अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातबारे छानबिन गर्न समिति गठन
काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको हातपातबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
घटनाबारे मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाउँदै मन्त्रालयले गृह मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख एवम् सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरिएकाे हाे । समितिमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोल तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जीसी सदस्य रहेका छन् ।
समितिलाई घटनाबारे आवश्यक छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न समय ताेकिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
आज दिउँसो चेकजाँचका क्रममा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो ।
हरेक दिन समिति गठन । के हो मेरो देश ? कार्यकर्तालाई काम दिन देशको ढुकुटी सक्ने ?