दुर्गा प्रसाई : राजाले सोध्नुभो, हामीलाई राज्यसत्ताबाट हटाएपछि जनताले के पाए ? – Nepal Press

दुर्गा प्रसाई : राजाले सोध्नुभो, हामीलाई राज्यसत्ताबाट हटाएपछि जनताले के पाए ?

‘यतिञ्जेल कसको भेडा चराउन गएका थिए ? पहिल्यै पूर्वराजालाई दरबार हत्याकाण्डमा दोषी ठहर्याएर जेल हालेको भए भइहाल्थ्यो नि’

काठमाडौं । व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले आज पूवराजासँग भेटघाटको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘श्री ५ महाराजाधिराज सरकारसँगको अर्थपूर्ण भेट ।’

के कति कारणले भेट अर्थपूर्ण रह्यो भनेर बुझ्न हामीले फोन गर्दा उनी पत्रकारहरुलाई ‘बाइट’ दिएर थाकिसकेका रहेछन् । तर, पनि उनले झिँजो मानेनन् । प्रसाईं अरुबेलाभन्दा बढी उत्साहित सुनिन्थे ।

पूर्वराजाबाट बोलावट आएपछि आज सिमरा पुगेर भेटवार्ता गरेको प्रसाईंले बताए । करिब २ घण्टा वान टु वान कुराकानी भएको उनको भनाइ छ । भेटमा देशको दूरावस्थाबारे दुवैबाट पर्याप्त चिन्ता व्यक्त भए । व्यवस्था परिवर्तनबिना देशको यो संकटबाट मुक्ति नपाउने निष्कर्ष निकालियो ।

प्रसाईंका अनुसार पूर्वराजा फेरि राजसंस्था फर्कन्छ भन्नेमा विश्वस्त देखिएका छन् । आफूलाई राज्यसत्ताबाट हटाएपछि देश र जनताले के पाए भन्ने उनको प्रसाईंसँग प्रश्न थियो । प्रसाईंले आफ्नै शैलीमा जवाफ दिए, ‘के पाउनु, विदेश जान पाए, हरियो पासपोर्ट पाए ।’

प्रसाईंले आगामी फागुन १ गतेबाट सुरु गर्न लागेको दोस्रो चरणको आन्दोलनबाट पूर्वराजालाई जानकारी दिए । उनले आफ्नो आन्दोलनमा उपस्थित नै भएर साथ दिन आग्रह पनि गरे । पूर्वराजाले मुन्टो मात्र हल्लाएको प्रसाईंले बताए ।

पूर्वराजासित भएको वार्तालापबारे प्रसाईंसित गरिएको यो संक्षिप्त वार्तालापः

पूर्वराजासित केकस्तो कुराकानी भयो ?

देशको विषयमा कुरा गरियो ।

उहाँलाई कस्तो मनस्थितिमा पाउनुभयो ?

उहाँ अत्यन्त चिन्तित हुनुहुन्छ । ६२/६३ को आन्दोलनमार्फत हामीलाई राज्यसत्ताबाट हटाएपछि नेपाली जनताले के पाए भन्ने प्रश्न थियो उहाँको ।

तपाईंले के जवाफ दिनुभयो त ?

नेपाली नागरिक विदेश उड्न पाए । हरियो पासपोर्ट पाए । मैले यही भनेँ । डेढ करोड नेपाली विदेशिएका छन् । सुकेको रुखलाई चराले छोडेर बसाई सर्छ नि त्यसरी जनता बसाई सर्दैछन् भनेर सबै कुरा भनिदिएँ मैले । र, देशको अर्थतन्त्र सबै विदेशी दलालको हातमा पुर्याए भन्ने कुरा भयो ।

तपाईंको अभियानप्रति उहाँको के राय थियो ?

हाम्रो अभियानलाई लिएर उहाँ सकारात्मक हुनुहुन्छ । नागरिक बचाउन सबैजना मिल्नुस भन्नुभयो ।

राजसंस्था समर्थक सबै एक ठाउँमा उभिएर ठूलो आन्दोलन गर्नुपर्यो भन्ने आशय हो ?

यस्तो छ । राष्ट्रको माया जसलाई छ, उनीहरु सबै एक ठाउँमा आउनै पर्छ । होइन भने नेपाल नामको यो भूगोल मात्र बाँकी रहन्छ, नागरिक हुँदैनन् । किनभने यो साल मात्रै ८ लाख घर खाली भए । यो विदेशीले दिएको डाटा हो, कुरा बुझ्नुभएन ? एक लाख मान्छेले नागरिकता त्यागे । त्यो पनि डाटै हो समाचारमा आएको ।

भनेपछि गएको साल मात्र डाटाले के देखाउँछ भने १८ लाख मान्छे विदेश गए । भारतको बाटोबाट गरेर करिबन २७/३० लाख मान्छे सालमा जाँदैछन् । स्कुल बन्द हुँदैछन्, कलेज बन्द हुँदैछन्, प्लस टुभन्दा माथि पढाइ हुँदैन । उद्योग धन्दा चौपट…

यो सबैको निकास के हो भन्ने विषयमा पनि छलफल भयो होला नि त ?

यसको निकास भनेको व्यवस्था परिवर्तन हो । यो व्यवस्था परिवर्तन नभइकिन उपाय नै छैन ।

यो तपाईंको धारणा भयो । उहाँको धारणा के पाउनुभयो ?

उहाँले पनि त्यही भन्नुभयो । उहाँले गणतन्त्र नै जनतालाई चाहिएको हो भने हामी छाडिदिन्छौं भनेर, योभन्दा बढी हताहत नहोस्, खुनखराबा नहोस भनेर मैले छोडिदिएँ । सरक्क निस्किएँ । अहिलेसम्म देशमै छु । तर नागरिकले के पाए ? भन्नुहुन्छ । कुरो त त्यही हो घुमाएर । तपाईं हामी सबैले सोच्ने दिन त आए नि त ।

फेरि राजसंस्था फर्किन्छ भन्नेमा उहाँलाई कति आशावादी पाउनुभयो ?

नेपाली नागरिकले चाहँदा फर्किहाल्छ नि ।

तपाईंको आशा कि पूर्वराजाले भन्नुभएको ?

उहाँको भनाइ पनि यही नै हो । उहाँलाई कन्फिडेन्स छ ।

बीचमा तपाईंको पूर्वराजासित कम्युनिकेसन ग्याप जस्तो भएको थियो । तपाईं उहाँसित असन्तुष्ट पनि हुनुहुन्थ्यो । अब सबै तुष मेटियो ?

त्यस्तो ग्याप थिएन । फोनमा कुरा भएकै थियो नि ।

आफूले त्यत्रो आन्दोलन गर्दा पनि राजाबाट केही पनि सन्देश नदिइएको भनेर तपाईंकै मान्छेहरुले गुनासो गरिरहेका थिए । तपाईंले पूर्वराजासित यो कुरा राख्नु भएन ?

राखेँ राख्न त । किन तपाईंले केही नबोलेको भन्दाखेरि उहाँले मलाई के भन्नुभयो भने म सबैको साझा हुँ । म त एउटा संस्था हुँ । मैले यसरी सन्देश दिन राम्रो हुँदैन भन्नुभयो । म पनि कन्भिन्स्ड भएँ । मलाई स्वभाविकै लाग्यो ।

राप्रपा र तपाईंबीच राजालाई कसले बढी प्रयोग गर्ने भन्ने हानाथाप छ होइन ?

छैन छैन म त छैन । राप्रपाको विषयमा चाहिँ म तपाईंलाई भन्दिन्छु । राप्रपाको एजेन्डा के हो भने गणतन्त्रमा गएर मन्त्रीसन्त्री खाने, सांसद पनि खाने, सभामुख पनि खाने । यता राजाको सिम्पेथीको भोट, हिन्दू राष्ट्रको एजेन्डा बेचेर चुनाव जित्ने । राजा र हिन्दू राष्ट्र कायम भयो भने राप्रपाको एजेन्डा सकिन्छ नि त फेरि । त्यसैले उसलाई राजतन्त्र चाहिएको छैन । मेरो चाहिँ राजनीति गर्ने एजेन्डा होइन । यो देशमा नागरिक बाँचुन् भन्ने हो । भन्न त भन्छन् पत्रकारले आज आएर मैले बोलेको ठ्याक्क-ठ्याक्क पुग्या छ कि छैन ? सबैले होटल-होटल, चोक-चोक गाउँ-गाउँमा दुर्गा प्रसाईंले बोलेको पुग्यो भनिराख्या छन् कि छैनन् ?

तपाईंहरुको गतिविधि त अहिले सुनसान छ । अब के गर्नुहुन्छ ?

हामी फागुन १ गतेदेखि नयाँ चरणको अभियान सुरु गर्दैछौं । देशभर आन्दोलन गर्नेछौं ।

फागुन १ गते के हुन्छ ?

हाम्रो महाअभियानको वार्षिकी मनाएर आन्दोलनको सुरुवात गर्ने हो ।

त्यसबेला पूर्वराजालाई पनि उतार्नु हुन्छ ?

पूर्वराजालाई उतार्ने भनेर डिसिजिन चैं गरिसक्या छैन ।

आज प्रस्ताव त राख्नुभयो होला नि ?

मैले के भन्या छु भन्दाखेरि हामीले फाुगुन १ गते १ वर्षको अभियान सुरु गर्दैछाैं । यस्तोमा बोलाउँदा निम्तो कार्ड लिएर जानुपर्ने हुन्छ । म अपर्झट हिजो फोन आएर गएको । उहाँले टाउको मात्रै हल्लाउनुभो ।

निमन्त्रण गर्नुहुन्छ ?

निमन्त्रण गर्ने हो, आउने-नआउने उहाँको कुरा हो । आउनुभएन भने पनि आन्दोलन त गर्नैपर्छ ।

सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने रे त फेरि ? तपाईं के भन्नुहुन्छ ?

छानबिन गरेर देखाउनु नि । यतिका वर्ष के हेरेर बसेको । कसको भेडा चराउन गएका थिए ? राजाले सबै कुरा उनीहरुलाई छोडेकै हो त । पहिल्यै दोषी ठहर्याएर ज्ञानेन्द्रलाई जेल हालेको भए भइहाल्थ्यो । अझै पनि हाले हुन्छ । यो मात्र होइन, प्रचण्डले १७ हजार मान्छे मारेको, ५ हजारको जिम्मा लिएको चाहीँ छानबिन हुन्छ कि हुँदैन ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *