सांसद विनोद चौधरीको पहलमा बर्दघाटमा नमुना औद्योगिक ग्राम शिलान्यास – Nepal Press

सांसद विनोद चौधरीको पहलमा बर्दघाटमा नमुना औद्योगिक ग्राम शिलान्यास

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको पहलमा बर्दघाटमा नमुना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्कालगायतको गृहकार्यपछि शुक्रबार उक्त औद्योगिक ग्रामको शिलान्यास भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् ।

उक्त अवसरमा मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमुना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगीकरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफूले पहल गर्ने पनि मन्त्री रिजालले बताए ।

शिलान्यास कार्यक्रमका विशेष अतिथि सांसद चौधरीले आफूले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिबद्धताहरूलाई एकएक गरी पूरा गर्ने सिलसिलामा नमुना औद्योगिक ग्राम अर्को महत्वपूर्ण चरण भएको बताए ।

‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहन्छु । तर, यहाँ त्यही भइरहेको छ । म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु । तर, हाम्रा कतिपय मित्रहरू मैले गरेका कामहरूलाई विकास हैन राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, सक्नुहुन्छ भने तपाईंहरु पनि यस्तै विकासको राजनीति गर्नुस् । आर्थिक विकासको अध्यायलाई अगाडि बढाउने काममा जोडिनुस् । चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए’, उनले भने ।

एसएमई भिलेज उद्यमशीलताको नमुना बन्ने र नवलपरासीका युवाहरूलाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहने उनले विश्वास व्यक्त गरे ।

‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोच राख्ने युवाहरुका लागि एकीकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ । यसले यहाँका युवाहरूका नयाँ सोच, नवप्रवर्तनका कार्यक्रमहरूलाई अर्को तहमा पुर्‍याउनेछ भन्ने मेरो विश्वास छ’, सांसद चौधरीले भने, ‘हामीले युवाहरूका लागि उद्यमशीलता तालिम अगाडि बढाइरहेका छौं । उनीहरुका लागि बीउ पूँजीको व्यवस्था गर्न पनि आवश्यक पहल लिनेछौं ।’

औद्योगिक ग्रामको प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीका प्राविधिक रवीन्द्र शाहले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले नगरपालिकामा नमुना औद्योगिक ग्राम बन्नु अत्यन्तै सुखद रहेको बताए ।

उक्त ग्राम नवलपरासी जिल्लाकै एकीकृत सुविधा उपलब्ध हुने नमुना औद्योगिक ग्राम बन्ने बताइएको छ । यस ग्राममा स्थानीय युवाका सृजनशील उद्यमशीलता र स्थानीय कच्चापदार्थमा आधारित सीपलाई उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग (एसएमई) भिलेजका रुपमा पनि चिनिनेछ ।

बर्दघाट नगरपालिका वडा नं ५ खजुरा खोला क्षेत्रमा करिब १८ बिगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हुँदैछ । यस परियोजनाका लागि १७ करोड रूपैयाँ खर्च हुने अनुमान छ । यो परियोजना बहुवर्षीय परियोजनाका रुपमा आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर