महानगरका शिक्षा प्रमुख कोइरालालाई बालेनले सोधे ७ दिने स्पष्टीकरण, के हो आरोप ? – Nepal Press

महानगरका शिक्षा प्रमुख कोइरालालाई बालेनले सोधे ७ दिने स्पष्टीकरण, के हो आरोप ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् । कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविना एक विद्यालयलाई प्लस टु चलाउन अनुमति दिएको आरोपमा ७ दिने स्पष्टीकरण सोधेका हुन् । सँगै बालेनले ७ दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् ।

कोइरालाले काठमाडौंको मध्यबानेश्वरस्थिन रत्नराज्य क्याम्पसलाई नगर शिक्षा समितिको निर्णयको हवाला दिँदै विज्ञान संकाय चलाउन ११ र १२ को अनुमति दिएका थिए । त्यहाँ अहिले प्लस टुमा विद्यार्थी भर्ना गरेर धमाधम पढाइँदै आइएको छ । २२ जना  विद्यार्थी भर्ना पनि भइसकेका थिए ।

यसअघि विद्यासुन्दर शाक्यको पालामा पनि रत्नराज्यलाई प्लस टुको अनुमति दिने विषय विवादित बनेको थियो ।

काठमाडौं नगरसमितिको बैठकमा यस विषयमा छलफल चलेपनि निर्णय भने भइनसकेको बताइएको छ ।

महानगर स्रोतले भन्यो, ‘निर्णयविना प्लस टु चलाउन उहाँले पत्र काटेर अनुमति दिनुभएछ । काठमाडौं नगरसमितिको बैठकको निर्णय उहाँले अनुमति नै दिनुभएछ । लाइसेन्स दिएको जस्तो हो नि त ! उहाँलाई केको आधारमा दिनुभयो भनेर स्पष्टीकरण सोधिएको हो । ’

यसअघि पनि कर्मचारीको करार नवीकरण सम्बन्धमा कार्यपालिकाको माइन्यूट नै फेरेर निर्णय गरेपछि केही कर्मचारीलाई स्पष्टीकरण सोधिएको थियो । उक्त निर्णय लिएर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी फेरिसकेका छन् ।


प्रतिक्रिया

One thought on “महानगरका शिक्षा प्रमुख कोइरालालाई बालेनले सोधे ७ दिने स्पष्टीकरण, के हो आरोप ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर