भन्सारमा व्यापार सहजीकरण गर्न सरोकारवालाको सुझाव
रुपन्देही । भन्सार कार्यालयमा सर्बरको समस्या, लाइन लाग्नुपर्ने समस्या समाधान गरी भैरहवालाई नेपालकै नमुना भन्सार कार्यालय बनाउन सेवाग्राहीले आग्रह गरेका छन्।
७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बिहीबार आयोजित व्यापार सहजीकरण सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनीहरुले भन्सारमा व्यापार सहजीकरणका लागि सबै तर्फबाट सहयोग आवश्यक रहेको बताए । उनीहरुले स्थल मार्ग हुँदै नेपालमै धेरै पर्यटक भित्रिने नाकालाई व्यवस्थित र पर्यटकमैत्री बनाउनुपर्ने सुझाव राखेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले उद्योग बन्द भइरहेकाले कच्चापदार्थ आयात नहुँदा भन्सार कार्यलयले लक्ष्य भेट्न नसकेको बताए । युवा पलायन भएको तर्क गर्दै अब बाहिरी पर्यटकलाई चलायमान बनाउन सके समृद्धि हुने बताउँदै उनले पर्यटकलाई जहाँ तहिं चेकजांँच गर्दा हैरानी भएकोले एकद्वार प्रणालीबाट चेकजाँच गररे भन्सारमै स्टिकर लगाइदिने व्यवस्था गर्न आग्रह गरे ।
च्याम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बेलहिया बेलहिया सीमा नाका मात्रै नभएर पर्यटकसमेत आउने नाका भएकोले पर्यटकलाई सकारात्मक प्रभाव पार्नुपर्ने र अवैध रुपमा आउने सामानलाई सवैले निरुत्साहित गर्नुपर्ने सुझाव राखे ।
भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीले भन्सार कार्यालयमा सर्भर डाउनको समस्याले धेरै सेवाग्राहीले दुःख पाएकाले लामो समयसम्म सेवाग्राहीले कुर्दा अपमान गरेजस्तै भएकाले यो समस्या सुधार गर्न आग्रह गरे ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष सुरज भट्टराईले अबैधरुपमा क्यारिङ गरेर सामान जाने विषयबाट धेरैलाई हैरानी भएकोले यसलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरे । उनले अवैध सामान किनबेच गर्ने व्यवसायीको संघले संरक्षण नगर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिष्णु शर्माले भन्सारमा लाइन नलागी क्युआरबाट नै राजस्व तिर्ने व्यवस्था मिलाउन सुझाव दिए । नेपाल भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष डाक्टर शान्तकुमार शर्माले राजश्व बढाउन भैरहवा भन्सार कार्यालयको ध्यान जानुपर्ने बताए ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले देशले आयातभन्दा बढी निर्यात गर्नुपर्ने योजना बनाउन आग्रह् गरे । भन्सार सहजीकरणमा भैरहवा भन्सार कार्यालयको काम उत्कृष्ट भएको बताउँदै उनले पर्यटक आउने मुख्य नाका भएकाले सडक सुधार गर्नुपर्ने बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले प्रभाकारी सेवाका लागि आएका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासनले नीति नियम बनाउन नसक्ने तर भएका नीति नियमलाई कार्यान्वयन गर्ने बताएका थिए ।