नेपाली न्यूरोसाइन्टिस्ट डा. प्रेरणा श्रेष्ठले अमेरिकामा पाइन् २९ करोड बढीको ग्राण्ट – Nepal Press

नेपाली न्यूरोसाइन्टिस्ट डा. प्रेरणा श्रेष्ठले अमेरिकामा पाइन् २९ करोड बढीको ग्राण्ट

काठमाडौं । अमेरिकाको स्टोनी ब्रुक विश्वविद्यालयको रेनइसेन्स स्कुल अफ मेडिसिनअन्तर्गत न्यूरोबायोलोजी तथा बिहेबियर विभागकी सहायक प्राध्यापक डा. प्रेरणा श्रेष्ठले २.२ मिलियन अमेरिकी डलर ग्राण्ट प्राप्त गरेकी छन् ।

उनले पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअडर (पीटीएसडी)को अनुसन्धानका लागि अमेरिकाकाे नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थबाट नेपाली रुपैयाँ २९ करोड २५ लाखभन्दा बढी फण्ड प्राप्त गरेकी हुन् ।

डा. श्रेष्ठले पीटीएसडी भएका व्यक्तिहरुले किन बारम्बार पीडादायी स्मृतिहरुको अनुभव गर्छन् भन्नेबारेको अनुसन्धानका लागि उक्त ग्राण्ट प्राप्त गरेकी हुन् । चार वर्षे उनको अध्ययनलाई आगामी सन् २०२७ अक्टोबर ३१ सम्म इन्सटिच्युटले फण्ड गर्नेछ ।

विशेष प्रकारको तनाव, व्यक्तिगत हिंसा, प्राकृतिक प्रकोप, दुर्घटना, युद्ध तथा अन्य किसिमका ठूलो अप्रिय घटना अनुभव गरेका मानिसमा पीटीएसडी हुनसक्छ । अमेरिकाको नेशनल इन्सटिच्युट अफ मेन्टल हेल्थका अनुसार अमेरिकामा करिब आधाजसो वयस्कले जीवनको कुनै पनि कालखण्डमा कम्तिमा एकपल्ट ट्रम्याटिक घटनाको अनुभव गर्छन् तर सबैमा पीटीएसडी भने हुँदैन । तर गतवर्ष त्यस्ता पीडादायी घटना भोगेकामध्ये ३.६ प्रतिशत अमेरिकनलाई पीटीएसडी भएको थियो भने जीवनभरमा पीटीएसडी हुने जोखिम भने ६.८ प्रतिशतसम्म हुने इन्सटिच्युटले जनाएको छ । यसको अर्थ प्रत्येक वर्ष हजारौं पीटीएसडीबाट पीडित हुने गरेका छन् ।

श्रेष्ठको अनुसन्धानले मस्तिष्कको यस्तो संयन्त्रबारे खोज गर्छ जसले भावनात्मक यादहरु दुई फ्याक्टरमा आधारित हुन्छन् । एउटा हो मानिसले पीडा अनुभव गर्दा सिकिएको डर/जोखिमको तीव्रता अर्थात कति पीडादायी घटना थियो भन्ने कुरा र अर्को व्यक्तिको ति घटनाको प्रतिक्रियामा आफ्नो नियन्त्रण ।

पीटीएसडीले मस्तिष्कमा फिजियोलोजिकल परिवर्तन ल्याउँछ जसले अवचेतन किसिमको मूल्यांकन तथा प्रतिक्रिया सिर्जना गर्छ परिणामस्वरुप खत्रा तथा मालएडप्टिभ कोपिङ रणनीति छुट्याउन सकिँदैन ।

म्युरिन मोडल अर्थात मुसामा अनुसन्धान गरेर डा. श्रेष्ठको अनुसन्धानले विशेषगरी पीटीएसडी भएकाको स्थायी स्मृति बनाउने विषयमा मोलिक्युलर ड्राइभर्स बुझिनेछ । यो अनुसन्धानको निष्कर्षले पीटीएसडीलाई नयाँ ढंगले चिनाउने तथा यसको उपचारमा पनि कोशेढुंगा सावित हुने स्टोनी ब्रुक विश्वविद्यालयले जनाएको छ ।

२०२१ देखि स्टोनी ब्रुक विश्वविद्यालयमा अध्यापनरत श्रेष्ठ विगत दुई दशकदेखि मस्तिष्क विज्ञानका क्षेत्रमा अनुसन्धानरत छिन् । यसअघि उनी न्यू योर्क विश्वविद्यालय तथा द रकेफेलर विश्विद्यालयमा पोस्टडक्टरेल अनुसन्धानकर्ता थिइन् भने उनले त्यहीँबाट लाइफ साइसेन्समा पीएचडी हासिल गरिन् ।

उनका विगतका अनुसन्धानले तनावका कारण हुने डिप्रेशन तथा भावनात्मक स्मृतिहरु मस्तिष्कमा कसरी जम्मा हुन्छन् भन्ने विषयमा महत्वपूर्ण योगदान गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर