अदालतबाट भागेका थुनुवाको हत्कडी खोलिदिनेदेखि कोठामा राख्नेसम्मलाई मुद्दा – Nepal Press

अदालतबाट भागेका थुनुवाको हत्कडी खोलिदिनेदेखि कोठामा राख्नेसम्मलाई मुद्दा

काठमाडौं । काठमाडौं जिल्ला अदालतको परिसरबाट भागेका थुनुवा कमल खड्कालाई भगाउन र लुक्न सहयोग गरेको आरोपमा उनीसहित ४ जनाविरुद्ध अभियोग पत्र दायर भएको छ ।

सिन्धुपाल्चोकका १८ वर्षीय पारस तामाङ, २५ वर्षीय मोहनबहादुर तामाङ र १९ वर्षीय रोनिस तामाङलाई पनि थुनुवा भगाएको कसुरमा मुद्दा लगाइएको हो । काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका ३२ वर्षीय कमल पुस १९ गते सुरक्षाकर्मीको आँखा छलेर हत्कडीसहित भागेका थिए ।

त्यहाँबाट उनी भक्तपुरको चाँगुनारायण-१ शान्तिनगरस्थित मोहनको कोठामा गएर थुनुवाको टिसर्ट र हत्कडीसमेत फुकालेको भेटिएपछि प्रहरीले कोठाका अन्य तीनजनालाई पनि मुद्दा चलाएको हो । त्यसै दिन कोठाबाट निस्किएका कमलले नारायणटारस्थित दिदी नाता पर्नेसँग ५ हजार रूपैयाँ सापटी मागेर जडिबुटीस्थित न्यु दोलखाली गेस्ट हाउसमा आएर सुतेको बताएका छन् । प्रहरीले भागेको भोलिपल्टै खड्कालाई उक्त गेस्ट हाउसबाट पक्राउ गरेको थियो ।

कमलले दिएको बयानअनुसार अदालतबाट बाहिर निस्किएपछि पठाओ बुक गरेर उनले पारस तामाङलाई फोन गरेको र पारसकै सुझावका आधारमा मीत मोहनको कोठामा पुगेको बताएका छन् । त्यहाँ मोहन, पारस र रोनिस मिलेर आफ्नो हत्कडी खोलिदिएको उनको भनाइ छ ।

डलर ठगी कसुरको अनुसन्धानका लागि अदालतमा म्याद लिन आउनेक्रममा उनी भागेका थिए । त्यसअघि अभद्र व्यवहारको कसुरमा धरौटी तिर्न नसकेपछि उनी केही समय कारागार बसेका थिए । फेरि लामो समय जेल पर्न सक्ने डरले आफू भागेको खड्काले बयान दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर