सुस्तावासीको सास्ती- ८ वर्षसम्म बनेन पुल, भारतीय भूमिबाट आउजाउ गर्नुपर्ने बाध्यता (भिडिओ)
सुस्ता नवलपरासी । पश्चिम नवलपरासी वडा-५ सुस्तावासीले भोगिरहेको पीडा त्यहाँ पुग्नेले केहीमात्र महसुस गर्छन् । आफ्नै देशमा आउजाउका लागि पनि भारतीय भूमिको प्रयोग गर्नुपर्ने, केहीले नागरिकता नपाएका कारण राज्यका सुविधाबाट वञ्चित रहनुपर्ने, दशकौंदेखि भोगचलन गर्दै आएको जग्गाको पूर्जा नहुनेलगायतका यावत् समस्याले गाँजेको छ उनीहरूलाई । २७५ घरधुरी रहेको सुस्ता गाउँका ३ हजार १ सय ३३ जनसंख्या यस्ता धेरै पीडा बोकेर लामो समयदेखि अस्तिस्तवको लडाइँमा छन् ।
पश्चिम नवलपरासीको सुस्तालाई नेपालतर्फको भूमिसँग जोड्ने झोलुङ्गे पुल ८ वर्षदेखि बन्न सकेको छैन । २०७२ असोज २६ मा त्रिशूली जेभी आश्रय कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको यो पुल ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता थियो । नारायणी नदीको सबैभन्दा लामो मानिएको बहुप्रतिक्षित झोलुङ्गे पुल नबन्दा सास्ती खेप्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।
सुस्तावासीलाई आवतजावत गर्न समस्या भएपछि पुलको योजना ल्याइएको हो । तीनतर्फ नारायणी नदीले घेरिएको सुस्ताको लाइफ लाइन मानिएको छ यो पुललाई । अरु समय डुंगाबाट आवतजावत गरेपनि वर्षायाममा दैनिक उपभोग्य सामग्री खरिददेखि स्वास्थ्य उपचारका लागि भारतको बाटो हुँदै नेपाल आउनुपर्ने बाध्यता रहेको सुस्ता बचाउ आन्दोलनका कार्यवाहक अध्यक्ष आँदम खा बताउँछन् ।
सुस्ता गाउँपालिका-५ को सकरदिनबाट सुस्ता गाउँको बाँधसम्म निर्माण हुने पुलको लम्बाई १५७१ मिटर लामो र १.६ मिटर फराकिलो भएकाले नेपालकै लामो पुल हुने प्रदेश सांसद देवकरण कलबारको दाबी छ । अहिलेसम्म नेपालकै लामो पुल मानिएको कञ्चनपुरको महाकाली नदीको दोधारा चाँदनी पुलको लम्बाई १४५२.९६ मिटर रहेको छ ।
कलबार अब पुल निर्माणको काम अन्तिम चरणमा भएकाले छिट्टै सुस्तावासीको मुख्य समस्या समाधान भएपनि यहाँका वासिन्दाको नागरिकता र लालपूर्जाविहीनताको समस्या संघीय सरकारले छिटो समाधान गर्नुपर्ने सांसद कलबार बताउँछन् ।
कहिले भारतीय पक्षको अवरोध, कहिले ठेकेदार कम्पनी सम्पर्कविहीन त कहिले कोरोना महामारीको निहुँमा पुल निर्माण ढिला भएको हो ।
निर्माण कम्पनीले ९० प्रतिशत पूरा भएको दाबी गर्दै आएको छ । पछिल्लो पटक थपिएको समयअनुसार आउँदो वैशाखसम्म म्याद छ । एक हजार ५७१ मिटर लम्बाइको यो पुलका १४ पिल्लरमध्ये १३ वटा निर्माण भइसकेको छ । अन्तिम पिल्लरको पाया बनाउने काम जारी छ । चौडा आकारमा बगेको नारायणी नदीमा पानीको बहाव ठूलो भएकाले पिल्लरका पाया निर्माणको काम अत्यन्त जोखिमपूर्ण थियो ।
नदीको मध्य भागमा पाया निर्माण गर्दा भारतीय पक्षसँग सहकार्य गरी पुल बन्न लागेको स्थानदेखि तीन किलोमिटर उत्तरमा भारतीय गण्डक नहरका ढोकाहरू बन्द गरी जमिनमुनिको काम गरिएको थियो ।
विभिन्न अवरोधका कारण पुलको निर्माण दुई वर्षसम्म रोकिएको थियो ।
पुल विभागका सव-इन्जिनियर गोपाल थापा नेपालसँग जोडिने गरी नारायणी नदीमा बनाउन लागिएको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् । पछिल्लो एक वर्ष लगातार काम भएकाले पुल निर्माणले तीव्रता पाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको भनाइ छ ।
कोभिडका कारण केही समय स्थानीय कामदार प्रयोग गरी निर्माण कम्पनीले काम गरे पनि अहिले निर्माणको कामले निरन्तरता पाएको ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक श्याम तामाङले बताए ।