आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै
गण्डकी । पोखरामा जारी आहा रारा पोखरा गोल्ड कपअन्तर्गत आज हुने अन्तिम क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् ।
उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
यसअघि सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा मनाङ मर्स्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पहिलो सेमिफाइनल बुधबार जावलाखेल र थ्रिस्टार क्लबबीच हुनेछ ।
आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीबार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ ।
आगामी २० गते फाइनल खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
तेइसौँ संस्करणको यस प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।