलमा स्पष्टीकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिक रुपले यहाँहरुको अपरेसन गर्न नमिल्ने हुनाले आइतबारदेखि अपरेशन गर्दिनँ । अरुसँग गराउनु ल सरी ।’
स्मरणीय छ कि सांसद सुमनाले डा. कोइरालाले भने जस्तो ‘स्पष्टीकरण’ सोधेकी होइनन् । उनले आफ्नो पत्रमा तीनवटा विषयमा मेडिकल काउन्सिलले गर्ने अनुगमनबारे यथाशीघ्र जानकारी उपलब्ध गराइदिन माग गरेकी थिइन् । उनको पत्रको दोस्रो बुँदाले डा. कोइराला उत्तेजित बनेका हुन् ।
उक्त बुँदामा लेखिएको थियो, ‘प्रतिष्ठित अस्पतालका एक वरिष्ठ डाक्टरले चार बिरामीको उपचारको क्रममा मृत्युलाई सहज मानिदियौं भन्नुभएको सन्दर्भमा नेपालमा अस्पतालहरुमा बिरामीको मृत्युपश्चात कारण खोज्नेबारे प्रक्रियाबारे बुझ्न चाहें । के यहाँ भनिएका चार मृत्युलाई साँच्चै नै सहज मानिएको हो ? अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुर्याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ पनि प्रस्ट पार्न अनुरोध छ ।’
६ दिनअघि डा. कोइरालाले एउटा विवादास्पद ट्विट गर्दै गंगालाल अस्पतालमा ४ जना बिरामीको शल्यक्रियाका क्रममा भएको मृत्युलाई आफूहरुले सहज मानिदिएको उल्लेख गरेका थिए । सो ट्विटको स्क्रिनसट पनि सुमनाले मेडिकल काउन्सिलमा पठाएकी छन् । तर, यसमा जिम्मेवार जवाफ दिनुको साटो डा. कोइरालाले अब बिरामीको शल्यक्रिया नै नगर्ने घुर्की देखाएका हुन् । उनको घुर्कीलाई लिएर गंगालाल अस्पताल र मेडिकल काउन्सिलको प्रतिक्रिया आउन बाँकी छ ।
यति मात्र होइन, सुमनाले आफूसँग माफी माग्नुपर्ने डिमान्ड पनि डा. कोइरालाको छ ।
उनले लेखेका छन्, ‘यो मेरो विषयमा ऐन-नियम नजानेर मलाई जोडेर सरासर डिफेम गर्न सञ्जालमा समेत हालेर गरिएको सोधखोज थियो । सांसद सुमनाको सरी वा काउन्सीलको पत्रबिना म अपरेसन गर्दिनँ । बरु स्वेच्छिक अवकाश लिन्छु ।’
यसैबीच, डा. कोइरालाको ‘ग्याङ’ का ट्विटेहरुले सुमनामाथि संगठित हमला सुरु गरेका छन् ।
अस्पतालद्वारा खण्डन
डा. कोइरालाको ट्विटको गंगालाल अस्पतालले नै खण्डन गरेको छ । अस्पतालले हिजो एक विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठ यस अस्पतालमा चिकित्सक नरहेकाले शल्यक्रियामा हुने कुनै प्रकारको जटिलता, मृत्यु आदिमा उनको जिम्मेवारी नरहने प्रष्ट पारेको छ ।
डा. कोइरालाले बिरामीको शल्यक्रिया नगर्ने भनेर दिएको घुर्कीका विषयमा भने अस्पताल र मेडिकल काउन्सीलको प्रतिक्रिया आउन बाँकी छ ।