नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरण, द्वन्द्वरत पक्षहरूबीचको संवादको विकल्प छैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग संयुक्त राष्ट्रसंघका उपमहासिचव तथा निशस्त्रीकरण मामिला सम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सुले भेटवार्ता गरेकी छन्। नेपाल भ्रमणमा रहेकी उनले आज प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन्।
उक्त भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीचको संवाद एकमात्रै विकल्प भएकोमा जोड दिए।
उनले भने, नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकका लागि उदाहरण बनेको छ। अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा छन्। रुस-युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायत घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ।
सो अवसरमा राष्ट्रसंघका उपमहासचिव नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्र नेपालमा स्थापना भएको उल्लेख गर्दै नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्तिको केन्द्र बन्ने अपेक्षा राखेको बताइन्।